उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेपछि संयुक्त सैन्य अभ्यास गर्दै जापान र अमेरिकाका लडाकु जेट विमान एकसाथ उडे

-


     जनहित न्युज    
     जेठ १२ गते २०७९


उक्त कोरियाले बुधबार लगातार तीन ब्यालेस्टिक मिसाइल परीक्षण गरेसँगै अमेरिका र जापानले आफ्नो शक्ति प्रदर्शनको लागि संयुक्तरुपमा एकसाथ लडाकु विमान जापान सागरमा उडाएका छन्।

उत्तर कोरियाले जापान र कोरियाली प्रायद्वीपलाई छुट्याउने सागरमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी सेना र जापानको सेल्फ डिफेन्स फोर्सले बिहीबार आफ्नो शक्ति प्रदर्शनमा जापानको सागरमा लडाकु विमानहरू सँगै उडाएको बताएका छन।
अमेरिकी सेनाले एक विज्ञप्तिमा भनेको छ, “क्षेत्रीय खतराहरूलाई रोक्न र प्रतिकार गर्नको लागि संयुक्त क्षमताहरू प्रदर्शन गर्नको लागि यो अभ्यास गरिएको थियो।” जापान र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाको पछिल्लो मिसाइल प्रक्षेपणको परिप्रेक्ष्यमा आफ्नो संयुक्त संकल्प देखाउन चाहेको अमेरिकी अधिकारीहरूले नाम न छाप्ने सर्तमा बताएको रोयटर्सले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले जापान, भारत र अष्ट्रेलियाका नेताहरुसँगको बैठकपछि टोकियो छोडेको केही घण्टापछि उत्तर कोरियाले बुधबार पूर्वी एसियामा नयाँ तनाव उत्पन्न गराएको छ ।
दक्षिण कोरियाली अधिकारीहरूका अनुसार एउटा क्षेप्यास्त्र प्योङयाङको सबैभन्दा ठूलो इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (ICBM) जस्तो देखिन्थ्यो, जसको अनुमानित दायरा लगभग १५,००० किलोमिटर रहेको थियो, जुन संयुक्त राज्य अमेरिकासम्म पुग्न पर्याप्त छ।

जपाानको हवाई आत्मरक्षा सैन्य बलले दिएको जानकारीअनुसार चारओटा अमेरिकी एफ–१६ लडाकु विमान र चारओटा जापानी एफ–१५ लडाकु विमान जापान सागरमा उडाइएको हो।
अमेरिकी सेना र दक्षिण कोरियाली सेनाहरूले पनि उत्तर कोरियाको पछिल्लो उक्साहटपछि सतहदेखि सतहमा मार हान्ने मिसाइल परीक्षणहरू सहित संयुक्त प्रत्यक्ष-आगो परीक्षणहरू पनि गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?