२१ लाख ६९ हजार नेपाली विदेशमा, १० वर्षमा विदेशिने महिला ७१ प्रतिशतले बढे 

- दश वर्षमा जनसंख्या २६ लाखले बढ्यो

-


     जनहित न्युज    
     माघ १२ गते २०७८


नेपालको जनसंख्या दश वर्षअघिको भन्दा १० प्रतिशतले बढेको छ। राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजाअनुसार दश वर्षमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४  बाट बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ बढेको विभागले जनाएको छ । यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

दश वर्षअघि (२०६८ साल)को तुलनामा हालको जनसंख्या १०.१८ प्रतिशत अर्थात २६ लाख ९७ हजार ९७६ ले बढी हो। विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत रहेको छ। जुन अघिल्लो जनगणनामा देखिएको १.३५ बाट घटेको हो।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु अक्सर विदेशमा बसोवास गरिरहेको देखाएको छ ।

परिवारमा अनुपस्थित रहेर धेरैजसो समय विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ छ । जुन विदेशमा अक्सर बस्ने नेपालीको कुल संख्याको ८१.२८ प्रतिशत हो । विदेशमा अक्सर बस्ने महिलाको संख्या ४ लाख ६ हजार १०३ (१८.७२ प्रतिशत) छ ।

दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको संख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४हजार ०२९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए ।

२०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

भौगोलिक क्षेत्रअनुसार तराईबाट १० लाख ६५हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ रजनसंख्या विदेशमा छन् ।

अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ ।

सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगतरुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।

आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले नेपाल दुई करोड ९१ लाख नेपालीको प्यारो ढुकढुकी रहेको जनगणनाबाट देखिएकाले यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरे।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि गणना गरिएको तथा विस्तृत विवरण आउन बाँकी रहेको बताए। पत्रकारको प्रश्नमा महानिर्देशक श्रेष्ठले छोरा र छोरीमा विभेद न्यून हुँदै गएको तथा छोरा पाउनकै लागि सन्तान बढाउने प्रवृत्ति अन्त्य हुँदै गएकाले पनि अपेक्षाकृतरुपमा जनसङ्ख्या बढ्न नसकेको हुन सक्ने जनाए।

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो । वि.सं. २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?