अध्ययनका लागि भिसा पर्खेर बसिरहेका नेपाली विद्यार्थीलाई अष्ट्रेलियन इमिग्रेसनले पत्र पठाएको र अध्यागमनले पाकिस्तानका २ जना बिद्यार्थीलाई सिड्नी अन्तराष्ट्रिय विमानस्थलबाटै फिर्ता गराएको घटनाले विद्यार्थी भिसाको लागि कडाई गरेको खुलेको छ ।
इमिग्रेसनले भिषाको प्रतिक्षामा रहेका विद्यार्थीलाई पत्र पठाउँदै पहिला नबुझाएको सबै कागजात अबको साताभित्र बुझाउन भनेको छ भने आर्थिक सम्बन्धी नक्कली कागजात पेश गरेको भेटेपछि पाकिस्तानी विद्यार्थीलाई भिसा नै रद्द गरेर विमानस्थल बाटै स्वेदश फिर्ता पठाइएको हो ।
यस्तै पत्रमा विशेष गरेर विद्यार्थीको अध्ययन योजना पुरा हुन चाहिने आर्थिक व्यवस्थापन तथा प्रायोजन गर्ने फाइनान्सियल स्पन्सरको बारेमा थप कागजातहरू मागिएको छ। इमिग्रेसनले व्यवसायको मालिक तथा साझेदारी भएको खण्डमा व्यवसायको स्थायी लेखा नम्बरको प्रमाणपत्र, स्वामित्व तथा साझेदारी खुल्ने गरी आधिकारिक संस्थाबाट जारी भएको व्यवसाय दर्ता, व्यवसायको गत ३ वर्षको आम्दानी कर चुक्ता र व्यवसायको बैङ्क खाताको गत १२ महिनादेखिको स्टेटमेन्ट पठाउन भनेको छ।
यस्तै भिसाका लागि पेश गरेको आर्थिक प्रतिवेदनबारे पाकिस्तानी विद्यार्थीलाई अध्यागमनका अधिकारीहरूले प्रश्न गर्दा उनीहरुले सबै काम एजेन्टले गरिदिएको र आफूहरुलाई केही पनि थाहा नभएको जवाफ फर्काएका थिए ।
यस घटनाले वास्तविक आर्थिक प्रतिवेदनसहित दक्ष विद्यार्थी मात्रै भित्र्याउने रणनीति सबै देशका लागि समान रुपमा लागू गरिने संकेतको रूपमा भिषा प्रतिक्षमा रहेका विद्यार्थीलाई पठाईएको पत्रबाट देखिएको छ । यो घटनासँगै नेपालबाट भिसा लागेका र प्रक्रियामा रहेका विद्यार्थीहरु समेत सशंकित भएका छन् ।
नेपालबाट विद्यार्थी भिसामा अष्ट्रेलिया जान चाहनेहरु सबै एजेन्टको मात्र भर नपर्न नेपाल शैक्षिक परामर्श संघ (क्यान) का अध्यक्ष प्रकाश पाण्डेले आग्रह गरेका छन । आर्थिक प्रतिवेदनसहित सोध्न सकिने सम्भावित सबै सबालमा जवाफ दिनसक्ने नभए नेपाली लगायतका जो कोही विद्यार्थी अध्यागमनको निगरानीमा पर्न सक्ने पाकिस्तानी विद्यार्थी फिर्ताबाट बुझ्न सकिन्छ ।
पछिल्लो विद्यार्थीलाई पठाएको पत्रमा स्पन्सरको आयआर्जनको स्रोत व्यवसाय होइन र तलब हो भने गत १२ महिनाको व्यक्तिगत बैङ्क खाताको स्टेटमेन्ट तलब खाता, बचत खाता अथवा अन्य कुनै बैङ्क खाता जो स्पन्सर वा विद्यार्थीको नाममा छ। ठुलो रकमको डिपोजिट भएको खण्डमा त्यसको स्रोतको व्याख्या र प्रमाण पनि उपलब्ध गराउनु पर्नेछ, रोजगारदाताबाट गत १२ महिनादेखि पाएको तलबको प्रमाण, रोजगारदाताले दिएको रोजगारी स्पष्ट हुने चिठी, व्यक्तिगत स्थायी लेखा नम्बर प्रमाणपत्र, गत ३ वर्षको आम्दानी कर चुक्ता, जग्गा बेच्ने र किन्ने दुवैको जानकारी रहेको लालपुर्जा, जग्गा बेचेको मितिबाट अहिलेसम्मको अद्यावधिक बैंक खाता स्टेटमेन्ट, सम्बन्धित मालपोत कार्यालयबाट प्रमाणित मोठ श्रेश्ता, जग्गा बेच्नुभन्दा ३ वर्ष अगाडिदेखि गाउँपालिका, नगरपालिकाबाट जारी भएको कर तिरेको रसिद पठाउन भनिएको छ ।
अध्यागमनले पठाएको पत्रमा शैक्षिक कर्जाको खण्डमा बैङ्क खाताको स्टेटमेन्ट, शैक्षिक कर्जा डिस्बर्स भएदेखी अहिलेसम्मको अद्यावधिक स्टेटमेन्ट,ऋण खाताको स्टेटमेन्ट शैक्षिक कर्जा अनुमोदन भएदेखि अहिलेसम्मको अद्यावधिक स्टेटमेन्ट, धितो बन्धकको विवरण, जग्गाधनीको जानकारी खुलेको लालपुर्जा, ऋण अनुमोदन हुनुभन्दा ३ वर्ष अगाडिदेखि गाउँपालिका, नगरपालिकाबाट जारी भएको कर तिरेको रसिद पठाउन भनिएको छ।
यसअघि गलत तथा नक्कली कागजात नै अष्ट्रेलियाको भिसा रिजेक्सन (अस्वीकृत)को कारण रहेको पाइएको थियो।अष्ट्रेलिया जानका लागि निवेदन दिँदा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्दा अष्ट्रेलियाको भिसा रिजेक्सन बढी मात्रामा हुने गरेको अष्ट्रेलिया सरकारको गृह विभागले जनाएको थियो।
यसका साथै, बैंकबाट गरिने आय प्रमाणीकरण, सम्पति मूल्याङकन नक्कली हुनु तथा विश्वसनीय नबनाइँदा भिसा रिजेक्सन बढेको विभागले जनाएको थियो।
भाषा, शिक्षा र आर्थिक रुपमा सबल विद्यार्थी मात्रै ल्याउने उद्देश्य अनुसार फाइनान्सिएज कागजातको विश्वसनिय आधार जाँच गर्न खोजिएकाले नेपालबाट आउने विद्याथीहरुलाई आफ्नो डकुमेन्टहरु एजेन्टको सहयोगमा नभई सकभर आफैँले तयार गर्न यस सँग जानकारहरूको सुझाव छ ।
अष्ट्रेलियाको हाई कमिसनले भिसा आवेदनमा कडाइ गरिरहेका बेला अध्यागमनले बिमास्थलबाटै भिसा रद्द गरेर फर्काएको यो नै पहिलो घटना हो ।