जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र पक्षलाई दिने

-


     जनहित न्युज    
     श्रावण ११ गते २०७८


निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको पाँच सदस्यीय इजलासले आज (सोमबार) यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। जसपा केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदा यादव पक्षमा बहुमत रहेकाले उक्त पक्षलाई आधिकारिकता दिने निर्णय गरिएको उनले बताए।  

त्यसअघि आजै आयोगले जसपाको केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गरेको थियो। जसमा अध्यक्ष यादव पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले सनाखत गरेका थिए। 

जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराएको थियो ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन् । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका छन् । सनाखतका लागि जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसे ।

जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो ।

जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले आफूहरुका पक्षमा बहुमत सदस्य रहेकाले पार्टी विभाजनमा नजाने बताए । उनका अनुसार अहिलेको अवस्थामा अर्को पक्षले ४० प्रतिशत पुर्‍याउनसक्ने अवस्था नरहेकाले जसपा दल विभाजनबाट बचेको छ ।

यादव पक्षले आधिकारिकता पाएसँगै अब जसपाको चुनाव चिन्ह, नाम, झण्डा यादव पक्षले पाउने छ। साथै यादव पक्षको कार्यकारिणी समितिको बैठकले जसपाका एक अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण,र सर्वेन्द्रनाथ शुक्ला माथि गरेको कारवाहीले पनि आधिकारिकता पाएको थियो। 

ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले निर्वाचन आयोगले पार्टी विभाजन गरिदिएको भन्दै त्यसको कानुनी उपचार खोजिने बताएका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसार अर्को पक्षले नयाँ दल खोल्न चाहेमा नयाँ दल खोल्न दिने निर्णय आयोगले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?