
बागलुङ
वरिपरि घना जंगल । छेउमै सुसाउने उत्तरगंगा । जसको छेउमै ठक्क बसेको छ दिज गाउँ । काठै काठले सजाएर बनाएका घर र गाउँले जनजीवन आगन्तुक आकर्षण गर्ने माध्यम बनेको छ । एकै ठाउँमा जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसमनले अझ बढी चाख लाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर पट्टी रहेको दिज गाउँ संभावना हुँदा हुँदै पनि बत्ति मुनीको अँध्यारो बनेको छ ।
गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहनले कहिलेकाँही पुग्ने पर्यटकलाई लोभ्याउने गर्छ । तर विकास र प्रचारप्रसारको अभावमा यो गाउँ ओझेलमै छ । ढोरपाटन नगरपालिका–९ स्थित यस गाउँ प्राकृतिक सुन्दरताले भरिएको छ । ढोरपाटन–निसेलढोर सडक खण्डको पारी पट्टी रहेको दिज गाउँमा अहिले विस्तारै विकासले गति लिन थालेको छ । तर प्रचारप्रसार भने कत्ति पनि हुन सकेको छैन । प्रकृति र मौलिकतासँग साइनो गाँसन चाहानेका लागि त योभन्दा अरु गन्तव्य बिरलै छन् ।
गाउँको मौलिकता र सुन्तदरतालाई बाहिर प्रचार गर्न नसक्दा कम मात्रै आगन्तुक दिज गाउँ पुग्ने ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले बताउनुभयो । लामो समयसम्म स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत लगायत विकासको पूर्वधारले नजोडिएको यस गाउँमा स्थानीय सरकार आएपछि विस्तारै विकास हुन थालेको उहाँको भनाइ छ । दिजलाई पर्यटकीय गाउँ बनाउनका लागि नगरपालिकाले नै नीति बनाएर लाग्न थालेको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ ।
“यो युनिक र भर्जिन गाउँ हो, पर्यटकसँग जोड्नका लागि नगरपालिकाले नीति बनाउँदै छ, गाउँलाई घरबास (होमस्टे)का रुपमा विकास गर्ने र स्थानीयलाई आय आर्जनसँग जोड्ने प्रयास गरि रहेका छौँ,” अध्यक्ष घर्ती मगरले भन्नुभयो “स्थानीय उत्पादनलाई पनि बढाउने र बजारीकरणलाई पनि ध्यान दिएका छौँ, यहाँको उत्पादनलाई ब्राण्डिङ गर्ने गरि काम पनि थालेका छौँ ।”
दिज गाउँमा अहिलेसम्म सडक पुगेको छैन । स्थानीयले अहिले पनि बजारबाट बोकेरै उपभाग्य सामान ढुवानी गर्नु पर्ने बाध्यता छ । ढोरपाटन सिकार आरक्षले अवरोध गर्दा गाउँमा सडक नजोडिएको स्थानीय बताउँछन् । यो गाउँमा अहिलेसम्म काठैकाठका बाहेक अन्य वस्तुले घर बनेका छैनन् । पछिल्लो समय विस्तारै विकासले गति लिन थालेको स्थानीय मनबहादुर घर्तीले बताउनुभयो । पहिलेदेखिनै समय–समयमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि धेरै भित्राउन नसकेको उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ – “ढोरपाटन आउने जति पर्यटक यहाँ आउने भए बढी प्रचार हुन्थ्यो, प्रचारप्रसारको अभावमा यो गाउँ आझेलमा छ, यहाँ सबै मौलिकता मात्रै छ, आधुनिकता त कत्ति पनि छैन, यसलाई सधै यस्तै टिकाई राख्नका लागि हामीहरुले प्रयार गरेका छौँ, पर्यटक बढ्ने भए हाम्रो आय आर्जन पनि बढ्ने थियो, उत्पादनले पनि सहज रुपमा बजार पाउने थियो ।”
यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समय पर्यटकको आगमन अल्ली बढी हुन्छ । पछिल्लो समय निसेलढोर जाने पर्यटक दिज गाउँमा पस्ने गरेका छन् । गर्मी छल्नका लागि ढोरपाटन आउने पर्यटकहरु घुम्दैफिरदै दिज गाउँ पुग्ने गरेका छन् । गाउँमा पुग्नका लागि उत्तरगंगा नदीमा काठे साँघु बनाइएको छ । यो पुल हेर्नाका लागि पनि पर्यटकहरु दिज पुग्ने गर्छन् । गाउँ निकै सुन्दर भए पनि बास बस्नका लागि व्यवस्थित ठाउँ नहुँदा ढोरपाटनमै आउनु परेको भैरहवादेखि आउनु भएको कुशलराज बेलवासेले बताउनुभयो ।
“हाम्रो नेपालमा पनि यति सुन्दर ठाउँ, यति सुन्दर बस्तीहरु छन्, तर यि ठाउँहरुमा अहिलेसम्म विकास नपग्दा ओझेलमा परेका छन्, मलाई त ढोरपाटनभन्दा दिज गाउँ धेरै राम्रो लाग्यो तर बस्नका लागि समस्या रैछ,” उहाँले भन्नुभयो – “राज्यले सडक लगायत अन्य विकास गरि दिए यो ठाउँ भविष्यमा एकदमै चर्चित बन्ने पक्का छ, गाउँका नागरिकलाई शिक्षित र व्यवसायिक बनाउनु पर्ने जरुरी देखियो, यहाँ आउँदा साँच्चिकै गाउँघरमा आएको महशुस भयो ।”(आदर्श सञ्चार)



