एकीकृत समाजवादीले पायो दलको वैधता

-


     जनहित न्युज    
     भाद्र ९ गते २०७८


माधवकुमार नेपाल नेतृत्वको नेपाल  कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता भएको छ। 

बुधबार दिउँसो भएको सनाखतपछि निर्वाचन आयोगले नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई राजनीतिक दलका रुपमा वैधता दिएको हो।

एमालेबाट अलग भएर माधव नेपाल पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।  
आयोगले माधव नेपाललाई आधिकारिकता दिएसँगै नेकपा एमाले कानूनीरूपमा पनि फुटेको छ । एकीकृत समाजवादी निर्वाचन आयोगमा १६६ नम्बरमा दर्ता भएको छ। यो दलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा रहेको छ। 

नयाँ दलले मान्यता पाएसँगै माधव नेपालको पार्टीले संसद्मा पनि संसदीय दल गठनको अवसर पाउने छ ।
नेकपा एकीकृत समाजवादीको पक्षमा साविकको एमाले केन्द्रीय कमिटीका ५५ सदस्य र संघीय संसदका ३० सांसदले हस्ताक्षर सनाखत गराएका छन् ।

३० बाहेक अन्य चार सांसदले पनि माधव नेपालको पक्षमा लाग्ने जनाउ दिएका छन् । तर दल दर्ताको निवेदनमा उनीहरूको हस्ताक्षर नभएका कारण आयोगले बुधवार सनाखत गर्न अस्वीकार गरेको हो । उनीहरू नयाँ पार्टीमा लाग्न पाउने या एमालेकै सांसद रहने भन्नेमा अन्योल कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?