टोकियो ओलम्पिक: ३६ राष्ट्रले पदक जिते,चीनको अग्रता कायमै हुदाँ जापानले गर्यो उत्कृष्ट प्रदर्शन,

- अस्ट्रेलियाको विश्व कीर्तिमान

-


     जनहित न्युज    
     श्रावण १० गते २०७८


टोकियो ओलम्पिक २०२० मा हालसम्म २८ राष्ट्रले पदक जितेका छन् । हालसम्म २२ विधाका स्वर्णको छिनोफानो भएकोमा १४ राष्ट्रले स्वर्णपदक जितेका छन् ।
टोकियो ओलम्पिक २०२० का अनुसार चीनले सबैभन्दा बढी पाँच स्वर्ण, एक रजत र तीन कास्य गरी नौ पदक जितेको छ । जापानले चार स्वर्ण, एक रजत गरी पाँच पदक जित्दा संयुक्त राज्य अमेरिकाले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक जितेको छ । जापानले जुडोमा दुई र स्केटबोर्डिङमा एक गरी तीन स्वर्ण जितेको छ । दक्षिण कोरियाले दुई स्वर्ण, दुई कास्य गरी चार पदक जितेको छ ।

ओलम्पिक कमिटिको ब्यानरमा सहभागिता जनाएको रुसी खेलाडीले एक स्वर्ण, दुई रजत र एक कास्य गरी चार पदक जितेका छन् । इटाली, अष्ट्रेलिया, ट्युनेसिया, अष्ट्रिया, इक्वेडर, हङ्गेरी, इरान, कोसोभो, थाइल्याण्डले एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी, हालसम्म क्यानाडा, नेदरल्याण्ड्स, फ्रान्स, इन्डोनेसिया, सर्बिया, बेल्जियम, ब्राजिल, बुल्गेरिया, स्पेन, भारत, रोमानिया, चाइनिज ताइपेई, जर्मनी, कजाखस्तान, इस्टोनिया, बेलायत, इजरायल, मेक्सिको, मङ्गोलिया, स्लोभेनिया, स्वीटजरल्याण्ड र युक्रेनले  एक पदक जितेका छन् ।

टोकियो आलेम्पिकमा घरेलु टोली जापान प्रभावशाली देखिएको छ । आइतबार एकै दिन जापानले चार स्वर्ण पदक हात पारेको छ । इतिहासमै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने योजनामा अघि बढेको जापान सुरुवाती दिनमा सफल देखिएको छ ।

आइतबार चीनले पनि तीन स्वर्ण पदक जित्दै अग्रता कायम राखेको छ । चीनका लागि उपयुक्त ठहरिएका डाइभिङ र भारोत्तोलनमा आइतबार तीन सवर्ण पदक जितेको हो । भारोत्तोलनमा चीनकै बराबरीको अर्को शक्ति उत्तर कोरिया यस पटकको ओलम्पिकमा सहभागी नभएपछि यसको फाइदा चीनलाई प्रस्ट रूपमा देखिएको छ ।

कोरोना महामारीको कारण सबैभन्दा धेरै प्रभावित भएर तयारीमा समस्या भोगेको अमेरिका भने पहिलो दिनको तुलनामा दोस्रो दिनमा लयमा देखिएको छ । पौडीको ४०० मिटर व्यक्तिगत मेड्लीमा चेज कालिज र जे लीथरल्यान्डले स्वर्ण र र रजत जिते पछि अमेरिकाको पदकको यात्रा सुरु भएको हो । कालिजले स्वर्ण जितेको सो स्पर्धामा अस्ट्रेलियाका ब्रान्डन स्मिथले कांस्य पदक जिते ।

पुरुषको ४०० मिटर फ्रिस्टाइलमा ट्युनेसियाका हाफनोइ अहमदले सबैको अनुमानलाई गलत साबित गर्दै स्वर्ण जिते । सो स्पर्धामा अस्ट्रेलियाका ज्याक म्यागलिनले रजत र अमेरिकाका केरन स्मिथले कांस्य पदक जिते ।

महिलाहरूको ४०० मिटर मेड्लीमा जापानकी युही ओहासीले स्वर्ण पदक जितिन् । अमेरिकाकी एमा एवेन्टले रजत र अमेरिकाकै हेली फ्लिकिन्गरले कास्य पदक जिते । महिला ४ गुणा सय मिटर फ्रिस्टाइल रिलेमा अस्ट्रेलियाले विश्व कीर्तिमान सहित स्वर्ण पदक जित्यो भने क्यानडाले रजत तथा अमेरिकाले कास्य पदक जिते ।

जापान आइतबार टुङ्गो लागेको जुडोको दुई वटै स्पर्धामा स्वर्ण पदक सफल भयो । जापानकी एबे युताले महिला ५२ किलो तौल समूहमा स्वर्ण पदक जितिन् । फ्रान्सकी बचार्ड अमान्डाइनले रजत तथा हङ्गेरीकी पप रेका र बेलायतकी चेल्सी गील्सले कास्य पदक जिते ।

पुरुष ६६ किलो तौल समूहमा जापानकी ऐबेहाइ मुफीले स्वर्ण पदक जितिन् । जर्जीयाकी भाजा लाभ्गेसीलीले रजत पदक जितिन् । दक्षिण कोरियाका ए एन बाउल र ब्राजिलका डानियल काग्नानीले कास्य पदक जिते ।

आइतबार भएको स्केट बोर्डिङको केन स्ट्रिटमा जापानका युटो होरीगोमेले स्वर्ण, ब्राजिलका भेल्भिन होइफरले रजत तथा अमेरिकाका एटन जागरले कास्य पदक जिते ।

आर्चरीको महिला टिम स्पर्धामा दक्षिण कोरिया पहिलो भयो रसिया ओलम्पिक कमिटी दोस्रो तथा जर्मनी तेस्रो भए । साइक्लिङको रोड रेसमा अस्ट्रियाकी अन्ना काइसोन्फेरले स्वर्ण, नेदरल्यान्डकी भान भ्लुटेनले रजत तथा इटालीकी एलिसा लङ्गोले कास्य पदक जिते ।

सुटिङको महिला १० मिटर एयर पिस्तोलमा ओलम्पिक कमिटी अफ रसियाकी भिटालिना बाट्सा राखिनाले स्वर्ण, बुल्गेरियाकी एन्टोनेटा कोसटाडिनोभाले रजत तथा चीनकी जीयाङ रान्छिन्ले कास्य पदक जिते । पुरुषको १० मिटर राइफलमा अमेरिकाका विलियम सानरले स्वर्ण, चीनका लिहावो सेङले रजत तथा चीनकै यान होराङले कास्य पदक जिते ।

फेन्सिङको महिला एकल फोइलमा रुस ओलम्पिक कमिटीकी अन्ना डेरिगलोभालाई फाइनलमा हराउँदै अमेरिकी केइफर लीले स्वर्ण पदक जितिन् । युक्रेनकी आइगोर रेजिनले कास्य पदक जितिन् ।

यसैगरी पुरुषको व्यक्तिगत एपेमा हङ्गेरीका जर्जी सिकोल्सीलाई फाइनलमा हराउँदै फ्रान्सका क्यानोन रोमनले स्वर्ण पदक जिते । युक्रेनका आइगर रेइजलीनले कास्य पदक जिते ।

भारोत्तोलनको ६१ किलो तौल समूहमा चीनकी फाबियन लीले स्वर्ण, इन्डोनेसियाकी इरावन एको युलीले रजत र काजकस्तानका आइगर काजसनले कांस्य पदक जिते ।

यसै गरी ६७ किलो तौल समूहमा चीनका चेन ली जुयनले स्वर्ण पदक जिते । कोलम्बियाका मिस्कुरा लान्जोले रजत र इटालीका मार्को जानीले कास्य पदक जिते । डाइभिङको तीन मिटर स्प्रिङबोर्डमा चीनले स्वर्ण, क्यानडाले रजत तथा जर्मनीले कांस्य पदक जिते ।

तेक्वान्दोको महिला ५७ किलो तौल समूहमा अमेरिकाकी जोलोटिक अनास्टाजासियाले स्वर्ण तथा रुसी ओलम्पिक कमिटीकी टाटीयाना मीमानाले रजत पदक जिते । पुरुषको ६८ किलो तौल समूहमा उज्बेकिस्तानका रासितोभ उलुबेगले स्वर्ण तथा बेलायतका सिन्डेन ब्राडलीले रजत पदक जिते । सो स्पर्धामा टर्कीकी हाकन रेकेबर तथा चाइनिज ताइपेइकी लोजिया पिङले कांस्य पदक जिते ।
सफ्ट बलमा जापान र अमेरिकाको बिच स्वर्ण पदकका लागि भिडन्त हुने भएको छ ।

यस ओलम्पिकमा अमेरिकालाई एकपछि अर्को धक्का लाग्ने क्रममा महिला जिम्न्यास्टिकको टिममा एकदमै बलियो मानिए पनि फाइनल प्रवेश गर्ने क्रममा दोस्रो स्थानमा रहेको छ । ओलम्पिक कमिटी अफ रुसको १७१ दशमलव ६२९ तथा अमेरिकाको १७०.५६२ अङ्क रहेको छ । यो अग्रतालाई जोगाउँदै स्वर्ण पदक जित्ने कुरामा रुसी टोली आशावादी रहेको छ ।

आइतबार अमेरिकी टोलीले अन्डर पार प्रदर्शन गरेकोमा आलोचना भएको छ । अहिलेकी स्टार खेलाडी सिमोन वाइल्स नै परेफेक्ट रहिनन् भने फ्लोेरमा ग्रेस म्याककुलुम र सुनिसा लीले कमजोर प्रदर्शन गरेका थिए । वाइल्स टिमका अलावा, फ्लोर भल्भ र बिममा छनोट भइन् । ली अलराण्डमा फाइनल चरणका लागि छनोट भएकी छिन् ।

कोरोना सङ्क्रमणको असर पनि यस ओलम्पिकमा देखिएको छ । शीर्ष बरियताका गल्फ खेलाडी जोन रहिम कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । बिहीबार शुरू हुने गल्फमा स्पेनबाट एड्री एरानसमात्र एक्लो प्रतिनिधिको रूपमा रहेका छन् । गत जुनमा प्रतियोगिता खेल्दै अग्रस्थानमा रहेका उनले बीचबाटै प्रतियोगिता त्यागेका थिए । त्यसपछि उनले युएस ओपन गल्फ जितेका थिए ।

अस्ट्रेलियाको विश्व कीर्तिमान

ओलम्पिकमा पौडी अन्तर्गत महिला ४ गुणा १०० मिटर फ्रि स्टाइलमा अस्ट्रेलियाले विश्व कीर्तिमानसहित स्वर्ण पदक हात पारेको छ । 

उसले आइतबार टोकियो अक्वाटिक्स सेन्टरमा ३ मिनेट २९.६९ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको ३ मिनेट ३०.०५ सेकेन्डको कीर्तिमान तोडेको हो । 

महिला ४ गुणा १०० मिटर फ्रि स्टाइलमा क्यानडाले रजत र अमेरिकाले कास्य पदक हात पा¥यो । 

–ऐजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?