गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आगामी कार्यकाल २०२१-२०२३ को निर्वाचन मिति सार्ने कार्यसमितिको निर्णय निर्वाचन समितिलाई मान्य नभएको निर्वाचन आयुक्तले बताएका छन ।
जुलाई २७ मा निर्वाचन गर्ने निर्णयलाई कार्यसमितिको निर्णयले जुलाई ३० सम्म पर सारेकोप्रति आयुक्त डा नेत्र प्रकाश भण्डारीले कडा प्रतिवाद गर्दै खेद प्रकट गरेको बताएका छन ।
निर्वाचन समितिका तर्फबाट निर्धारित कार्यक्रम बमोजिम जुलाई २७ को बिहान १०:०० देखि साँझ ८:०० सम्म मतदान गराउने तयारी सम्पूर्णरुपले सम्पन्न भैसकेको र मतदान मिति सार्ने अनुगमन समितिका बहुमत सदस्यहरू र कार्य समितिका केहि सदस्यहरूको मौखिक चाहना बिरुद्धको हाम्रो कड़ा प्रतिवाद र अनुरोधका बाबजुद जुलाई २४ मा बसेको कार्य समितिको विशेष बैठकले मतदान मिति ३ दिनले पछाडि धकेल्ने निर्णय गरेकोमा निर्वाचन समिति खेद प्रकट गर्ने आयुक्त डा भण्डारीले बताएका छन ।
मतदाता नामावली सम्बन्धि कुनैपनि विवरण र त्रुटीहरू निर्वाचन समितिको कार्याधिकार र कार्यक्षेत्र नरहेको उल्लेख गर्दै आयुक्त भण्डारीले निर्वाचनको प्रकृया चलिरहेकै अवस्थामा मतदाता र उम्मेदवारहरूको सहमति बिनानै गरिएको त्यस निर्णयले सम्पूर्ण निर्वाचन प्रकृयालाई विवादमा पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै तत्कालका लागि निर्वाचन समितिले मतदान मिति जुलाई ३० तारिकमा सार्ने निर्णयलाई निर्वाचन समितिमा पनि छलफल गरि आवश्यक निर्णय दिने बताईएको छ ।
निर्वाचन समितिलाई कार्यसमितिको निर्णयले कार्य समितिको निर्णयानुसार मतदान गराउने, कार्य समितिको निर्णयलाई खारेज गरि पूर्व निर्धारित मितिमै मतदान गराउने र निर्वाचन समितिबाट राजीनामा गरि अन्य उपायहरूको लागि बाटो खुल्ला गरिदिने विकल्प रहेको बताऊदै आज साँझसम्म आवश्यक निर्णय दिने आयुक्त डा भण्डारीले बताएका छन ।
निर्वाचनलाई हदसम्म विवादरहित बनाउने निर्वाचन समितिका हामी सबैको निश्पक्ष प्रयासमा कुनै न कुनै रुपले नचाहँदा नचाहँदै पनि विवाद शृजना गराउने कार्यसमितिको प्रयास रहेको आरोप लगाउदै यसको कडा प्रतिवाद गर्ने उनले बताएका छन ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको निर्वाचन यही जुलाई २७ मा तय भयपनि जुलाई १३ तारीक भएको ट्राईल भोटिंगमा कतिपय सदस्यहरुलाई भोटिंग लिंक नगएको र सदस्यहरुको ईमेलमा देखीएको परिवर्तन लाई सच्याउन मौका दिनुपर्ने भएकोले आज बसेको कार्यसमितिको विशेष बैठकले निर्वाचनलाई यही जुलाई ३० तारीकमा सार्ने निर्णय गरेको इमेल मार्फत आयुक्तलाई जानकारी गराइएको थियो ।
बैठकले बाउन्स भएका ईमेल, परिवर्तन भयका इमेल हरुको नया डाटा लिनको लागी तयार पारिएको गुगल फारम प्रयोग गर्ने, त्यसको निम्ति उक्त सदस्यहरुको नाम, सदस्यता नम्बर र गुगल फारम सहित यहि जुलाई २६ तारीक बिहान १० बजे देखी २८ तारीकको ५ बजे सम्म (जापान समय) सूचना जारी गर्न निर्वाचन समितिलाई अनुरोध गर्दै जुलाई २५ तारिकबाट वर्तमान कार्यसमितिको कार्यकाल सकिने भएकोले अधिवेशनको लागि गठित अध्यक्ष मण्डलले कार्यसमितिको हैसियत वरावर अन्य कार्य अगाडी बढाउने निर्णय भएकोपनि जानकारी निर्वाचन समितिलाई जानकारी गराइएको थियो ।
अधिवेशनलाई सहज बनाउनका लागि ५ सदस्यीय अध्यक्ष मण्डल समेत कार्यसमितिले गठन गरेको छ । जसमा पारसमणी पोखरेल, ओम गुरुङ, सालिकराम भण्डारी, नारायण सुबेदी र रोशन केसी रहेका छन ।
कार्यसमिति, एसिया प्यासिफ़िक क्षेत्रीय समितिका पदाधिकारी,आइसीसी सदस्य, अनुगमन समिति तथा सरोकारवाला सहित शनिबार बसेको बैठकले निर्वाचन पर सार्ने निर्णय गरि निर्वाचन समितिलाई जानकारी गराएको थियो ।