‘सबै मेरा गुरु’

- कविता

-


     राधिका कल्पित    
     श्रावण १० गते २०७८


साउँ अक्षर सिकाउने गुरुदेखि
सुकरात पढाउने शिक्षकसम्म
कान निमोठेर सहिमार्ग देखाउने आमादेखि
कान फुकेर जीवनकर्म सिकाउने गुरुआमासम्म
अँध्यारोभित्र उज्यालो देखाउनेदेखि
उज्यालोभित्रको अँध्यारो चिनाउनेसम्म
दौडन सिकाउनेदेखि
पौडन सिकाउने सम्म
घोडा चढ्न सिकाउने देखि
सपना पछ्याउन अर्हाउनेसम्म
छिर्के हानेर लडाउनेदेखि
उठाएर धुलो टक्टक्याउने सम्म
सम्पूर्ण मेरा गुरुहरु
सम्पुर्ण मेरा पाठहरु!

नमन तीँ सारामा
ज- जसले भित्रको तथ्य बुझ्न र
बाहिरको सत्य चिन्न सिकाए
जसले नीच देखाएर उँच बन्न सिकाए
जसले खुट्टा तानेर दर्होसँग टेक्न सिकाए
जसले गाली दिएर ताली पाउने बनाए
जस्ले कमजोर बनाएर बलियो बन्न सिकाए ।

थम्सअप गर्नेदेखि थम्सडाउन गर्नेसम्म
चोर औँला ठड्याएर च्यालेन्ज गर्नेदेखि
माझी औँला तेर्साएर मर्माहत बनाउनेसम्म
दूरदूर गर्नेदेखि वाहवाह गर्नेसम्म
सापटी लिएर टाढिनेदेखि
ऋण दिएर नमाग्नेसम्म
गौँथली देखि टेलरबर्डसम्म
कमिला देखि कुमालकोटीसम्म
माहुरी देखि मालसिरीसम्म
चमेरोदेखि चातकसम्म
हाँस्दा हाँस्दै रुवाउनेदेखि
रुँदारुँदै हँसाउनेसम्म

तीँ सारा सारा जसले अस्तित्ववोध गराए
तीँ सारा सारा जसले जीवनबोध गराए
ती सारा जसले प्रश्न गरेर उत्तर खोज्ने बनाए
ती सारा जसले उत्तर दिएर प्रश्न खोज्न पठाए

प्रणाम सम्पूर्णमा!
नमन सम्पूर्णमा!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?