
एनआरएन अभियान अहिले सङ्लिने क्रममा छ । धूरीको विवाद नहुँदो हो त एनआरएन जापानले गएको दुई वर्षमा गरेका गतिविधिहरुको मुल्याङ्कनमा अझ राम्रो अंक लिएर उत्कृष्टता हासिल गर्ने थियो भनेर सहजै लख काट्न सकिन्छ । दुईतिर फर्केका धूरीका दुईथरि हाकिमहरुको चेपुवामा परेता पनि वुद्धिमत्तापूर्ण ढंगले उचित सन्तुलन मिलाउँदै कतै कसैलाई चित्त नदुखाईकन आफ्नो कार्यकाल अवतरण गरेका नविन निउरे जाँदाजाँदै हाइहाइ बन्न पुगे । उनको लोकप्रियता ह्वात्तै बढ्यो । उनको कार्यशैली हेर्दा मानौ उनी दुई वर्ष मै निकै खारिई सकेका छन् ।
एनआरएन जापानप्रति पछिल्लो समयमा सर्बसाधारणको आकर्षण बढेको छ । त्यसैको संकेतको रुपमा लिन सकिन्छ यो पटक बढेको सदस्यता संख्यालाई । ठीक यति नै बेला राम्रा राम्रा जनमुखी कार्यक्रमहरु लिएर जापानका दुरदराजसम्म एनआरएन पुग्न जरुरी छ । उसो त एनआरएन आफैमा व्यवस्थित हुन बाँकी नै छ । एनआरएन अभियानका बारेमा समय समयमा प्रशिक्षण चलाउन आवश्यक छ । जानेकाहरुबाट नजानेकाहरुले सिक्न लजाउन पर्दैन । केहि गरौं भन्ने हुटहुटी भएका युवा जमातको एनआरएनप्रति देखिएको पछिल्लो लहरलाई शुभ संकेतका रुपमा लिन सकिन्छ । तर उनीहरुलाई खँदिलो र परिपक्व बनाउँदै लैजान विशेष खालका कार्यक्रमहरु नियमित हुनु जरुरी छ । युवा जोश, जाँगर र ऊर्जालाई सहि ढंगले परिचालन गर्न र सीमित स्रोत साधनबाट परिणाममुखी कार्यसम्पादनका लागि सूचना र प्रविधिको उच्चतम प्रयोग अपरिहार्य छ । यसका लागि युग सुहाउँदो डिजिटल साक्षरता बढाउन जरुरी छ त्यो आफैबाट सुरु गर्नुपर्दछ । डिजिटल साक्षरताको कुरो गर्दा आइटी क्षेत्रमा विशेष दखल भएकाहरुको हाम्रो समाजमा खडेरी छ । भएका एकाध व्यक्तिहरुलाई पनि हाम्रो नेपाली समाजले चिन्दैन र चिने पनि उनीहरुलाई मुलधारको भूमिकामा देख्न पाईदैन । संघसंस्थाको आर्थिक कारोवार ठीक दुरुस्त राख्न होस् वा महत्वपूर्ण दस्तावेज तथा अभिलेखहरु व्यवस्थित गर्न वा भण्डारण गर्न होस्, होमपेज, एप्ली बनाउन वा चलाउन होस् या हरेक गतिविधिलाई डिजिटलाईजेशन गर्न होस् आइटी बुझेका जनशक्तिको आज जताततै खाँचो छ । अझ एनआरएन अभियानमा त त्यस्ता जनशक्तिको भलिभाँती खाँचो छ । जुन कुरो औसत मान्छेले सजिलै बुझ्दैनन्-जान्दैनन् पनि । आजको डिजिटल दुनियाँमा संख्या पुर्याउन र गणना बढाउन औसत मान्छेको भिड बटुल्नुभन्दा यस्ता विशेष दक्षता भएका थोरै मान्छेले पनि कामलाई छरितो र सरल ढंगले सम्पादन गर्न सक्छन् । त्यस प्रकारका फरक क्षमता भएका मानिसहरु टिममा हुनु भनेको अभियानकै लागि ठूलो सपोर्ट पनि हो ।
एनआरएनको नेटवर्किङलाई सहि ढंगले परिचालन गरी सामाजिक गतिविधिलाई डिजिटलसंग जोड्न ढिला भईसकेको छ । अब एनआरएनलाई झिनामसिना मुद्दाहरुमा अल्झिन छुट छैन । विदेशमा भएका नेपाली मनहरुलाई जन्मभूमिसंग जोड्न, सानाठूला सामुहिक लगानी भित्र्याउन, जापानमा नेपाली पर्यटनको प्रवर्धन गरी वर्षेनी जापानी पर्यटक नेपाल पठाउन, नेपाली सेवा तथा उत्पादनलाई जापानी बजारमा बिस्तार गर्न अब सूचना र प्रविधिको माध्यमबाट मात्र संभव छ त्यसकारण आफुले जानेको बुझेको सीप, अनुभव तथा दक्षतालाई एनआरएन अभियानमा खर्चिने संकल्पका साथ होमिएका एक कामकाजी युवा हुन् – रमेश गिरी । बाहिर हेर्दा सरल र मृदुभाषी देखिने रमेश काममा निकै मिहिनेती छन् । आफ्नो जिम्मेवारीको काम फत्ते नगरी उनलाई दिन र रातको प्रवाह हुँदैन । विगत ८ वर्षदेखि एनआरएनको चिबा क्षेत्रीय समितिको विभिन्न जिम्मेवारीमा रहेर अभियानमा लागेका रमेश भन्छन् – ‘आइटी सेक्टरमा मैले सिकेको सीप र अनुभवलाई अभियानमा लगाउन अब केन्द्रतिरको यात्रामा निस्कन चाहान्छु, चुनावी हावाले मान्छे चिन्ला, नचिन्ला, क्षेत्रीय सहकोषाध्यक्षमा मेरो दावी छ, मलाई विश्वास छ, मेरो कार्यक्षमताका आधारमा यहाँहरुबाट अनुमोदन हुने छु ।’
एक प्रतिष्ठित कम्पनीमा म्यानेजरको रुपमा कार्यरत रमेश एनआरएनमा आफ्नो टड्कारो खाँचो देखिएको दावी गर्दै अगाडि भन्छन् – ‘एनआरएन अभियान बुझेर भन्दा देखासिकीले हामफाल्नेहरुको भीडमा आफै हराईने पो हो कि ? भन्ने संशय पनि नभएको त हैन तथापि एनआरएनलाई यो भन्दा धेरै राम्रो बनाउन सकिन्छ भन्नेमा म विश्वस्त छु । आजको दुनियाँमा प्रविधिको दास हुनेहरुले हैन प्रविधिलाई दास बनाउनेहरुबाट नै हाम्रो समाजको रुपान्तरण संभव छ ।’
संस्थालाई संस्थागत लय र बिधि विधानको राजमार्गमा डोर्याउँदै नयाँ नयाँ प्रयोगबाट अभियानलाई थप प्रभावकारी र सशक्त बनाउन विशेष क्षमता भएका रमेश जस्ता होनहार युवालाई रातो कार्पेटले स्वागत गरिनुपर्ने हो, विडम्वना उनी अन्य दुई प्रतिस्पर्धीसंग भिड्दैछन् । भिडले निकाल्ने परिणाम सँधै सहि नै आउँछ भन्न सकिदैन । उनीजस्ता क्षमतावान मानिस एनआरएनका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी बोकेर विगत लामो समयदेखि एनआरएनमा जोडिएका हुन् । अभियानलाई नजिकबाट नियालेका रमेश भन्छन् – ‘हामी हातमा हातमा स्मार्ट फोन बोकेका छौं तर हामी आफु भने स्मार्ट बन्न सकेका छैनौ र सोहीअनुरुप एनआरएनलाई पनि बनाउन सकेका छैनौ । त्यसकारण अब एनआरएन अभियानलाई व्यवस्थित गदै डिजिटल प्रविधिसंग जोडिन ढिला गर्नुहुँदैन । हामी बनाउँछौं अब एनआरएनलाई सबल, सुदृढ र स्मार्ट । साथ, सहयोग र सद्भाव तपाईको, सहि दृष्टिकोण र भरपुर इच्छाशक्ति हाम्रो भएपछि गन्तब्य अवश्य नजिकै छ ।’ ***



