सामूहिक फोटो खिचाउँदै एमाले स्थायी कमिटीले गर्यो यस्ता निर्णय

-


     जनहित न्युज    
     भाद्र ८ गते २०७८


नेकपा एमालेको स्थायी कमिटी बैठकले एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालको साथ छाडेर आएका १० जना स्थायी कमिटी सदस्यहरु समेत गरी आजको बैठक बसेको थियो । बैठकपछि नेताहरुले सामूहिक तस्वीर खिचाउँदै एकताको सन्देश पनि दिएका छन्

माधव कुमार नेपालले पार्टी विभाजन गर्दै नेकपा एकीकृत समाजवादी बनाउन निर्वाचन आयोगमा प्रक्रिया शुरु गरिसकेको अवस्थामा एकताका लागि भन्दै ‘तेस्रो धार’का रुपमा देखा परेका नेताहरुसहितको बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको थियो।

पार्टी स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनका अनुसार विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडाैंमा हुनेछ । विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्ताव तयार गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ केन्द्रीय समितिको बैठक बोलाइएको छ । 

एमालेले २०७५ जेठ २ को सदस्यतालाई आधारमा सदस्यता नवीकरण कार्यक्रम अघि बढाउने भएको छ। ‘एकीकरणमा आएका साथीहरुको पनि नवीकरण गरिनेछ,’ ज्ञवालीले भने । 

पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय समिति, प्रदेश, जिल्लासहित सबै तहका पदाधिकारी र सदस्यलाई २०७५ जेठ २ गतेपूर्व क्रियाशील हुन निर्देशन दिने निर्णय बैठकले गरेको छ।

प्रवक्ता ज्ञवालीले निर्णयअनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने बताएका छन् । यस्तै दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?