
सत्तारुढ नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।
क्रियाशील विवाद नटुंगिएपछि १२ साउनका लागि तय गरिएको वडास्तरीय अधिवेशन स्थगित गरिएको हो । शनिबार बुढानीलकस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले वडा तहको अधिवेशन स्थगित गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
‘क्रियाशील विवाद कायमै छ । त्यो छानविन समितिले विवाद समाधानको प्रयास गरिरहेको छ,’ प्रवक्ता शर्माले भने, ‘ वडा तहको अधिवेशनको मिति अब केन्द्रीय समितिको बैठकले तय गर्नेछ । ‘
आगामी साउन १२ गते क्रियाशिल सदस्यता छानबिन समितिले क्रियाशिल सदस्यता र मतदाता प्रतिनिधिहरुको अन्तिम प्रतिवेदन पार्टीको केन्द्रीय समितिलाई बुझाउनेछ । क्रियाशील सदस्यता छानविन गर्न रमेश लेखकको संयोजकत्वमा गठित समितिलाई असार मसान्तसम्मको समयावधि दिए पनि टुंगो लगाउन सकेको छैन ।