लन्डनमा मनाइयो २५६६ औँ बुद्ध जयन्ति

-


     जनहित न्युज    
     जेठ ९ गते २०७९


लण्डन — लण्डनको ऐतिहासिक ट्राफलगर स्क्वायरमा आइतबार एक भव्य समारोहका बीच २५६६ औँ बुद्ध जयन्ति मनाइएको छ।
बुद्ध फाउन्डेशन युके, बेलायतस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड लगायतको सहकार्यमा आयोजित कार्यक्रममा भगवान बुद्ध को शोभा यात्रा निकालिएको थियो। त्यस्तै नेपालको संस्कृति दर्शाउने शेर्पा नाच, मन्जुश्री नाच, लाखे नाच, थारू नाच आदि प्रस्तुत गरिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सगरमाथा, गौतम बुद्ध र पशुपतिनाथले नेपाललाई विश्वभर चिनाएको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको लुम्बिनी भ्रमणले भगवान् बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त भएको उनले जनाए।

कार्यक्रमलाई बौद्ध गुरु श्याल्पा तेन्जिन रिन्पोछे, प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, बेलायतका लागि भारत तथा श्री लंकाका उच्चायुक्तहरु, गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि महन्त श्रेष्ठ लगायतले सम्बोधन गर्दै भगवान बुद्धको संदेश अहिले अरु बढी सान्दर्भिक भएको बताएका थिए।

समारोहमा ब्रिटिश सांसद वीरेन्द्र शर्मा, विभिन्न काउन्सिलमा निर्वाचित नेपाली मूलका मेयर तथा काउन्सिलरहरुको उपस्थिति थियो।
कार्यक्रम संयोजक फाउन्डेशनका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी राई ‘लारा’ र सूर्य गुरुङले गरेका थिए।

कार्यक्रममा गायिका शर्मिला बर्देवा र गायक दीपक थापाले आआफ्नो प्रस्तुति दिएका थिए।

(सबै तस्विरहरु: शिव भण्डारी/लन्डन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?