गैरआवासीय नेपालीका मुद्दा सम्बोधन गर्न संघको आग्रह

-


     (जीएनएन)    
     जेठ ९ गते २०७९


लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीहरुका मुद्दा सम्बोधन गर्न आग्रह गरेको छ।
प्रधानमंत्री कार्यालयमा एक ज्ञापनपत्र पठाउदै संघले ८ बुँदे सुझाव दिएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले संघले गैरआवासीय नेपाली नागरिकता, लगानी, वैदेशिक रोजगार, नेपालको पूर्वाधार विकास लगायतका विषयमा ती सुझावहरु पेश गरिएको जनाए ।
संघका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयमा पठाएको पत्रमा समावेश गरिएका बिषयहरु सम्बोधन भएमा नेपालमा लगानीको वातावरण सुदृढ हुनगई विदेशी मुद्राको संचितिमा समेत बृद्धि हुने आचार्यले बताए।
संघले गैरआवासीय नेपाली सम्बन्धी ऐन तथा नियमावली, विदेशी लगानी प्रविधि हस्तान्तरण ऐन तथा नियमावलीमा रहेको द्विविधालाई हटाउन आग्रह गरेको छ। संघले गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेका मुलुकहरुमा नेपाली दूतावास तथा कूटनीतिक नियोग स्थापनाको लागि पहल गर्न आग्रह गरेको छ।
संघले विदेशबाट नेपाल फर्किएका गैरआवासीय नेपालीहरुलाई नयां व्यापार, व्यवसाय सुरु गर्नको लागि ज्ञान, सीप तथा पूंजीको व्यवस्था गर्नको लागि नीति तथा कार्यक्रममा उल्लेख गर्न अनुरोध गरेको छ।
आचार्यले नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नका लागि तत्काल कानुन बनाई कार्यान्वयन गर्ने प्रतिबद्धतासहितको नीति तथा कार्यक्रममा बनाउन संघले सुझाव दिएको बताए।
नेपालको संविधान २०७२ मा सार्क मुलुक बाहेक अन्यत्र बसोबास गर्ने प्रवासी नेपालीहरुका लागि गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ, तर त्यस सम्बन्धी कानून नबनेकाले अझै लागू हुन सकेको छैन।
नेपालको वैदेशिक मुद्रा संचितिमा दबाब बढीरहेका बेला नेपाली बैंकहरुमा डलर खाता खोल्न संघले अभियान संचालन गरिरहेको पनि आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?