
युरोपियन मुलुक स्पेनको बेनिड्रममा आईतबार साँस्कृतिक मेला सम्पन्न भएको छ । हिन्दुहरुका महान पर्वहरु बिजया दशमी, तिहार, नेपाल सम्वद छठ तथा ल्होसारको अवसरमा शुभकामना आदानप्रदान सहित साँस्कृतिक मेला सम्पन्न भएको हो ।
एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्का र नेपाल समाज एसोसिएसनको संयुक्त आयोजनामा संचालित साँस्कृतिक मेलामा नेपाली लोक संगीतका चर्चित गायक द्वय मिलन लामा र रबिन लामिछानेले प्रस्तुति दिनुभएको थियो ।
गायक लामाले तिहारे भाका देउसी भैलो, माछी काँडे डाडैमा घर सार, घरमा पराल बारिमा बन्सो, माझिदाई फोखरा फेवातालको, हङ्कङ आईडिले लगाएतका लोक भाका प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गायक लामिछानेले शिरफुल शिरको, हावा चिसो चिसो, सालैजो भाका लगाएतका लोक भाका तथा पन्चेवाजाका गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गायक द्वय लामा र लामिछानेले प्रत्यक्ष दोहोरी समेत प्रस्तुत गर्दा दर्शकले छमछमी नाचेर साथ दिएका थिए । कार्यक्रममा स्थानिय कलाकारको रुपमा खुसी ओली र अपेक्षा ढुङ्गानाले नृत्य प्रस्तुत गर्दा सरोज लामिछानेले समेत साँस्कृतिक प्रस्तुति दिनुभएको थियो ।
एनआरएनए स्पेनका उपाध्यक्ष सुरेन्द्र भुजेल थापाले प्रवासमा रहेर पनि नेपाली पर्वहरुलाई साँस्कृतिक रुपमा जोड्दा संस्कृतिको संरक्षणमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका थापाले नेपाली पर्वहरुलाइै लक्षित गरि गरिएका साँस्कृतिक मेलाहरु तथा जमघटले आम नेपालीहरुलाई एकताबद्ध गर्न सफल भएको बताउनुभयो ।
साँस्कृतिक मेलाको अवसरमा नेपालबाट आफ्ना सन्ततीको कर्म तथा साँस्कृतिक सहर स्पेन भ्रमणमा आउनुभएका अग्रज बुबा आमा गंगारम सापकोटा, रेवती सापकोटा र भुमिप्रसाद ओली तथा चण्डिका ओलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संचालित भाग्यशाली चिट्ठा उपहार अन्तरगर्त गोलाप्रथाबाट मदन खत्री, बिरेन्द्र श्रेष्ठ र अबिना बज्राचार्यले आर्कषक उपहार प्राप्त गर्नुभयो ।
बडा दशैँ, तिहार, नेपाल सम्वद, छठ तथा ल्होसारको अवसरमा आयोजित सास्कृतिक मेलाको अवसरमा सहभागि दर्शकले आपसमा सुख, दुख साटासाट तथा शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रम एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्काका अध्यक्ष सुरेश बज्राचार्य र नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडिको सयुक्त अध्यक्षता तथा अध्यक्ष सुरेश बज्राचार्यको स्वागत तथा नेपाल समाज एसोसिएसनका प्रवक्ता घनश्याम गौतमको संचालनमा सम्पन्न भएको थियो ।