एनआरएनए जापान र दूतावासका बिच छलफल, जुलाईमा नेपाल फेस्टिबल गर्ने

-


     जनहित न्युज    
     फागुन १० गते २०७८


गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाली राजदूतावास टोकियोबिच एनआरएनए जापानले गर्दै आएको कार्यप्रगति र भावी कार्ययोजनाबारेमा छलफल भएको छ ।

टोकियो स्थित नेपाली राजदुतावासको कार्यालयमा आयोजित छलफलमा दूतावासको तर्फबाट कार्यबाहक राजदूत अम्बिका प्रशाद जोशी र गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष शिवप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

सोमबार भएको छलफलमा नयाँ कार्यसमितिले सात महिनाको अवधिमा गरेको विभिन्न सामाजिक काम र गतिबिधिहरुको बारेमा जानकारी गराउनुका साथै भावी कार्ययोजनाको बारेमा नेपाली राजदूतावास जापानलाई जानकारी गराइएको एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी दिए ।

एनआरएनए जापानले सात महिनाको अवधिमा कोभिड-१९ को रोकथाम र नियन्त्रणमा गरेको प्रयास,आत्महत्या रोकथाम, बिद्यार्थी छात्रब्रृत्ती लगायत भएगरेका कार्यको बारेमा जानकारी गराएको थियो । एनआरएनए जापानले मासिक रूपमा गरिने गरेका शृंखलावद्द कार्यक्रम अन्तरगत जापानमा बालबालिका अध्ययन, जापानमा ब्यवसाय, अवसर र चुनौती जस्ता कार्यक्रम तथा जापानमा समस्यामा परेका नेपालीहरुमा पुर्‍याएको सहयोग तथा नेपालमा गरिएको सामाजिक क्षेत्रमा गरिएको सहयोग सहित पररास्ट्र मन्त्रालयमा बुझाएको ज्ञापनपत्र लगायत बिषयमा भए गरेका कार्यप्रगतिको बारेमा अवगत गराइएको प्रवक्ता लामिछानेले बताए ।

एनआरएनए जापानले जुलाई महिनाको अन्तिम सातातिर राजधानी टोकियोमा आयोजना गर्न लागिएको नेपाल फेस्टिवलको बारेमा पनि राजदूतावासलाई जानकारी गराएको थियो । राजदूतावासको तर्फबाट कार्यबाहक राजदुत जोशीले फेस्टिवल आयोजनामा आवश्यक सबै प्रकारको साथ र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
“एनआरएनए जापानले आयोजना गर्ने सबै सामाजिक र रचनात्मक खालका कार्यक्रममा राजदूतावासको सहयोग र साथ रहन्छ”कार्यवाहक राजदूत जोशिले भने-नेपाली समुदायलाई एक ढिक्का बनाउंदै एनआरएनए जापानका आफ़ना गतिविधि संचालन गरेर एकताको सन्देशमार्फ़त अघि बढ्न सक्नु नै आजको आवश्यकता हो ।

उक्त भेटमा एनआरएनए जापानका अध्यक्ष पौडेलले मार्च ५ तारिख आयोजना गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ जापानको क्षेत्रीय भेलामा राजदूतावासको तर्फबाट सहभागिताको लागि आमन्त्रण समेत गरे।

छलफलमा राजदूतावासको तर्फबाट द्वितिय सचिव जीत बहादुर कार्की, तृतिय सचिव प्रेम बराल र एनआरएनए जापानको तर्फबाट अध्यक्ष पौडेल सहित वरिष्ठ उपाध्यक्ष नविन न्युरे, उपाध्यक्ष राम थापा अनिल, सचिव एलिशा केसी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?