२० वर्षदेखि बागलुङमा व्यापार गर्ने जुम्लीहरु

-


     रामबहादुर थापा    
     फागुन १० गते २०७८


हिउँदमा विद्यालय बन्द भएपछि बुबाको साथ लागेर तीर्थराज खत्री सहर र मधेश झर्थे । उनका बुबा रतनबहादुर घुमन्ते व्यापारी थिए । राडीपाखी बेच्न आफ्ना बाउबाजेहरु भारतसम्म पुग्ने गरेको खत्रीले सुनाए ।

“चार कक्षा पढ्दा बुबासँगै भारतको फैजावाद गएको मलाई याद छ, जुम्लाका व्यापारीहरु सिक्किम, आसामसम्म पुग्थे”, खत्रीले भने, “तराईतिर जाँदा उखु, भेली खान पाइने, खुब रमाइलो हुन्थ्यो ।”

खत्रीका बुबा रतनबहादुर बितिसके । तर, उनले छाडेको व्यापारको विरासत छोराहरुले धानिरहेका छन् । ४२ वर्षीय खत्री जुम्ला, सिँजादेखि बागलुङ झरेको २० वर्ष हुन लाग्यो । राडीपाखी बेच्न घुम्दैफिर्दै उनी विसं। २०५८ तिर यहाँ झरेका थिए ।

“अहिले सपरिवार यतै छौँ, खेतीबाली लगाउने र भित्राउने बेलामा जुम्ला जान्छौँ”, खत्रीले भने, “पुरानो व्यापार छोड्न सकिएन, यसकै आयस्ताले गुजारा चलेको छ ।”

उनकी श्रीमती, दुई छोरी र एक छोरा साथमा छन् भने दुई छोरी भने सिँजामै बस्छन् । बालबच्चाको पढाइदेखि घरको खर्चपर्च त्यही व्यापारले धानेको छ ।

खत्रीका भाइ मायाराम पनि यहीँ बसेर व्यापार गर्छन् । एकिन नभएपनि बागलुङ बसेर व्यापार गर्ने जुम्लीहरुको संख्या दश भन्दा बढी रहेको उनले उल्लेख गरे । घुमन्ते व्यापारीहरु सामान आफैले बोकेर बेच्न गाउँगाउँसम्म धाउँछन् ।

याम अनुसार बेच्ने सामान पनि बेग्लाबेग्लै हुन्छ । जाडोमा राडीपाखी, बख्खु, घुम, गलैँचा आदि बेच्छन् । वर्षात्मा त्रिपाललगायत गर्मी यामका पहिरन÷सामग्री बेच्न हिँड्छन् । पछिल्लो समय राडापाखीको व्यापार भने खस्कदैँ गएको खत्रीको अनुभव छ ।

“माथितिर भेँडापालन कम भयो, सबै कमाउन र पढ्न भनेर सहर झर्न थाले, राडीपाखीको उत्पादन घट्यो”, उनले भने । बजारमा सस्तो मूल्यमा उस्तै सामग्री पाइन थालेपछि परम्परागत उत्पादनको माग घट्दै गएको खत्रीले बताए ।

उपभोक्ताको रोजाइमा राडीपाखीको सट्टा गलैँचा, कम्मल आदि पर्न थालेको छ ।

खत्रीले आफूहरुले जुम्लामै बनेको राडीपाखीलाई रु ३५ सयदेखि चार हजारसम्ममा बेच्ने गरेको सुनाए । राडीपाखी, बख्खुलगायत जुम्लाबाट ल्याउने गरेपनि अरु सामान नेपालगञ्ज र काठमाडौँबाट आउने गरेको उनको भनाइ छ ।

कर नतिरेको, घुमन्ते शैलीमा मनलाग्दी रुपमा सामान बिक्री गरेको आदि आरोप लाग्न थालेपछि खत्रीले ‘तीर्थराज फेन्सी’का नाममा व्यवसाय दर्ता गरेका छन् । उनी बागलुङ उद्योग वाणिज्य सङ्घको साधारण सदस्यसमेत हुन् ।

काठमाडौँमा प्रविणता प्रमाणपत्र तहको अध्ययनलाई बीचैमा छाडेर व्यापार रोजेका खत्रीले बाउबाजेले गर्दै आएको व्यापारको परम्परागत शैलीलाई आफूले पछ्याएको बताए । “आर्थिक अवस्थाका कारण धेरै पढ्न सकिएन, केही न केही गर्नै प¥यो, घरपरिवार चलाउनुप¥यो”, उनले भने ।

सिँजाकै भक्तिप्रसाद जैसी पनि बागलुङ आएको १२ वर्ष भयो । उनको पनि जुम्ला आउजाउ त चलि नै रहन्छ । गहुँ, जौ लगाएपछि त्यहाँका व्यापारीहरु तल पहाड र सहरतिर झर्ने गरेको जैसीले बताए ।

उनको पनि बढी जसो समय अहिले बागलुङमै बित्छ । वर्षको एक÷दुईफेर मात्र उनी जुम्ला पुग्छन् । जैसीका भाइसाथीमध्ये कतिले परिवारनै अस्थायी रुपमा यतै सारेका छन् । कोही भाडाको कोठा खोजेर एक्लै बस्छन् । बसाइ बागलुङ सदरमुकाम भएपनि सामान बेच्न पर्वत, म्याग्दीका गाउँसम्म पुग्छन् ।

जिल्लामै डेरा बसेर व्यापार गर्ने जुम्लीहरु पनि छन् । पोखरामा त त्यो संख्या अझ ठूलो छ । सानो छँदा बुबाहरुसँगै गाउँठाउँ डुल्दा व्यापारमा मन गएको जैसीले सम्झे ।

“मौसम अनुसार जे माग हुन्छ, त्यही सामान लिएर बेच्न हिँड्छौँ”, उनले भने, “घरघर डुल्दा कहिलेकाहिँ गाह्रो पनि हुन्छ, तर कमाइ आउँदा सबै दुःख भुलिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?