टोरन्टो। नेपालको संविधान दिवस अवसरमा अन्टारियो प्रान्तको संसदमा नेपालको झन्डा फहराइने भएको छ।
सेप्टेम्बर २३ बिहीबार टोरण्टोस्थित प्रान्तीय संसद भवनमा मध्याह्न १२ बजे नेपाली झन्डा फहराउन लागिएको एनआरएनए क्यानाडाले जनाएको छ।
बहुसांस्कृतिक देश क्यानाडाको अन्टारियो सरकारले देशको विशेष दिनको अवसरमा वर्षको एकपटक झन्डा फहराउन सक्ने व्यवस्था गरेको छ। विभिन्न देशको संस्कृति र राष्ट्रियताको सम्मानको लागि यस्तो व्यवस्था गरिएको बताइएको छ।
क्यानाडामा रहेका र विभिन्न देशबाट यहाँ आएका नागरिक, स्थायी बासिन्दा, विद्यार्थी तथा अन्य नागरिकको सम्मानमा संसद भवनमा उक्त देशको झन्डा फहराइने गरेको मिसिसागा माल्टन क्षेत्रका एमपिपी दिपक आनन्दले बताएको एनअरएन क्यानाडाले जनाएको हो।
संसद भवनमा झन्डा फहराउने कार्यक्रमको प्रारम्भ टोरन्टोका लागि नेपाली अवैतनिक महावाणिज्यदूत कुन्जरमणि शर्माको पहलमा भएको थियो। यस कार्यक्रमको व्यवस्थापन भने गैरआवासीय नेपाली संघ क्यानाडाले गर्ने छ।
कोभिड–१९ महामारीका कारण त्यस कार्यक्रममा बढीमा ३० जना मात्र उपस्थितिका लागि संसद सचिवालयले अनुमति दिएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुकले सेप्टेम्बर २२ बुधबार सम्ममा नाम दर्ता गराउन एनआरएन क्यानाडाले अनुरोध गरेको नेपाल टच डट कमले लेखेको छ ।