काठमाडौं : आइतबार जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व, धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउने प्रचलन छ ।
यस दिन आत्मशुद्धि र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै दिदी बहिनीले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँध्ने समेत चलन छ ।
त्यस्तै स्नान गरी ब्राह्मणले मन्त्रेको जनै पनि लगाउने चलन छ । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, चना, सिमी, बोडी लगायत नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।
बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायत धार्मिक क्षेत्रमा श्रद्धालु भक्तजनको घुईंचो लागेको छ ।
आइतबार नै संस्कृत दिवस पनि मनाइंदै छ।
“जानाति विविधाः भाषाः जानाति विविधाः कला ।
आत्मानं नैव जानाति यो न जानाति संस्कृतम् ।।”
अर्थात् विभिन्न भाषा जानेको, अनेकौँ कला सिकेको मान्छेले पनि संस्कृत बुझ्न सकेन भने उसले ’आत्मा’लाई नै चिन्न सक्तैन।
“संस्कृतका बहुआयामिक पक्ष ५ प्रतिशत कर्मकाण्डलाई छुट्याउँदा ९५ प्रतिशत ‘संस्कृत’ त दर्शन, कानुन, विज्ञान, साहित्य, इतिहास, व्याकरण अनि ध्वनि विज्ञानको आधारस्तम्भ भएर नै रहेको छ । अहिले विश्वका २५० विश्वविद्यालयहरूमा संस्कृतमा अध्ययन–अध्यापन भइरहेका छन् । वैज्ञानिक, प्राविधिक एवं दार्शनिक क्षेत्रमा पतञ्जलिको योगदान कसरी भुलिएला र ?” मनोचिकित्सक डा. अजय रिसालले भने।