
सबैले माया गरेर बोलाए पनि, गाली गरेर बोलाए पनि एउटै नाम हो “लोर्के” । लोर्के दाइ गल्कोटको जिउँदो ईतिहास हो । कसका भारी बोकेनन् होला र लोर्के दाइले गल्कोटमा ।सायदै मान्छे पाईदैन होला लोर्के दाइले सेवा नगरेको ।उनको अर्को बिशेषता हो नरिसाउनु । उनी कहिल्यै कसैसंग रिसाउन जानेनन् ।मान्छेमा रिश ,ईर्श्या र हाँसो जन्म जात गुण हुन् तर यी लोर्के दाइमा सँधै खिस्स हास्ने हाँसो बाहेक अरू कसैले भेटेन होला । उनी अहिले पनि उस्तै स्वभावका छन् ।
उमेरले ८० बसन्त काटेका लोर्के दाइ अहिले पनि घाँस बोक्छन् , साना तिना अरूका भारी बोक्छन् । सबैले माया गर्ने लोर्के दाइलाई जसले जे दिए पनि सहजै लिन्छन् । सायद अहिले गल्कोटमा यति माया पाउने मान्छे कोही छ भने त्यो लोर्के दाइ नै हो । त्यसैले उनलाई गल्कोटको जिउँदो इतिहास भन्दा पनि फरक पर्दैन ।
बच्चादेखि बुढासम्म ,छोरादेखि ,बुहारी ,नाती ,नातिनीहरूले पनि अहिले पनि लोर्के भनेरै बोलाउँछन् रे । कस्तो पपुलर नाम हो यो “लोर्के “ । उनीसँग ठूला ठूला घर गोठ ,बंगला छैनन् ,त्यो त पहिले नै साहुले खाईदिएका थिए रे ।तर उनको त्यो सेवाको अथाह सम्पति कसैले लुट्न सकेन र त अहिले पनि उनी उत्तिकै धनी छन् गल्कोटमा “लोर्के” नामले । जो सँग धन सम्पत्ति छ उसलाई चिन्न गाह्रो छ तर उनी सँग अहिले पनि एउटा थेगो मात्रै छ “हजुर “ भन्ने । त्यही उनको सम्पत्ति हो । टाउको ओत्ने सानो घर छ ; बस त्यो भन्दा बढि केहि छैन । तर सबैको प्यारो मान्छे लोर्के दाइसँग भेट्ने ,बस्ने ,कुरा गर्ने र सेवालिने मौका अहिले पनि मिल्यो । स्यालुट छ लोर्के दाइ तिमीलाई ।

कति पवित्र मन छ लोर्के दाइको ।ऊ भित्र छल छाम , कपट ,जाल ,झेल केहि छैन । एउटा अबोध बालक र लोर्के दाइमा केहि फरक पाइदैन ।मानव समाजमा यस्ता मान्छे बिरलै जन्मिन्छन् । चार छोराको बाबु बनेका लोर्के दाइ अहिले कान्छो छोरासंग बस्छन् ।
२००१ सालमा जन्मेका लोर्के दाइको नागरिकतामा २००५ बनाई दिएर ४ बर्ष बृद्ध भत्ता खानबाट बन्चित भएको कहानी सुनाउछन् लोर्के दाइ । यो उमेरसम्म पनि खासै रोगले नछोएका लोर्के दाइ हाँसी मजाकमा पनि नजानिदो तरिकाले पोख्त देखिन्छन् ।
कुनै रोग नभए पनि उमेरसंगै बुढेसकाल लागेकोमा दुखेसो भने पोख्छन् लोर्के दाइ । बैंश नै प्यारो हुँदो रहेछ ।शरिर प्यारो त बुढेसकालमा पनि हुन्छ ।केहि गर्न खोज्दा ,हिड्न खोज्दा हात खुट्टा गल्न थाले बाबु भन्छन् लोर्के दाइ । यिनीसंग अनौपचारिक रूपमा गरिएका कुराकानीमा पनि कति सरलता र अबोधता भेटिन्छ । उनी जसले जे भने पनि “हजुर “ भन्दै आज्ञाकारी भैदिन्छन् । मैले सक्दिन , गर्दिन कहिल्यै कसैलाई नभनेका लोर्के दाइले अहिले पनि कसैलाई सहयोग गर्न तम्सिन्छन् ।
कति पवित्र मन छ लोर्के दाइको ।ऊ भित्र छल छाम , कपट ,जाल ,झेल केहि छैन । एउटा अबोध बालक र लोर्के दाइमा केहि फरक पाइदैन ।मानव समाजमा यस्ता मान्छे बिरलै जन्मिन्छन् ।
अब त उमेरका कारणले पनि ठूला ठूला भारी बोक्न सक्दैनन् तैपनि दैनिक जसो बरेखानी ,चालेसेटोला लगायतका वरपरका गाउँहरूमा हिडेर जाने गर्छन् । बरेखानी ,चालिसेटोला लगायतका गाउँहरूबाट घाँस दाउरा बोक्दा रहेछन् । अरू ब्यक्तिहरूलाई पैसा लिने भए पनि यिनले केहि मागेभने गाउँलेले पनि आफ्नो श्रद्धाले केहि दिइहाल्छन् । घरमा जे पाकेको छ त्यो खाउ दाइ भनेर सबैले दिन्छन् ।जता गए पनि माया नै माया पाउने मान्छे धन र पदले ठूलो हुने भन्दा पनि महान हुन्छ जस्तो लाग्छ ,यिनलाई देखेर ।
बैंशमा पनि कसैसँग लडाई झगडा नगरेका यी सोझा मान्छे देख्दा पृथ्वीमै यस्ता मान्छे बिरलै पाईन्छन् जस्तो लाग्छ । राम्रो पहुँच हुने हो र प्रचार प्रसार गरिदिन सक्ने हो भने यिनको सेवा गिनिज अफ वर्ल्ड रेकर्डमा नाम दर्ज हुने थियो जस्तो लाग्छ । यो बिषयमा कसैले पहल गरिदिने हो भने नेपाल त्यसमा पनि बाग्लुङ ,अझै गल्कोट ,अझै बिशेष रूपमा मल्मको नाम रोशन हुने थियो ।कोहि राम्रो लेखकले उनका बिषयमा थेसिस या पि एच डि गर्न सक्छ ।
एउटा नेता ,बहादुर लाहुरे या धनाढ्य या समाजसेवीका नाममा आफ्ना सोध गर्ने बिद्यार्थीले यिनका बिषयमा पनि राम्रो अध्ययन गरेर सेवाको महत्वका बिषयमा राम्रो ज्ञान दिन सक्छ जस्तो लाग्छ । भेटका क्रममा हामीले गरेका अनौपचारिक र अब्यबस्थित कुराकानीको सानो अंश सुन्दा पनि सबैले धेरै बुझ्न सकिन्छ ।
गाउँ घरमा अहिले पनि अझै बिबाह गरेको पहिलो दशैंमा माईती/ ससुरालीमा केरा कुराउनी पठाउने चलन छ । पहिले त यति पाथी कुराउनी र यति घरी केरा चाहिन्छ भनेर माग गर्ने चलनै थियो । घर माईतको खान्दानी क्षमता जाँच्ने एउटा कढीका रूपमा पनि यसलाई हेरिन्थ्यो ।तर अहिले भने बिभिन्न परिस्थितिले त्यो मान्यता लोप हुँदै गइरहेको छ ।त्यस्तो अबस्थामा गल्कोटमा केरा कुराउनी बोक्नका लागि बिशेषत पाइएसम्म लोर्के दाइलाई खोजिन्थ्यो ।

बिबाहका दिन दुलही बोकेर घर भित्र्याउने चलन पनि थियो । अलि हुने खानेले तामदानी , घोडा आदिको ब्यबस्था गर्थे भने नसक्नेले बोकाएर ल्याउने चलन थियो । त्यो बेला पनि प्राय : घर्ती ,खत्रीहरूलाई खोजिन्थ्यो ,त्यो पनि नभएमा मल्ल ठकुरी र बाहुन बाहेकका जातीहरूलाई खेजिन्थ्यो ।त्यसैले पनि लोर्के दाइ सबैको रोजाईमा पर्थे ।
उनी भारी बोक्ने रोजाईमा पर्नुमा उनको गरिबी, उनको सिधापन र ज्याला बोल कबोलमा सस्तो र बडप्पन नहुनु थियो ।जसले जे दिए पनि सजिलै लिईदिने स्वभाव, नगद भन्दा जिन्सीमा चित्त बुझाउने ,कोदो मकै जस्ता अन्नहरू लिन मान्ने ,जे जस्तो घरमा पाक्छ त्यही खाना सजिलै खाइदिने , कसैसँग नझर्किने ,नरिसाउने ,सँधै “हजुर “ मात्रै भन्ने बानी नै सर्व प्रिय थियो र अहिले पनि छ ।
बैंशमा पनि कसैसँग लडाई झगडा नगरेका यि सोझा मान्छे देख्दा पृथ्वीमै यस्ता मान्छे बिरलै पाईन्छन् जस्तो लाग्छ । राम्रो पहुँच हुने हो र प्रचार प्रसार गरिदिन सक्ने हो भने यिनको सेवा गिनिज अफ वर्ल्ड रेकर्डमा नाम दर्ज हुने थियो जस्तो लाग्छ । यो बिषयमा कसैले पहल गरिदिने हो भने नेपाल त्यसमा पनि बाग्लुङ ,अझै गल्कोट ,अझै बिशेष रूपमा मल्मको नाम रोशन हुने थियो ।
पहिले कुराउनी घोट्नका लागि सबै गाउँहरूमा गएर दुध उठाउने चलन थियो ।अरूलाई पर्दा दिने र आफुलाई पर्दा लिने चलन थियो । सबैका घरघरमा दुहुना गाई भैंसी पालिन्थ्यो । अधिकांश गाउँलेहरू खेती किसानीमा निर्भर हुन्थे । अहिले जस्तो बिदेश पलायन हुने चलन थिएन । बिदेशको नाममा केहि हट्टा कट्टा युवाहरू छाती नापेर ,बेलायत ,हङकङ ,मलाया र फोकल्याण्डमा उनीहरूका लागि लड्न जाने चलन थियो । त्यस्तै भारतमा पनि गोर्खाका नाममा भर्ती हुने चलन थियो र अध्याबधिक छ । गोर्खा भर्तीको बिरोध गर्ने ,असमान सन्धी सम्झौताको बिरोध गर्दा गर्दै पनि कति युवाहरू भर्ती भएर जान्थे । त्यही थियो रोजगारी र धनी हुने श्रोत ।
मलायाको लाहुरे भनेपछि सबै हिरिक्क हुने चलन थियो । नेपालीले प्रथम र द्वितीय बिश्वयुद्धका बेला बहादुरी देखाएका थुप्रै ईतिहास पनि छन् । ती सबै मजबुरीका कारक हुन् ।त्यसबाहेक कोठी होटल र दरबानमा काम गर्न जान्थे भारतमा ।भारतमा पनि गोर्खे र बहादुरका नामले चिनिन्थे नेपाली । भारतीयहरूले हेय भावका हिसावमा पनि गोर्खे भन्ने गर्थे । कुल्ली र सफाईका काममा पनि भारतमा गएर काम गर्थे ।त्यस बाहेक अधिकांश नेपाली खेती किसानी मै निर्भर थिए र त दशैंमा केरा कुराउनी बोक्न बोकाउन पाईन्थ्यो । लोर्के दाइ र उनी जस्ताको काम आईरहन्थ्यो ।
उनको गरिबी गल्कोटेको सेवा गर्ने माध्यम बन्यो लोर्के दाइको । सम्पत्ति साहुले खाइदिए पछि गरिब बनेका लोर्के दाइले आफ्ना लालाबाला पाल्ने साधन नै ज्याला मजदुरी बनाए । जवानीमा हट्टा कट्टा भएकै कारण उनलाई लोर्के भन्ने गरेका हुन् सबैले । उनको बास्तबिक नाम भने अर्कै छ ।
जीवन र भारी, भारी र लोर्के दाइ ; यिनका पर्याय हुन् ।”सिमली छायामा ,भरिया लामो स्वास फेरेको ,उमेर भैसक्यो असी ,झन ठूला दु:खले घेरेको “भन्ने जीवन शर्माको गीतकै चरितार्थ बने लोर्के दाइ । चाँडै श्रीमती गुमाएका लोर्केदाइ जीवनको उत्तरार्धमा एक्लै जीवन कटाई रहेछन् । खान त छोरा बुहारीले दिन्छन् तर ए लोर्के , ए लोर्के, लोर्के जस्ता शब्दका तीखा बाँण हान्छन् रे । तर पनि उनीमा रिस भने पटक्कै छैन रे ।उल्टो खिस्स हाँसेर उडाई दिन्छन् र सन्तान र परिवार प्रतिको अगाध माया देखाउछन् रे ।

गल्कोटमा जन्मेका उनी सायदै बच्चा देखि बुढासम्म नचिन्ने कोही छैन होला ।सम्पत्ति भनेको नै यहि रहेछ जस्तो लाग्छ ।कतिपय धनाढ्य ब्यक्ति छन् ती ब्यक्तिलाई कसैले चिन्दैन । जो सँग केहि छैन ,भारीकै भरमा घरपरिवारको रथ हाँके उनलाई आज सबैले चिन्छन् माया गर्छन् ,मिठो मुखले बेलाउँछन् ,गाली गर्दैनन् ,घरमा जे पाकेको छ त्यो खान दिन्छन ,फेरी आए है दाइ भन्दै केहि चिज जस्तै घाँस दाउरा आदि दिएर पठाउँछन् । उनले पनि सहजै स्वीकार गरेर लिन्छन् ।
साहुले उनको सम्पत्ति हडपेर माग्ने अबस्थामा पुर्याएका हुन् रे भन्ने सुनिन्छ ।त्यस पछि गाउँका साहु ,ठकुरीको सेवा गर्दै आएका हुन् रे भन्ने सुनिन्छ । उनलाई एक स्टेप तल झारेर सेवा गर्ने जात बनाएको भन्ने पनि सुनिन्छ । उनको परिवार पहिला धनी परिवार थियो रे पछि टाठा बाठाले सम्पत्ति हड्पेर खान नपुग्ने अबस्थामा पुर्याईदिएका हुन् रे । यसबारे अझै अध्ययन गरेर लेखौंला ।
उनको गरिबी गल्कोटेको सेवा गर्ने माध्यम बन्यो लोर्के दाइको । सम्पत्ति साहुले खाइदिए पछि गरिब बनेका लोर्के दाइले आफ्ना लालाबाला पाल्ने साधन नै ज्याला मजदुरी बनाए । जवानीमा हट्टा कट्टा भएकै कारण उनलाई लोर्के भन्ने गरेका हुन् सबैले ।
एउटा बहादुर लक्का जवानले समाजका बेथितिसँग लड्न सकेको भए गल्कोटमा क्रान्तिको ज्वारभाटा उठ्थ्यो होला ,उनको नेतृत्वमा ।त्यो गर्न नसक्दा सँधै ईमान्दार भरिया बनेर भारी बोकेर जीवनको उत्तरार्ध सम्म आईपुगे ।आफ्नै परिवारले गरेको ज्यादतीका बिरूद्ध जेहाद छेंडेर सँघर्ष गरेर निस्केका चित्र बहादुर केसीको राजनीतिक उचाई आज देश बिदेशमा समेत प्रख्यात छ । के. सी. जी बिचार सिद्दान्त र ईमानको राजनीतिका लागि गल्कोट ,देश र अन्तराष्ट्रिय रूपमा समेत सतीसाल हुन् । त्यस्तो बिद्रोह गरेको भए लोर्के दाइ र लोर्केदाइ जस्ता भरियाको जिवनमा पनि परिवर्तन देख्न पाइन्थ्यो होला । तरै पनि गल्कोटमा उनलाई नचिन्ने कोही छैन ।
उनी मेरो बाबा ,आमा ,फुपुहरू काकाहरूका समकक्षी र दाँवली पनि भएका कारण मेरो बाबा आमाको चौरासी पूजामा आएर घन्टौं भलाकुसारी गरे । बचपनका , बयस्कका कुराकानी गरेर र रमाए । त्यसै शिलशिलामा मैले पनि उनीसँग केहि कुरा गर्ने अबसर पाएँ । उनी निकै खुशी भए,रमाए । उनका प्रति धेरै त कुनै बिद्यार्थीले सोध पत्र लेख्यो भने लेख्ला । तर मैले त उनको जीवन भोगाई प्रति सम्मान गर्दै लाखौं लाख श्रमजिवी जनताका प्रतिनिधि पात्रका रूपमा नसोधी केही शब्दहरू लेखेर सम्मान गरेको मात्रै हुँ । उनका बारे केहि तथ्यहरू भए सबैले मेन्सन गरिदिनु होला ।फेरी एक पटक स्यालुट छ लोर्के दाइ तिमीलाई ।



