एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

- माधवकुमार नेपाल समूहले पार्टी एकतामा जोड

-


     जनहित न्युज    
     श्रावण ६ गते २०७८


नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २२ सांसदहरुलाई स्पष्टिकरण सोधिएको छ । स्पष्टिकरण पत्रमा कुनै सदस्यलाई ४ गते र कुनैलाई ५ साउनको मिति राखेर स्पष्टिरकण सोधिएको छ । 

शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो।  अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले स्पष्टीकरणमा सो विषय उल्लेख गरिएको छैन । २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी प्रश्न सोधिएको छ ।

पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको आरोप लगाइएको छ । 

३ साउनमा प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएका  थिए । जसमा नेता नेपाल पक्षका १४ र ओली पक्षका ८ जनाले  पक्षमा मतदान गरेका थिए । उनीहरूलाई कारबाही नगरे एमाले पार्टी नरहने भन्दै अध्यक्ष ओलीले ४ साउनको केन्द्रीय कमिटी बैठकमा भनेका थिए । 

स्पष्टीकरण पत्रमा पार्टी विधानको धारा ४९ (क), १, २, ३, ४, ५, ६, ७ र ४९ (च)  विपरीत अनुशासनहीन गतिविधि गरेको, पार्टीको मर्यादामा आँच पुर्‍याएको र पार्टी निर्णय र निर्देशन विपरीत आफ्ना क्रियाकलाप जारी राखेकाले पार्टीबाट किन नहटाउने भन्ने प्रश्न गरिएको छ । 

प्रधानमन्त्री देउवालाई एमालेका सांसदहरू माधव कुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विसुंखे, हिराचन्द्र केसी, किसान श्रेष्ठ, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पार्टीको निर्देशन विपरीत विश्वासको मत दिएका थिए ।

माधवकुमार नेपाल समूहले पार्टी एकतामा जोड

नेकपा एमालेको माधव नेपाल पक्षले आफ्ना नेताहरूलाई लक्षित गर्दै अर्को पक्षबाट भएको उत्तेजक गतिविधि र नाराबाजीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

 बुधबार काठमाडौंमा बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्ने एवम् पुत्ला जलाउने काम भइरहेको भन्दै पार्टी अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराउने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?