
टोकियो – भूकम्प गइरहने देशको चिनारी पाएको जापानको राजधानी टोकियो आसपासलाई केन्द्रबिन्दु पारेर निकट भविष्यमा ठूलो भूकम्प जाने भूकम्पविद्हरूको प्रक्षेपण छ । प्राकृतिक प्रकोपलाई रोक्न नसकिएता पनि त्यसबाट हुने क्षतिलाई कम गर्न भने अवश्य सकिन्छ । तर त्यसका लागि पूर्व तैयारी र उच्च सतर्कता भने अवश्य जरुरी हुन्छ ।
त्यसैका लागि बर्सेनि ठूलो बजेट खर्च गरेर जापान सरकारले मातहतका विभिन्न निकायहरू मार्फत त्यस सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम गर्दै आइरहेको छ । यसै सन्दर्भमा टोकियो महानगरीय सरकारले यहाँ रहेका विदेशीहरूलाई लक्षित गरी प्राकृतिक प्रकोपजन्य घटनाबाट कसरी बच्न सकिन्छ र यसबाट हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले Disaster Prevention Museum Tour नामक एक सचेतनामूलक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम आगामी जुलाई १६ तारिख आइतबारका दिन हुने बताइएको छ । नेपाली र भियतनामी भाषाका सहजकर्ताको सुविधासमेत रहेको सो कार्यक्रम बिहानी सत्र र अपराह्न सत्र गरी दुई सत्रमा विभाजन गरिएको छ । बिहानीको सत्र १०:२० बजेदेखि १२: १५ बजेसम्म हुने छ भने अपराह्नको सत्र १४:१० देखि १६:०५ बजेसम्म हुने बताइएको छ ।

होन्जो बोसाईकान (4-6-6 Yokogawa, Sunida-Ku) मा हुन गइरहेको उक्त कार्यक्रममा भाग लिनका लागि जुन १९ देखि जुलाई ९ तारिखसम्ममा अनिवार्य आफ्नो नाम दर्ता गराउनुपर्ने छ ।यसप्रकारका सचेतनामूलक कार्यक्रम हरेक वर्ष गर्दै आइरहेकोमा बितेका २, ३ वर्ष भने कोभिड-१९ का कारण स्थगित गर्नुपरेको बताइएको छ । विज्ञहरूका अनुसार टोकियो आसपासका क्षेत्रलाई केन्द्रबिन्दु बनाई निकट भविष्यमै ठूलो भूकम्प जाने प्रक्षेपण गरिएको छ, त्यसप्रकारका प्रकोपबाट आफू पनि बच्न र अरूलाई पनि बचाउँदै जतिसक्दो क्षति कम गर्नेबारे व्यवहारिकरुपमै सिकाउने उद्देश्यले विदेशीहरूलाई लक्षित गरी आयोजित उक्त निःशुल्क कार्यक्रममा सहभागी भई मौकाको फाइदा उठाउन अपिल गरिएको छ ।
कार्यक्रममा भूकम्पको धक्काको महसुस गराइनुका साथै, भूकम्पपश्चात् हुने सम्भावित आगलागीबाट बच्न, बचाउन, आगो निभाउन वा धुवाँको मुस्लो छल्दै भाग्न सिकाइने छ । यसैगरी भूकम्पपश्चात् सम्भावित सुनामी वा बाढीबाट ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भाग्न पनि सिकाइने छ ।
एक सत्रमा जम्मा १५ जना सहभागीले भाग लिन सकिने सो कार्यक्रममा सहभागीहरूलाई आयोजक महानगरपालिकाले उपहार पनि दिने बताइएको छ । सहभागीहरूको सङ्ख्या क्षमताभन्दा बढी भएमा गोला प्रथाबाट सहभागीको छनौट गरिने बताइएको छ । टोकियो महानगरीय क्षेत्रमा ५ लाख ८० हजार विदेशीहरू रहेको र उनीहरूप्रति लक्षित यसप्रकारका सचेतनामूलक कार्यक्रम नियमित गरिने योजना रहेको आयोजकको भनाई छ ।***
- कार्यक्रममा सहभागी हुन इच्छुकहरूले आफ्नो नाम दर्ता गर्नका लागि यहाँ क्लिक गर्नुहोला :- आवेदन फारम