
नेकपा (माओवादी केन्द्र) ढोरपाटन नगरसमितिले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रत्येक वडामा चुनावी अभियान संचालन गर्ने भएको छ ।
आगामी सातादेखि नगरको सबै वडाको प्रत्येक गाउँ र टोलसम्म पुग्ने गरी उक्त अभियान संचालन गर्न लागेको नगर समितिका अध्यक्ष भिम गौतमले जानकारी दिए ।
शनिबार बुर्तिबाङ बजारमा बसेको नगर समितिको दोश्रो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । प्रत्येक वडामा बैठक,प्रशिक्षण,संगठन विस्तार र चुनावी लक्षित कार्याक्रम संचालन गर्ने निर्णय भएको नगर समितिका सचिव विरबहादुर घर्तीले नयाँ विश्वलाई बताए ।
अभियानमा जनता,नेता, कार्यकर्ता र पार्टीको शुभचिन्तकहरुको राय,सुझाव र सल्लाहलाई नगर पार्टीले उच्च प्राथमिकतामा राख्ने समितिले जनाएको छ ।
जनताकहाँ जाने अभियानले पार्टी संगठन सुदृढिकरणलाई मजबुत बनाउने,पार्टी कार्यदिशालाई तल्लो तहसम्म लैजाने र जनताको विकास संम्बन्धि भावना थाहा पाउन सार्थक बन्नेछ, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बागलुङको अध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’ ले भने,–‘हरेक गाउँ र टोलसम्म नेतृत्व पुग्ने छ ।
कार्यकर्ता र आम जनतासँग अन्तरक्रिया गछौं ,समस्या बुझछौं र समाधानको बोटो खोज्नेछौं ।’ उनले भने ।यस्तो गतिविधिले मात्र जनताको भरपर्दो शक्तिको रुपमा माओवादी पार्टीेलाई जनताको विचमा स्थापित गर्न आधार तयार गर्ने’ उनले बताए ।
नगर समितिले सबै वडाहरुमा बैठक आयोजना गरी स्थानीय तहको निर्वाचनका लागि विशेष रणनीति र अभियान तय गर्ने कार्यक्रम बनाएको छ ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशका सदस्य चन्द्र अर्यालको चुनावी रणनीति र ढोरपाटन नगर समितिको दायित्वको बारेका मन्तव्य व्यक्त गरेका थिए ।
बैठकमा सदस्यहरुले आफनो वडाको अवस्था र पार्टीले चाल्नु पर्ने कदमको बारेमा सुझाव दिएका थिए ।
कार्यक्रम नेकपा (माओवादी केन्द्र) ढोरपाटन नगरसमितिका अध्यक्ष भिम भौतमको अध्यक्षता र सचिव विरबहादुर घर्तीको संचालनमा सम्पन्न भएको थियो ।



