
टोकियो: जापानको प्रख्यात खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी ‘अजिनोमोटो’ (Ajinomoto) कर विवादमा तानिएको छ। टोकियो क्षेत्रीय कर ब्यूरोले कम्पनीलाई आफ्ना विदेशी व्यवसायहरूबाट प्राप्त आम्दानी कम देखाएको भन्दै भारी रकम जरिवाना तिर्न आदेश दिएको छ।
यद्यपि, कम्पनीले कर कार्यालयको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कानुनी प्रतिवाद (Objection) सुरु गरेको छ।
विवादको मुख्य कारण के हो?
समाचार एजेन्सीहरूका अनुसार टोकियो कर ब्यूरोले गरेको अनुसन्धानमा अजिनोमोटोले सन् २०२४ को मार्चसम्मको तीन वर्षको अवधिमा करिब १५ अर्ब जापानी येन (करिब ९ करोड ६२ लाख अमेरिकी डलर) बराबरको आम्दानी लुकाएको वा कम देखाएको ठहर गरेको छ।
यस बापत कम्पनीलाई करिब १ करोड ५४ लाख डलर (करिब २ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) अतिरिक्त कर वा जरिवाना तिर्न आदेश दिइएको छ।
कर कार्यालय र अजिनोमोटो बीचको मुख्य विवाद:
- थाइल्याण्ड कनेक्सन: कर अधिकारीहरूका अनुसार अजिनोमोटोले थाइल्याण्डमा रहेको आफ्नो एक ‘एफिलिएट’ कम्पनीमार्फत भएको आम्दानी रिपोर्ट गरेको छैन। कर कार्यालयले उक्त थाइ कम्पनी अजिनोमोटोकै सहायक कम्पनीको पूर्ण नियन्त्रणमा रहेको भन्दै यसमा जापानको ‘एन्टी-ट्याक्स हेभन’ (Anti-Tax Haven) नियम लागु हुने बताएको छ। तर, अजिनोमोटोले भने उक्त कम्पनीमा आफ्नो नियन्त्रण नरहेको दाबी गरेको छ।
- नाइजेरियाको घाटा: कर अधिकारीहरूले अजिनोमोटोको नाइजेरियास्थित सहायक कम्पनीमा देखाइएको ‘असाधारण घाटा’ (Extraordinary losses) को बुकिङलाई पनि अस्वीकार गरेका छन्।
कम्पनीको भनाइ: “हामीले कानुन पालना गरेका छौं”
कर कार्यालयको निर्णय सार्वजनिक भएपछि अजिनोमोटोले जापानी टेलिभिजन NHK लाई प्रतिक्रिया दिँदै आफूले बाह्य विज्ञहरूसँगको परामर्शमा कानुनसम्मत रूपमा कर तिरेको दाबी गरेको छ।
कम्पनीले कर कार्यालयको निर्णयमा पूर्ण असन्तुष्टि जनाउँदै ‘नेसनल ट्याक्स ट्रिब्युनल’ मा उजुरी दर्ता गराएको स्पष्ट पारेको छ।



