जापानमा नेपालीहरुको संख्या २ लाख ६ हजार ८९८, हरेक प्रिफेक्चरको अध्यावधिक तथ्यांक सहित

-


     जनहित न्युज    
     कार्तिक ३ गते २०८१


जापान सरकारको अध्यागमन ब्युरोले सन् २०२४ को जून अन्त्यसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ, जसअनुसार नेपालीहरू जापानमा छैठौ ठूलो विदेशी समूहको रूपमा रहेका छन्।

जापान सरकारको तथ्यांक अनुसार हाल संख्या २ लाख ६ हजार ८९८ नेपाली जापानमा बसोबास गर्छन्। यो संख्या सन् २०१२ देखि उल्लेखनीय रूपमा बढ्दै आएको छ।
तथ्यांक अनुसार सन् २०१२ देखि २०२४ सम्म नेपालीहरूको जनसङ्ख्या जापानमा निकै बढेको देखिन्छ। सन् २०१२ मा जम्मा २४,०७१ जना नेपालीहरू जापानमा बसोबास गर्थे, तर सन् २०२४ को जुन सम्ममा यो संख्या २ लाख ६ हजार ८९८ पुगेको हो । यो संख्या २०१२ देखि हालको अवधिमा लगभग आठ गुणा वृद्धि हो। यो वृद्धि नेपालबाट भाषा तथा उच्च शिक्षा अध्ययन गर्न जापान आउने नेपालीहरु बढ्नुको कारण एउटा मानिन्छ भने अर्को जापानमा बाल जन्मदर घट्दो र जेष्ठ नागरिकहरु बढ्दो हुनुले श्रम बजारमा विदेशी कामदारहरूको मागसँग पनि जोडिएको छ, विशेषगरी उत्पादन, नर्सिंग केयर, कृषि र सेवा क्षेत्रमा नेपालीहरु कार्यरत छन्।

सन् २०१७ पछि पनि जनसङ्ख्या निरन्तर रूपमा बढ्दै २०१८ मा ८८ हजार ९५१ र २०१९ मा ९६ हजार ८२४ पुगेको थियो। यद्यपि, सन् २०२० मा जनसङ्ख्या थोरै घटेर ९५,९८२ पुगेको थियो, जुन COVID-19 महामारी र त्यससँगै आएको आवागमन प्रतिबन्धको कारण सबै विदेशीहरु घटेतापनि नेपालीहरु भने तुलनात्मक हिसाबले कम घटेको देखिन्छ। २०२१ मा यो जनसङ्ख्या फेरि बढेर ९७,१०९ पुगेको थियो।

सबैभन्दा ठूलो वृद्धि सन् २०२१ र २०२२ बीच देखिएको थियो, जहाँ जनसङ्ख्या ९७,१०९ बाट १,३९,३९३ पुगेको थियो। यो वृद्धि जापानले आफ्नो सिमा पुनः खोल्दा र कामदार र विद्यार्थीहरूलाई जापान आउन दिएलगत्तै बढेको अनुमान गर्न सकिन्छ।सन् २०२३ मा, नेपालीहरूको जनसङ्ख्या १,७६,३३६ पुगेको थियो, र २०२४ मा यो संख्या २०६,८९८ पुगेको छ, जसले निरन्तर रूपमा वृद्धि भएको देखाउँछ। यसले जापानको अर्थतन्त्रमा नेपालका कामदारहरूको महत्त्वपूर्ण भूमिका मात्र नभएर नेपालका नागरिकहरूले शिक्षा र रोजगारीको लागि जापानलाई रोज्दै गएका संकेत गर्दछ।

प्रिफेक्चर अनुसार नेपालीको जनसंख्या

टोकियो- 43,148
ओसाका- 17,398
चिबा- 16,999
आईईची- 16,750
फुकुओका- 16,191
साइतामा- 14,066
कानागावा 13,631
ह्योगो – 7,963
गुन्मा- 5,587
सिज़ुओका- 5,502
ओकिनावा- 4,873
क्योतो- 4,667
इबाराकी- 3,425
तोचिगी- 3,414
मियामी- 3,099
मिए- 2,723
होकाइडो- 2,453
गिफु- 2,437
हिरोशिमा- 2,427
कुमामोतो- 1,602
नागासाकी- 1,426
ओक्यायामा- 1,399
नागानो- 1,393
सागा- 1,207
फुकुशिमा- 1,175
ओइता- 1,115
निगाता- 972
यामागुची- 961
यामानाशी- 954
नारा- 891
कागोशिमा- 732
सिगा- 694
ईशिगावा- 650
कागावा- 523
इहिमे- 484
मियाजाकी- 460
वाक़ायामा- 439
तोयामा- 403
फुकुई- 403
इवाते- 308
सिमाने- 273
तोकुशीमा- 272
यामागाता- 229
आओमोरी- 224

तोतोरी- 205

कोची- 143
आक़िता- 139
अन्य- 469

(जिज्ञानकुमार थापाको फेसबुक वालबाट साभार गरिएको हो ।-सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?