
नेपाली महिलाको चाड हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानद्वारा तिज तथा ऋषि पञ्चमी विशेष कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जापानमा रहेका कलाकारहरूको प्रस्तुति, पुरोहितसहितको पञ्चमी पूजा, नेपाली तीजमा गाइने मौलिक गीत,नृत्य चाडबाडमा लगाईने सस्कृति झल्किने नेपाली पोशाकसहितको नृत्य लगायतका प्रस्तुति प्रस्तुत गरिएको थियो ।
जापानमा रहेका नेपाली नारीहरूलाई हरितालिका तिजको नियास्रो मेटाउन र नेपाली सस्कृति परम्परालाई दोस्रो पुस्तामा हस्तान्तरण गराउने उदेश्यले सेप्टम्बर १९ तारिक मंगलबार टोकियोको कमाता स्थित चौतारो रेष्टुरेण्टमा उक्त कार्यक्रम सम्पन्न भएको कार्यकमकी संयोजक तथा एनआरएनए जापानकी सचिव चन्द्राकुमारी केसी अधिकारीले जानकारी दिइन ।
“जापानमा रहेका नेपाली दिदीबहिनीको सहभागितामा मनोरन्जनसगै शुभकामना आदान प्रदान गरी आत्मीयता, सद्भाव बढाउदै रितीरिवाज, सस्कृतिलाई जगेर्ना गर्न कार्यक्रम गरिएको हो ।”कार्यक्रम संयोजक केसीले भनिन-जापानमै जन्मेर हुर्कदै गरेका छोरा-छोरीहरूलाई तीजको मौलिकता बारेमा जानकारी गराइ त्यसको सिको गराउने गरि कार्यक्रमले राम्रो सन्देश छोडेको छ ।
‘हिन्दु नेपाली नारीले पञ्चमीमा गर्ने विषेश पूजाआजा ऋषि पञ्चमी पूजा हिन्दू परम्परा र पद्धति अनुसार नेपाली पुरोहितबाट जापानमा नै गर्न पाउदा छुट्टै आनन्दको अनुभूति भएको छ ।’ महिला उपाध्यक्ष डा एलिजा केसी भण्डारीले भनिन- “ दिदिबहिनीहरुसंग सामूहिक तीजको दर खाई तीज गीत र नृत्य सहित यसपालीको तिज जापानमा मनाउदा नेपाल भएझै लाग्यो।”
प्रवासमा रहेका नेपाली दिदीबहिनीललाई तीजमा माइतीको झल्को मेटाउने अनुभव गराउनुका साथै नेपाली सस्कृति र परम्पराको संरक्षण संवर्दनका लागि एनआरएनए जापानले यस खालका कार्यक्रमलाई महत्वका साथ लिएर गरेकोमा कार्यक्रमकी प्रमुख अतिथि अनिता गुरुङले बताइन । कार्यक्रममा इन्दिरा सुज़ुकी, कालिका थापा, कमला काप्री, सरिता ढकाल लगायतले तीजको महत्व र जापानमा भैरहेका कार्यक्रमले सस्कृति संरक्षणमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा जापानमा रहेका लोक तथा दोहोरी गीतका कलाकारहरुको पनि विशेष प्रस्तुति रहने महासचिव टिकाराम खरेलले जनाकारी दिए । कार्यक्रमले एक आपसमा सद्भाव, आत्मीयता बढाउन मद्दत पुर्याएको महासचिव टिकाराम खरेलले बताए ।
औपचारिक कार्यक्रम उपाध्यक्ष एलिजा केसी भण्डारीको अध्यक्षता सदस्य मन्जु मंजु गिरी बनको स्वागत र कार्यक्रम संयोजक चन्द्राकुमारी केसीको संचालनमा सम्पन्न भएको थियो ।





