
सत्तारुढ गठबन्धनमा महानगरपालिकामा भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक÷एक महानगरको नेतृत्व लिने सहमति गरेको हो ।
त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।
नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
सत्ता गठबन्धनमा महानगरको भागबण्डाका विषयमा सहमति भए पनि निर्णय भइसकेको छैन । सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
‘बैठकमा हरेक कोणबाट विचार आएका छन् सबै सकरात्मक रुपले अघि बढेका छन्’ उनले भने, ‘हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं ।’ आफूहरू ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उनले बताए ।
त्यस्तै, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पनि सहमति सकारात्मक भएको बताए । नेताहरूले सहमतिको माइन्युटमा हस्ताक्षर गर्न बाँकी रहेको उनको भनाइ छ । उनले महानगरको भागबण्डा टुङ्ग्याएको जनाउँदै अब उपमहानगरको पनि टुंगो लगाउने बताए ।
‘नेताहरूले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ । हस्ताक्षर नगरी भन्न भएन । उपमहानगरको पनि टुंगो लगाउँछौं,’ नेता गुरुङले भने ।
सत्ता गठबन्धनमा महानगर र उपमहानगरको सिटको भागबण्डा केन्द्रबाट मिलाउन सहमति भएको थियो । त्यसैले भागबण्डा मिलाउन सोमबारदेखि गठबन्धन दलको बैठक बस्दै आएको थियो ।



