
नेकपा माओवादी केन्द्र बागलुङ नगरसमितिले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रत्येक वडामा चुनावी अभियान संचालन गर्ने भएको छ ।
नगरको चौधौं वटै वडाको प्रत्येक गाउँ र टोलसम्म पुग्ने गरी उक्त अभियान संचालन गर्न लागेको नगर समितिका अध्यक्ष इन्द्र केसीले जानकारी दिए ।
शनिबार बागलुङ बजारमा बसेको नगर समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । प्रत्येक वडामा बैठक,प्रशिक्षण र चुनावी लक्षित कार्याक्रम संचालन गर्ने निर्णय भएको नगर समितिका सचिव राजु खड्काले नयाँ विश्वलाई बताए ।
अभियानमा तल्लो तहका नेता, कार्यकर्ता र पार्टीको शुभचिन्तकहरुको राय,सुझाव र सल्लाहलाई नगर पार्टीले उच्च प्राथमिकतामा राख्ने समितिले जनाएको छ ।
जनताकहाँ जाने अभियानले पार्टी संगठन सुदृढिकरणलाई मजबुत बनाउने,विचार विमर्शलाई तल्लो तहसम्म लैजाने र जनताको विकास संम्बन्धि भावना थाहा पाउन सार्थक बन्नेछ, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सदस्य राजीव घिमिरले भने,–‘हरेक गाउँ र टोलसम्म नेतृत्व पुग्ने छ ।
कार्यकर्तासँग अन्तरक्रिया गछौं ,समस्या बुझछौं र समाधानको बोटो खोज्नेछौं ।’ उनले भने । नगर समितिले आगामी १७ गते नगर समितिको विस्तारित बैठक आयोजना गरी स्थानीय तहको निर्वाचनका लागि विशेष रणनीति र अभियान तय गर्ने कार्यक्रम बनाएको छ ।
आज बसेको बैठकले नगरअधिवेशनमा छुटेका सदस्यहरुको सपथ ग्रहण गराउनुको साथै,प्रत्येक वडाको बैठक आयोजना गर्ने र नगर समितिको कोष निर्माण गर्ने निर्णय गरेको छ ।बैठकमा नगरसमतिका कोषाध्यक्ष धनमाया शर्माले आय व्यय प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा नेकपा माओवादी पार्टी गण्डकी प्रदेशका सदस्य चन्द्र बहादुर थापाले पार्टीको चुनावी रणनीति र पालिका स्तरीय समितिको दायित्वको बारेका मन्तव्य व्यक्त गरेका थिए ।
बैठकमा सदस्यहरुले आफनो वडाको अवस्था र पार्टीले चाल्नु पर्ने कदमको बारेमा सुझाव दिएका थिए ।
कार्यक्रम नेकपा माओवादी केन्द्र बागलुङ नगरसमिति अध्यक्ष इन्द्र केसीको अध्यक्षता, उपाध्यक्ष महेन्द्र विश्वकर्माको स्वागत र सचिव राजु खड्काको संचालनमा सम्पन्न भएको थियो ।



