वीर्यदाताले झुट बोलेको थाहा पाएपछि जापानकी महिलाले बच्चा त्याग्दै ३० लाख डलरको क्षतिपूर्ति माग गर्दै मुद्दा हालिन्

-


     जनहित न्युज    
     माघ ५ गते २०७८


जापानमा एक महिलाले आफूलाई गर्भवती बन्न सहयोग गर्ने वीर्यदाता पुरुषविरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेकी छन् । ती महिलाले वीर्यदाताले आफ्नो सामाजिक प्रतिष्ठा, शैक्षिक पृष्ठभूमि र जातीयताबारे झुटो बोलेको आरोप लगाएकी छन् ।

परिचय नखुलाइएकी तथा राजधानी टोकियो निवासी ३० वर्षीया ती महिलाले भनेकी छन्, ‘म र मेरो पति दोस्रो बच्चा जन्माउन चाहन्थ्यौँ । तर, मेरो पतिको आनुवंशिक समस्या भएको चाल पाएपछि हामी चिन्तामा पर्‍यौँ ।’ त्यसपछि यस दम्पतीले वीर्यदाताको खोजी गर्न थाले ।

सामाजिक सञ्जालमार्फत उनीहरूले जापानको प्रतिष्ठित क्योटो विश्वविद्यालयबाट स्नातक गरेको बताइएका एक २० वर्षीय वीर्यदाता युवक भेट्टाए । उनले आफूलाई अविवाहित जापानी नागरिक भनेर चिनाएका थिए ।

ती युवकसँग करिब १० चोटि यौनसम्पर्क राखेपछि उनी अन्तत सन् २०१९ को जुनमा गर्भवती बन्न सफल भइन् । तर, पछि उनले ती युवक जापानी नभई एक विवाहित चिनियाँ भएको र उनले कहिल्यै क्योटो विश्वविद्यालयमा पनि नपढेको तथ्य फेला पारिन् । बच्चा जन्माइसकेपछि यस दम्पतीले बच्चालाई अस्वीकार गरे । अहिले त्यस बच्चालाई टोक्योस्थित एउटा शिशु स्याहार केन्द्रमा राखिएको छ ।

ती महिलाले उनले आफूसँग यौनसम्पर्क राख्न झुटो विवरणको सहारा लिएको बताएकी छन् । साथै, उनले आफूलाई भावनात्मक चोट पुर्‍याएबापत ती युवकसँग करिब २८ लाख अमेरिकी डलरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छन् ।

जापानको ‘थाहा पाउने अधिकार’ कानुनानुसार वीर्यदाताले जैविक अभिभावकहरूलाई चिन्ने अधिकार छ । तर, वीर्यदान मामिलामा अनावश्यक झैझमेलाहरू आइपर्ने डरले अधिकांश वीयर्दाता भने आफ्नो परिचय गोप्यै राख्न रुचाउँछन् ।

जापानमा सामाजिक सञ्जालमार्फत वीर्यदाता खोज्ने दम्पतीको संख्या बढ्दै गएको छ । अहिलेसम्म १० हजार बालबालिकाको वीर्यदानकै सहयोगमा जन्म भइसकेको सरकारी तथ्यांक छ ।

मिराइ लाइफ रिसर्च इन्स्टिच्युटले गत समरमा जापानको पहिलो शुक्राणु बैंक खोलेको छ जसले गर्भधारण गर्ने प्रयास गरिरहेका जापानी जोडीहरूलाई सुरक्षित विकल्प उपलब्ध गराएको जापान इनसाइडरले रिपोर्ट मा उल्लेख गरेको छ।इन्स्टिच्युटका निर्देशक डा हिरोशी ओकाडाले असुरक्षित गर्भाधानले स्वास्थ्य जोखिम र अन्य खतराहरू निम्त्याउने सक्ने चेतावनी दिए।

ओकाडाले भने, “यो सुरक्षाको समस्या मात्र होइन, यो आपराधिक र अत्यन्त खतरनाक पनि हुन सक्छ।” ओकाडाले भनेका छन्, “हामीलाई हस्तान्तरण गरिएको वीर्यमा संक्रामक एजेन्ट हुन सक्छ। शुक्रकीट दाताको हो कि होइन हामीलाई थाहा छैन वा नहोस्। बच्चा जन्मेपछि शुक्रकीट जापानी नभएको थाहा हुन्छ? यस्ता पागल कुरा भइरहेकामा म आश्चर्यमा परेको छु ।

ओकाडाका अनुसार, शुक्राणु दानका लागि १४० भन्दा बढी प्लेटफर्महरू मध्ये ९६.४ प्रतिशत “सुरक्षित छैनन्,” तिनीहरूमध्ये धेरैले अरूलाई धोका दिन चाहने व्यक्तिहरूको समूहको रूपमा काम गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?