एनआरएनएको निर्वाचनमा अनुहारको पहिचान गर्ने वा ‘फेसियल रिकग्निशन’ प्रविधि लागू नगर्न माग

-


     जीएनएन    
     मंसिर ३ गते २०७८


लन्डन गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनमा अनुहारको पहिचान गर्ने वा ‘फेसियल रिकग्निशन’ प्रविधि लागू नगर्न एनआरएन अभियन्ता तथा विज्ञहरुले माग गरेका छन्।

जीएनएनसंग कुरा गर्दै संघका एक पदाधिकारीले गत १७ जुलाई २०२१ को आइइएसको बैठकमा सचिव गौरी जोशीले ‘फेसियल रिकग्निशन’ अनिवार्य गर्न प्रस्ताव राखेको तर त्यस बारे कुनै निर्णय नभएको बताए।
अमेरिकामा आइटी व्यवसायमा संलग्न जोशीले त्यस्तो प्रस्ताव राख्नु नै ‘स्वार्थको द्वन्द्व’ ( conflict of interest) भएको जानकारहरु बताउंछन्।
गत जुलाई महिनामा भएको निर्वाचनमा साउदी अरेबियामा ‘सेल्फी’ अनिवार्य गरिंदा सैयौं मतदाताहरु मतदान गर्नबाट वन्चित भएका थिए।
हालै विश्व प्रसिद्ध कम्पनी फेसबुकले मानिसको तस्बिर र भिडिओमा अनुहार चिन्न प्रयोग गरिएको सफ्टवेअर अबदेखि नचलाउने घोषणा गरेको छ।
सो प्रविधिको प्रयोग हुँदा गोपनीयता, जातिगत पूर्वाग्रह तथा प्रविधिको यथार्थपरकताबारे गम्भीर प्रश्न उठेका थिए ।
फेसबुकका अनुसार नियामक निकायहरूले उक्त प्रविधि कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा स्पष्ट नियम बनाएका छैनन्।
त्यो प्रविधि चलाउँदा प्रयोगकर्तामा पर्ने प्रभावका कारण फेसबुकको चर्को आलोचना हुने गरेको छ।
(हेर्नोस समाचार https://www.bbc.com/nepali/news-59145081 )

‘फेसियल रिकग्निशन’ विवादित

अमेरिका, अष्ट्रेलिया साथै युरोपेली मुलुकहरुमा पनि निर्वाचनमा ‘फेसियल रिकग्निशन’ अनिवार्य गर्दा व्यक्तिको गोपनीयताको हक उल्लङ्घन हुने भएकाले कुनै पनि अनलाइन निर्वाचनमा ‘फेसियल रिकग्निशन’ अनिवार्य गरिदैन।
” देशभित्र उत्पन्न हुन सक्ने राष्ट्रिय सुरक्षा र गम्भीर आर्थिक तथा अन्य अपराधका दोषी पत्ता लगाउन गरिने उपक्रम र प्रविधि एनआरएन जस्तो सामाजिक सँस्थाको चुनाबमा प्रयोग गर्न खोजिनु आपत्तिजनक छ । व्यक्तिको गोपनियताको हक उल्लङ्घन गर्ने यस्तो प्रविधि लागू गर्न खोज्नु सन्देहास्पद पनि छ,” अष्ट्रेलियास्थित एकजना मिडिया विज्ञ डा भरतराज पौडेलले भने।

एनसीसी अमेरिकाका युवा संयोजक त्रिभुवन पाण्डे पनि एमआइएस प्रणालीको दुरुपयोग गरिरहेकै समूहले ‘फेसियल रिकग्निशन’ मा जोड दिनु अत्यन्त आपत्तिजनक रहेको बताउंछन्। “फरक फरक मुलुकहरुका लागि फरक फरक नियम ल्याउने हो भने बेग्लै कुरा, नत्र अमेरिकामा ‘फेसियल रिकग्निशन’ लागू गर्न कानूनी र व्यावहारिक रुपमा पनि सम्भव देखिदैन।”

विश्वसनीयताको प्रश्न

अमेरिका, अष्ट्रेलिया लगायत गैर आवासीय नेपाली संघका एनसीसीहरुमा गएको केहि वर्ष देखि अनलाइन निर्वाचन हुदै आएको छ। तर कहिँ पनि विवादित ‘फेसियल रिकग्निशन’ प्रविधि लागू गरिएको छैन।

“अनुहार स्क्यान गरेर भोट दिने प्रक्रिया (फेसियल रिकग्निशन) सुन्नमा राम्रो लागे पनि यो प्रवासको सामाजिक संस्थाले केवल भोटका लागि अवलम्बन गर्नु पटक्कै सुहाउँदो छैन । सबै भन्दा उत्तम उपाय भनेको हाल सेक्युरिटीमा चलन चल्तीमा रहेको टु फ्याक्टर अथिन्टिकेसन देखिन्छ जसलाई एउटा पृथक इलेक्ट्रोनिक कोड जेनेरेट गरेर उक्त कोड़ एक युनिक लिंक सिर्जना गरेर मतदानका लागि दर्ता भएको इमेल र फोनमा पठाउन सकिन्छ । यसरी इमेल र फोन मार्फत गरिएको २ फ्याक्टर अथेन्टिकेसन विश्वका चर्चित कम्पनिहरु र कयौं देशका सरकारी निकायहरुले समेत प्रयोगमा ल्याएका छन्, ” सूचना प्रविधि विज्ञ तथा एन सी सी अमेरिकाका प्रमुख निर्वाचन आयुक्त विश्व बरालले भने ।

सूचना प्रविधिमा दक्षता राख्ने एनआरएनए अमेरिकाका युवा संयोजक त्रिभुवन पाण्डेका अनुसार फोटो र फेसियल आइडी एकै देखिन्छन तर हैनन । “फेसियल आइडीले अनुहारको नाप लिएर , विभिन्न भागको आकृतिहरुलाई सुरक्षित गरेर राख्ने गर्छ, तर फोटो सामान्य डिजीटल फाइल हो जसमा मेटा डाटा सेभ हुँदैन । फेस स्क्यनिंगले व्यक्तिको अनुहारको आकृति नै सेभ गरेर राख्ने गर्छ जसलाई अत्यन्त उच्च तहका आर्टिफिसियल इन्टेलिजेंस जोडिएको टेक्नोलोजी र सफ्टवेर मार्फत नियमन गरिएको हुन्छ । यस्तो प्रविधिले मतदाताहरु मतदान गर्ने प्रक्रियामा लक हुने या ब्लक हुने सम्भावना छ साथै अनुहार देखाएर मतदान गर्नु पर्ने हिनताबोध तथा निरुत्साहित हुने सम्भावना बढी हुन्छ,” पाण्डेले भने।

एक अर्का सूचना प्रविधि विज्ञले ‘फेसियल रिकग्निशन’ प्रविधि लागू गर्ने नै भए एनसीसीहरुले सदस्यता बनाउने बेला नै उक्त प्रविधि प्रयोग गर्नु पर्ने बताए। “अहिले आइसीसीको चुनावमा एकै पटक उक्त प्रविधि लागू गर्न खोज्दा त्यस्तो प्रविधिको दुरुपयोग हुन सक्ने खतरा अत्यन्तै उच्च हुन्छ। “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?