विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा बसोबास गर्दै आएका नेपालीहरुको संख्या ९७ हजार २६ रहेको जापान सरकारको हालैको प्रतिवेदनमा उल्लेख गरेको छ ।
२०२१ फेब्रुबरी २ तारिकमा सार्वजनिक गरेको तथ्यांक अनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ६ सय २८ रहेकोमा हाल २ हजार ६ सय २ जना कमि रहेको तथ्यांक सार्वजनिक भएको जापानका बारेमा जानकार जिज्ञानकुमार थापाले सामाजिक संजालमार्फ़त सार्वजनिक गरेका छन ।
गत वर्षको सार्वजनिक तथ्यांक अनुसार जापानमा विदेशीहरुको संख्याको पाचौं स्थान रहेकोमा अहिलेको स्थानका बारेमा थापाले केही उल्लेख गरेका छैनन ।
जापानमा पारिवारिक भिषामा अन्य मुलुकको भन्दा सहज भएकोले हुन सक्छ डिपेन्डेन्ट अर्थात् आश्रितको बसोबास संख्या सबैभन्दा बढ़ी अर्थात् ३१ हजार ९ सय १३ रहेका छन । त्यसैगरि जापानमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएकोले नेपाली विद्यार्थीको संख्या १८ हजार ४ सय ५९ रहेको छ । त्यस्तै इन्टरनेशनल सर्भिसमा रोजगारी गर्नेको संख्या १७ हजार ९ सय ९७ र दक्ष जनशक्ति कुक लगाएतको संख्या १५ हजार ७ सय ८० रहेको थापाले उल्लेख गरेका छन ।
थापाका अनुसार स्थायी रूपमा जापानमा बसोबास गर्ने नेपालीको संख्या ५ हजार ४ सय २३, बिशेष काम गर्ने (तोकुतेइ काचुदोउ) मा ५ हजार २२, जापानी नागरिकको पति वा पत्नी १ हजार ९५, लामो अवधीको बसाई (तेइजिउ) ८ सय ९३, प्रशिक्षार्थी कामदारमा ४ सय ४१ र बिशेष स्थायी बसोबास तीन जना रहेका छन ।
गतवर्ष भन्दा यस वर्ष नेपालीको संख्या कमि हुनुमा कोरोना महामारीका कारण जापान प्रवेश गर्ने आगन्तुकलाई कडाइ गरेका कारण नेपाल गएर जापान फ़र्किन नपाई कतिपयको भिषा सकिनुपनि हुनसक्ने आकलन गरिएको छ । जापानले गत महिनाको १९ तारिकबाट रि इंट्रि भिषालाई मात्र केही सहज रुपमा प्रवेश अनुमति दिएको छ ।