जापान उसै पनि ज्येष्ठ नागरिकहरूको देश बनेको छ, तिनका निम्ति स्वचालित गाडी उपलब्ध गराउन त्यहाँको सरकारले चाहेको छ । तर, हालै भएको एक दुर्घटनाले भविष्यमा आउन सक्ने चुनौतीलाई रेखांकित पनि गरिदिएको छ ।
जापानसमेत अन्य कतिपय देशमा स्वचालित गाडी सडकमा कुदिरहेका छन् । जापान सरकारले त टेक्नोलोजी विकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।
गत वर्ष नै जापान केही अवस्थालाई पूरै नियन्त्रणमा लिने सवारी सार्वजनिक सडकमा गुडाउने अनुमति दिने पहिलो मुलुक बन्यो । उक्त होन्डा कारलाई ‘लेभल थ्री’ को स्वायत्तता दिइयो, अर्थात त्यसले केही निर्णय आफैं गर्न सक्छ । आपतकालीन अवस्थामा नियन्त्रण आफ्नो हातमा लिनका लागि एक चालक तयार रहनु जरुरी छ ।
ज्येष्ठ नागरिकको अधिक आवादीले उत्पन्न चुनौती सामना गर्न सरकारले विकसित स्वचालित सवारीलाई प्रोत्साहन गर्नका लागि कानुनसमेत परिवर्तन गर्याे ।अर्थव्यवस्था, व्यापार तथा उद्योग मन्त्रायल (एमइटिआई)ले २०२५ सम्ममा देशभरि ४० स्थानमा स्वचालित ट्याक्सी परीक्षण गर्ने योजना बनाएको छ । यो नीतिको पछिल्तिर एउटा गम्भीर समस्या सुल्झाउने चाहना पनि सरकारले राखेको देखिन्छ ।
जापान संसारमा सबैभन्दा बढी ज्येष्ठ नागरिक भएको देश हो । त्यहाँ लामो समयदेखि कामदार अभाव हुँदै आएको छ । हालै एमइटिआईले जारी गरेको एक रिपोर्टमा भनिएको छ- ‘कार्गो र यातायात क्षेत्रमा चालकहरूको उमेर बढिरहेको छ र मानव संसाधनको समस्या गम्भीर बन्दै गएको छ ।’
उक्त रिपोर्टमा ज्येष्ठ नागरिकले चलाएको सवारीमा निकै कमजोरी हुन गएको उल्लेख छ, जसले गर्दा ठूल्ठूला ट्राफिक दुर्घटना हुन पुगेका छन् । त्यसपछि हुन थालेको मागअनुसार, सवारी निर्माता स्थानीय कम्पनीहरुले टेक्नोलोजी विकसित गर्न आफूलाई तयार पारेका छन् ।
सबैभन्दा बढी सवारीसाधन बेच्ने कम्पनी टोयोटाले माउन्ट फुजीको समथर क्षेत्रमा एक स्मार्ट सहर बनाइरहेको छ र त्यहाँका केही छानिएका सडकमा ‘इ-पाइलट’ स्वचालित बस चलाउने योजना पनि कम्पनीले बनाएको छ । ती बसहरू टोक्यो ओलम्पिक २०२० मा प्रतियोगिता चलिरहँदा खेलाडी बस्नका लागि तयार पारिएको भिलेजमा चलाइएको थियो । तर, एक दुर्घटनापछि सो परियोजनालाई केही समय स्थगित गरिएको थियो ।
स्वचालित बसले एकजना नेत्रहीन प्यारालम्पिक खेलाडीलाई ठक्कर दिएको थियो । ती खेलाडी सामान्य घाइते भएका थिए । उक्त बसको स्वचालित प्रणालीले खेलाडी नजिक आएको थाहा पाएर ब्रेक लगाएको थियो, तर त्यसलाई नियन्त्रण गर्न बसमा रहेका एक चालकले स्वचालित प्रक्रिया बन्द गरिदिएका थिए ।
ब्रोकरेज कम्पनी सिएलएसएका जापान रिसर्चका प्रमुख तथा अटोमोटिभ विशेषज्ञ क्रिस्टोफर रिक्टर भन्छन्, ‘स्वचालित सवारी नियन्त्रित स्थानमा पनि असफल भएको मानिसहरूले बताइरहेका छन् । यस्तो योजनामा थप अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।’ ग्रामीण जापानका लागि स्वचालित सवारी अत्यावश्यक रहेको पनि उनले बताए ।
रिक्टर थप्छन्, ‘कम्तीमा पनि आगामी दशकसम्म स्वचालित सवारी बनाउने दिशामा सरकार प्राथमिकताका साथ अग्रसर हुनुपर्छ, तर त्यस्तो देखिएको छैन । सरकारले अरूखाले सवारी बनाउने कम्पनीलाई स्वचालित निर्माणमा प्रोत्साहन दिनुपर्छ ।’
जापानका सवारी निर्माता कम्पनीहरू यस्ता स्वचालित गाडी बनाउन कति समय लाग्छ, यसै भन्न नसकिने बताउँछन् । निशान कम्पनीले २०१८ मा ‘इजी राइड’ स्वचालित ट्याक्सी परीक्षण गर्दा २०२० को सुरुआतसम्ममा त्यस्ता ट्याक्सी व्यावसायिक रूपमा उपलब्ध गराउने घोषणा गरेको थियो । तर, कम्पनीको रिसर्चका विश्व उपाध्यक्ष काजुहिरो दोई ज्यादा सावधान भएका छन् ।
स्वचालित बाहनलाई सामाजिक स्वीकृति निकै कम भएको उनले बताएका थिए । निकै कम मानिसलाई मात्र स्वचालित गाडी चलाउने तरिका थाहा भएको उनको भनाइ थियो । उनले भने, ‘विनाअनुभव यसलाई स्वीकार गर्न गाह्रो छ, किनकि यो निकै नयाँ कुरा हो ।’ फरकधारकाे सहयाेगमा