जापानको आम निर्वाचनमा एलडिपीको ऐतिहासिक जित: सानाए ताकाइची पुनः प्रधानमन्त्रीमा निर्वाचित

-


     जनहित न्युज    
     फागुन ६ गते २०८२


टोकियो– जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले आम निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेपछि सानाए ताकाइची बुधबार पुनः प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। फेब्रुअरी ८ मा सम्पन्न तल्लो सदनको निर्वाचनमा ताकाइचीको नेतृत्वमा एलडिपीले ४६५ मध्ये ३१६ सिट जितेर ‘सुपर बहुमत’ प्राप्त गरेपछि उनलाई संसदको विशेष अधिवेशनले पुनः प्रधानमन्त्रीमा चयन गरेको हो। यो युद्धपछिको जापानको इतिहासमा कुनै एक दलले प्राप्त गरेको सबैभन्दा ठूलो सफलता मानिएको छ।

संवैधानिक प्रावधान अनुसार नयाँ सरकार गठन हुनुअघि ताकाइचीको अघिल्लो मन्त्रिमण्डलले सामूहिक राजीनामा दिएको थियो। पुनः निर्वाचित भएलगत्तै उनले बुधबारै नयाँ मन्त्रिमण्डल गठन गर्ने तयारी गरेकी छन्। नयाँ मन्त्रिमण्डलमा विदेश मन्त्री तोशिमित्सु मोटेगी, अर्थमन्त्री सात्सुकी कातायामा र रक्षा मन्त्री शिन्जिरो कोइजुमी लगायतका मुख्य मन्त्रीहरूले आफ्नो पद कायमै राख्ने देखिएको छ। प्रधानमन्त्री ताकाइचीले बुधबार राति पत्रकार सम्मेलन गर्दै आफ्नो “जिम्मेवार तर आक्रामक” वित्तीय नीति र खाद्यान्नमा लाग्ने उपभोग करलाई दुई वर्षका लागि निलम्बन गर्ने योजनाबारे विस्तृत जानकारी दिने अपेक्षा गरिएको छ।

संसदको यो विशेष अधिवेशन आगामी जुलाई १७ सम्म चल्नेछ, जहाँ मुख्य रूपमा अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२६ को बजेटमाथि छलफल हुनेछ। एलडिपीले अब जापान इनोभेसन पार्टीसँगको गठबन्धन मार्फत संसदमा बलियो पकड बनाएको छ। यो विजयले ताकाइचीलाई जापानको शान्तिवादी संविधान संशोधन गर्ने जस्ता आफ्ना कडा र रूढीवादी एजेन्डाहरू अगाडि बढाउन ठूलो शक्ति प्रदान गरेको छ। अर्कोतर्फ, मुख्य विपक्षी गठबन्धन सेन्ट्रिस्ट रिफर्म एलायन्स (सीआरए) ले भने नराम्रो पराजय भोग्दै मात्र ४९ सिटमा चित्त बुझाउनु परेको छ। जापानको राजनीतिमा ताकाइचीको यो पुनरागमनले आर्थिक र सुरक्षा नीतिमा थप आक्रामक परिवर्तन आउने संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?