
बागलुङ । संसदीय राजनीतिको केन्द्र मानिने बागलुङ क्षेत्र नम्बर २ मा यसपटक चुनावी माहोल निकै रोचक बन्ने देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो बलियो संगठन रहेको मानिने यस क्षेत्रमा युवा र प्रभावशाली नेता ज्ञामनाथ गैरे ‘अनिल’लाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेसँगै राजनीतिक बृतमा तरंग पैदा भएको छ ।
नेकपाका केन्द्रीय नेता राजिव घिमिरेका अनुसार, आइतबार बसेको पार्टीको बैठकले गैरेलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि जिल्ला कमिटीले उम्मेदवारका लागि केन्द्रमा पठाएको सिफारिस सूचीमा गैरेको नाम पहिलो नम्बरमा थियो ।
बागलुङ क्षेत्र नम्बर २ लाई परम्परागत रूपमा वामपन्थी गढ मानिन्छ । विगतका निर्वाचन नतिजा हेर्ने हो भने, २०७४ र २०७९ सालको संसदीय निर्वाचनमा यहाँबाट तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता देवेन्द्र पौडेलले जित हासिल गर्दै आएका छन् । पौडेलको ‘गढ’ मानिने यस क्षेत्रमा नेकपाले गैरेलाई अघि सारेर नयाँ र कडा चुनौती पेश गरेको विश्लेषण हुन थालेको छ ।
पार्टीले पहिलो पटक संसदीय निर्वाचनको प्रत्यक्ष मैदानमा उतारेका गैरेको उम्मेदवारीलाई नेकपाले ‘जित्ने रणनीतिका साथ चालिएको कदम’ को रूपमा व्याख्या गरेको छ ।
को हुन् ज्ञामनाथ गैरे ‘अनिल’ ?
बागलुङको कम्युनिष्ट आन्दोलनमा ज्ञामनाथ गैरे ‘अनिल’ नौलो नाम होइन । उनी एक जुझारु, वैचारिक र जनतासँग प्रत्यक्ष भिजेका नेताका रूपमा परिचित छन् ।
राजनीतिक पृष्ठभूमि: ‘अनिल’ उपनामले चिनिने गैरे लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । विशेषगरी जनयुद्धकालीन समयदेखि नै संगठन निर्माण र वर्गीय मुक्ति आन्दोलनमा होमिएका उनी पार्टीभित्र इमान्दार र निष्ठावान नेताको छवि बनाएका व्यक्ति हुन् ।
जनताका नेता: बागलुङको भूगोल, यहाँका जनताको समस्या र विकास निर्माणका आवश्यकतासँग उनी राम्ररी जानकार छन् । पदमा नहुँदा पनि जनताको सुख–दुःखमा साथ दिने स्वभावका कारण स्थानीय स्तरमा उनको राम्रो पकड रहेको मानिन्छ ।
पहिलो संसदीय यात्रा: लामो राजनीतिक जीवन बिताए पनि संसदीय निर्वाचनमा उम्मेदवार बन्ने मौका उनले यसपटक मात्र पाएका हुन् । सधैं पर्दा पछाडि रहेर पार्टी र नेतृत्वलाई सघाउँदै आएका गैरेलाई यसपटक आफैं मैदानमा उत्रिने अवसर मिलेको छ ।
स्थानीय मतदाताको प्रतिक्रिया सधैं आफ़नो चुनावी क्षेत्र बाहिरका उम्मेदवारलाई मत दिँदै आएका मतदाताहरूले यसपटक ‘अनिल’ को उम्मेदवारीलाई विकल्प र परिवर्तनको संवाहकका रूपमा लिएको स्थानीय विश्लेषकहरूको बुझाइ छ । “चुनावी क्षेत्र बाहिरका अनुहारबाट वाक्क भएका जनताले यसपटक काम गर्ने र स्थानीय माटोमा भिजेको नयाँ नेतृत्व खोजिरहेका छन्, जसमा ज्ञामनाथ गैरे खरो उत्रिन सक्छन्,” एक स्थानीय नेताले बताए ।
बागलुङ–२ को चुनावी लडाइँ यसपटक केवल जित र हारको मात्र नभई, पुराना विरासत जोगाउने र नयाँ इतिहास रच्ने बीचको संघर्ष हुने निश्चित छ ।



