सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको छ ।
एमाले वरिष्ठ नेता नेपालले पार्टी एकताकाे संभावना टरेपछि नयाँ दल दर्ताका लागि निवेदन दिएका छन। नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।
नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए । साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । दल दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘निर्वाचन आयोगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।
नेपाल समूहले ओली समूहमा रहेका नेता–कार्यकर्ताहरुलाई नवगठित दलमा आउन पनि आह्वान गरेको छ।
‘ओली नेतृत्वको एमालेमा अलमलिएर रहेका साथीहरुलाई एमाले समाजवादीमा आउन आह्वान गर्दछौँ’, नेता पाण्डेले भने, ‘त्यहाँ रहेकासँग शत्रुता गर्दैनौँ। ’उनले ओली नेतृत्वमा रहिरहँदासम्म एमालेसँगको सम्भावना नरहेको पनि बताए।