एउटा मुस्कान !

-


     बाबुलाल भण्डारी     
     भाद्र १ गते २०७९


यो स्पेनको गृहयुद्ध कालको सन् १९३६ को सत्य घटना हो ।

एण्टोइन नामको फ्रान्सेली लेखक तथा पत्रकार स्पेनको गृहयुद्धको रिपोर्टिङ्गका लागि स्पेनमा थियो । उ अचानक इटली र जर्मनी समर्थित फासिष्ट सैनिक द्वारा पक्राउ पर्‍यो । सैनिकहरुले उसका सबै माल समान खानतलासी गरेर लगे र उसलाई सैनिक क्याम्पमा नजरबन्द गरिदिए । बाँच्ने आशा कत्ति पनि थिएन । उसको आँखा अगाडि मृत्यु नाच्न थाल्यो । मनमा चरम निराशा छायो । खल्ती छाम्दा कसो कसो एउटा चुरोट बाँकी रहेछ । तर सलाई थिएन । तलतल खपिसक्नु भएन । अलिपर जेलर खडा थियो । उ फासीवादी जेलर, आफू उसको कैदी ! यस्ताबाट सहयोगको अपेक्षा राख्नै सकिँदैनथ्यो ! तर जसोतसो साहस बटुलेर अत्यन्तै नम्र र शिष्ट स्वरमा उसले सिगरेट सल्काउन आगो माग्यो । जेलर नजिक आएर सलाई कोरिदियो । पत्रकार कृतज्ञताबश: मुस्कुरायो ।

उसले अगाडि भन्छ – म जस्तो एउटा कैदीसंग मुस्कुराउन र भावना सटासाट गर्न उसलाई पक्कै असजिलो थियो होला । तर मेरो मुस्कानले गर्दा उसले पनि मुस्कुराहट रोक्न सकेन । मुस्कानले मनको दूरी मेटाउँछ भन्छन् , यहाँ पनि त्यस्तै भयो । मुस्कान मात्रले हाम्रो बीचमा एउटा नजानिँदाे सम्बन्ध बनाइदियो । उसले मेरा बालबच्चाको बारेमा सोध्यो । मलाई उसंग झिम्मिएर कुरा गर्ने हिम्मत अझै आइसकेको थिएन । उसलाई मैले आफ्ना बच्चाहरुको फोटो देखाउन चाहन्थेँ । तर के गर्नु , सैनिकले सबै खोसेर लगिसकेका थिए ! सायद उ पनि आफ्नो घर र बालबच्चाबाट लामो समय बिछोडिएको हुँदाे हो । होमसिक भए जस्तो अनुमान गरेँ मैले । उसले आफ्ना बच्चाबच्चीका फोटा निकालेर बिदामा जाँदा उनीहरुसंग यसो गर्छु, उसो गर्छु भनेर आफ्ना योजनाहरू सुनाउन थाल्यो । सुनेर मेरा आँखामा आँसु भरिए । मेरो मुखबाट अनायासै एउटा गहिरो पीडा पोखियो- “सायद यस जुनीमा मैले अब कहिल्यै आफ्ना बालबच्चालाई काखमा लिन पाउने छैन !”

मेरो पीडाको उसमा यस्तो प्रचण्ड असर भयो कि उसका आँखाका डिलमा पनि आँशुका ढिक्का देखा परे । सायद उसको कुनै कोमल ग्रन्थि छोइयो होला । उ बोल्न त केही बोलेन तर तुरुन्तै ढोका खोलेर सरासर भित्र आयो । मलाई हातमा समाएर कताकताबाट हो जेल बाहिर निकाल्यो र आत्मिक खुसी र प्रसन्नताको भावमा मलाई बिदाइका हात हल्लाउँदै फर्केर गयो ।

यसरी एउटा मुस्कानले मेरो जीवन बच्यो । तपाईंहरु पनि मुस्कुराउन नछोड्नु होला । यसले असम्भव कुरालाई पनि सम्भव बनाइदिन्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?