उत्तर कोरियाः क्रूज क्षेप्यास्त्र परीक्षण किन अरू देशका लागि चिन्ताको विषय हो?

-


     जनहित न्युज    
     असाेज १ गते २०७८


केही दिनअघि उत्तर कोरियाले जापानसम्म प्रहार गर्न सक्ने लामो दूरीको क्रूज क्षेप्यास्त्रको सफल परीक्षण गरेको घोषणा गर्‍यो। 

बलिस्टिक भनिने प्रकारका क्षेप्यास्त्रको दाँजोमा क्रूज प्रकृतिका क्षेप्यास्त्रहरू हावामा उडानमा रहेका बेला तलमाथि जाने वा मार्ग परिवर्तन गर्न सक्ने क्षमताका हुन्छन्। यो गुणले गर्दा क्रूज क्षेप्यास्त्रहरूले तिनका निसानामा विभिन्न अनपेक्षित कोणबाट आक्रमण गर्न सक्छन्। 

यो पछिल्लो परीक्षणबाट उत्तर कोरियाले परमाणुअस्त्रहरूको प्रयोग गरेर आक्रमण गर्न सक्ने आफ्नो क्षमतालाई विभिन्न तरिकाले बढाउने कार्यलाई निरन्तरता दिइरहेको छ भन्ने देखाएको छ। 

कोरोनाभाइरसको महामारी, देशमा विभिन्न चरणको प्राकृतिक प्रकोप, र आन्तरिक आर्थिक अप्ठ्याराहरूको सामना गर्दै रहँदा समेत उत्तर कोरियाले परमाणुअस्त्र क्षमतालाई देशको प्रतिरक्षाको रूपमा प्रयोग गर्ने आधारभूत प्राथिमकतामा परिवर्तन नगरेको स्पष्ट छ।

पछिल्लो सफल क्षेप्यास्त्र परीक्षणले विभिन्न प्रश्नहरू पनि उठाएको छ। 

उत्तर कोरियाले अहिलेको समयमा नै किन त्यस्तो परीक्षण गर्‍यो? त्यो परीक्षण कत्तिको महत्त्वपूर्ण छ? परीक्षणको त्यो घटनाले उत्तर कोरियाको प्राथमिकता के हुन् भन्ने विषयमा के थाहा पाउन सकिन्छ?

उद्देश्य

क्षेप्यास्त्र परीक्षणले एकभन्दा बढी विभिन्न उद्देश्यहरूलाई सम्बोधन गर्छ। 

अन्तरिक रूपमा यी परीक्षणहरूले राष्ट्रिय सुरक्षाको अवस्था र देशवासीको मनोबल बढाउनमा देश आत्मनिर्भर छ भनेर नेता किमले भन्ने गरेको दाबीलाई अझ बलियो बनाउन सघाउँछन्। 

व्यावहारिक रूपमा भन्ने हो भने क्रूज क्षेप्यास्त्रजस्ता युद्धसम्बन्धी नयाँ क्षमताले उत्तर कोरियाका “शत्रुहरू”लाई तिनीहरूको रणनीतिक योजनालाई जटिल बनाउन र तिनमा परिवर्तन गर्न बाध्य तुल्याउँछन्। 

बलिस्टिक क्षेप्यास्त्रको दाँजोमा क्रूज क्षेप्यास्त्र न्यून उचाइमा र न्यून गतिमा निसानातर्फ अघि बढ्ने गर्छ।

हालै उत्तर कोरियाले परीक्षण गरेको क्रूज क्षेप्यास्त्रले १,५०० किलोमिटर टाढासम्म प्रहार गर्न सक्छ र त्यसका लागि उक्त क्षेप्यास्त्रलाई दुई घण्टाभन्दा केही बढी उडान समय लाग्छ।

त्यस्तै क्षमताका बलिस्टिक क्षेप्यास्त्रले केही मिनेटको समयमा नै लक्ष्यभेदन गर्न सक्छ। 

क्रूज क्षेप्यास्त्रको विकासमा उत्तर कोरियाले रूचि देखाउनुको कारण भनेको उसका “शत्रुहरू” लाई उक्त क्षेप्यास्त्र प्रहार गरेर थाहा पाउनमा र त्यसको प्रतिरक्षा गर्नमा हुनसक्ने अप्ठ्यारो अवस्था हुन सक्छ। 

दक्षिण कोरिया, जापान र अन्तर्राष्ट्रिय समुदायको लागि चिन्ताको विषय भनेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले नयाँ परीक्षण गरिएका क्षेप्यास्त्रहरूलाई “रणनीतिक अस्त्र” भनेका छन्।

परमाणुअस्त्र

त्यस्तो भनाइको सामान्य अर्थ उत्तर कोरियाको सत्ता ती क्षेप्यास्त्रमा परमाणु युद्धशीर्ष जडान गर्न चाहन्छ भन्ने हो। 

उत्तर कोरियाको यसअघिको क्रूज क्षेप्यास्त्र प्रणालीमा परमाणुअस्त्र जडान गरिने भन्ने गरिँदैन थियो। 

तर अहिले यो घटना र उद्देश्य आश्चर्यको रूपमा बाहिर आएको भने होइन। 

राष्ट्रपति किमले सन् २०२१ को ज्यानुअरी महिनामा नै त्यस्तो प्रणाली विकसित गर्ने कार्य भइरहेको घोषणा गरेका थिए। 

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले लागु गरेको प्रतिबन्धहरूले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षणमा मात्र रोक लगाएको छ। तर क्रूज क्षेप्यास्त्रको परीक्षणमा बन्देज छैन। 

अङ्कित पान्डा उत्तर कोरिया विश्लेषक/बिबिसी नेपाली सेवाबाट

Presentational grey line
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?