उठाइएका विषयलाई अनुत्तरित राख्दै एनआरएनए जापानको अन्तरकलह ३८१ दिन पछि मिल्यो

-


     जनहित न्युज    
     श्रावण ३१ गते २०७९


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको अन्तरकलह तथा विवाद ठिक ३८१ दिन पछि मिलेको छ ।
एनआरएनए जापानको कार्यकाल २०२१–२०२३ का लागि ३० जुलाई २०२१ सम्पन्न निर्वाचनबाट निर्वाचित शिवप्रसाद पौडेल नेतृत्वको समितिलाई अनिता गुरुङ नेतृत्वको असन्तुष्ट पक्षले अनलाइनमार्फत भएको मतदानमा अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरि असम्बन्धित पक्षले मतदान गरेर धाँधलीपूर्ण निर्वाचन भएको आरोप लगाउदै बढेको विवाद पद बाँडफाड़मा गएर टुङिएको छ ।

विभिन्न चरणमा भएका द्वीपक्षीय वार्तापछि मंगलबार अनलाईनमा उपस्थित एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष त्रय कुल आचार्य, रबिना थापा, बद्रि केसीसहित गौरी जोशी र टोकियोमा संरक्षक भवन भट्ट उपाध्यक्ष महेश श्रेष्ठ उप महासचिव ओम गुरूङ क्षेत्रीय उप संयोजक डिपी कंडेल, ददिवल खड्का एनआरएनएका अभियन्ता सालिकराम भन्डारी, बिजय थकाली एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेल महासचिव सिद्धार्थ श्रेष्ठ एनआरएनएका अभियन्ता तथा गुरुङ नेतृत्वको समितिलाई आवश्यक सहयोग प्रदान गर्दै आएका बलराम श्रेष्ठ असन्तुष्ट पक्षकी नेतृ अनिता गुरूङ, सरोज खत्री, बुद्धि घिमिरे पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेको प्रत्यक्ष उपस्थितिमा भएको सहमतिबाट असन्तुष्ट पक्षकी नेतृ अनिता गुरूङलाई संरक्षक र अन्य अध्यक्षका प्रत्याशीहरूलाई चाहना राखेमा सल्लाहकारमा ल्याउने अन्य असन्तुष्ट उम्मेदवारलाई विभिन्न विभागमा समेट्ने गरि भएको सहमतिले विवादको अन्त्य भएको बताईएको छ ।

मंगलबार भएको ५ बंदे सहमति अनुसार एनआरएनए जापानका आगामी कार्यकालको निर्वाचन सुव्यवस्थित गर्नको लागि अधिकार सम्पन्न अनुगमन समिति गठन गर्ने, शिवप्रसाद पौडेलको कार्यसमितिलाई अनुमोदन गर्ने र अनिता गुरुङलाई संरक्षक बनाउने, निष्पक्ष निर्वाचनको बिश्वासनीयता र सर्वस्वीकार्य हुने गरि सदस्यता बनाउने, MIS system को बिश्वासनीयता सुनिश्चित गर्ने, संघको खाता बाहिर रहेको संघको सम्पूर्ण रकम तत्काल संघको खातामा ल्याउने, विभिन्न बिभागलाई पूर्णता दिनको लागि उप महासचिव ओम गुरूङको संयोजकत्वमा शिबप्रसाद पौडेल र अनिता गुरूङ सदस्य रहने गरि तीन सदस्य उपसमिति गठन गरि सो समितिको सिफारिसमा नव गठित कार्यसमितिलाई सेप्टेम्बर १५ सम्ममा एनआरएनए का संरक्षक भवन भट्टले सपथ ग्रहण गराउने पनि सहमति भएको छ ।

‘हाम्रो लडाई गलत प्रवृति र पद्धति विरुद्दको लागि हो’ भनेर असन्तुष्ट पक्षकी गुरुङ नेतृत्वले दूतावास परराष्ट्र मन्त्रालय हुदै अदालतसम्म नै पुगेको यति लामो समयसम्म गरेको लड़ाई भने आखिर पदमा गएर टुङिएकोले सो समूहले भनेजस्तो पद्दति र प्रवृतिमा भने केहि सुधार भयो भनेर देखाउन सक्ने केहि नभएको जानकारहरू बताउछन ।

निर्वाचनबाट निर्वाचित भएको शिवप्रसाद पौडेल नेतृत्वको समूहले आफूहरू प्रक्रियागत रूपमा तोकिएको प्रक्रियाबाट निर्वाचित भएको र कसैले भन्दैमा पद बाढदै नहिड्ने र त्यसका लागि आगामी निर्वाचनसम्म पर्खिन भनेर अडान लिदै आएको सो टिमले पनि के आधारमा पद बाँडफाड़मा सहमति जनायो यो प्रश्न पनि अनुत्तरित नै रहेको छ ।

तत्कालीन एनआरएनए जापानको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी किरण बर्माले भने यो सहमति आफूलाई मान्य नभएको प्रतिक्रिया सामाजिक संजालमार्फत दिएका छन । सामाजिक संजालमा आज भएको सहमतिका बारेमा मिश्रित प्रतिक्रिया आइरहेका छन । कसैले यसलाई राम्रो कार्यको सुरूवात भनेका छन भने कसैले एनआरएनए जापानको नौटंकीको रूपमा लिएका छन ।

राजन प्रधानाङ्ग नेतृत्वको निर्वाचन समीक्षा समितिले के भनेको थियो ?

ठूलो रकम खर्च गरेर तत्कालीन अध्यक्ष मण्डलमा उजुरी गरेपछि राजन प्रधानाङ्गको समयोजकत्वमा ७ सदस्यीय निर्वाचन समीक्षा समिति गठन गरेको थियो ।
सो समितिले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद जापानको निर्वाचनमा स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित अनाधिकृत रूपमा मतदान गरिएको पाइएको प्रतिवेदन दिएको थियो ।निर्वाचन समीक्षा समितिले आइतबार २९२ पृष्ठको लामो प्रतिवेदन सार्वजनिक गर्दै एनआरएनए जापानको सदस्यता नरहेकाहरुद्वारा ६० वटा ग्रुप मेल तयार गरि २ हजार ९ सय ४ मत अनाधिकृत रूपमा मतदात प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरिएको छ ।गत जुलाई ३० तारिक सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएसंगै पराजित भएका २९ जना उम्मेवदारहरुले मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको भनि उजुरी गरिएको थियो ।


विवादको सुरुवात यसरी भएको थियो
एनआरएनए जापानको अध्यक्ष मण्डललाई सम्बोधन गर्दै २९ जना निर्वाचन प्रकियामा सहभागी भै निर्वाचन परिणाम आफ्नो पक्षमा नपारेका उम्मेदवारहरूले ३ हज़ार ६ सय १५ मत नक्कली रूपमा सेटिंगमार्फत मत राखी निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्दै मताधिकारको हनन भएकोले निष्पक्ष छानबिन नभएसम्मका लागि निर्वाचनको परिणाम घोषणा नगर्न आग्रह गरिएको छ ।
प्रारम्भिक आइटिको विश्लेषण गर्दा जुलाई ३० तारिक बिहान १० बजेदेखि साझ ८ बजेसम्म भएको निर्बाचनमा कम्युटर सेटिंग तथा एकै कम्युटरबाट ६८३ भन्दा बढी भोट अटोमेटिक रुपमा सिस्टमको दुरुपयोग गरि योजनाबद्द रुपमा भोट हालिएको उजुरी राख्नका लागि संयोजन गरेका डाक्टर बलराम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठसहित २९ जनाद्वारा अध्यक्ष मण्डललाई गरिएको उजुरीमा निर्वाचनमा कम्प्युटरको आइपी नम्बर चेक गरि हेर्दा एउटै कम्युटर बाट १० देखि ६८३ मतसम्म स्वचालित रुपमा मत राखिएको र त्यसमध्ये जापान बाहिर देश भारतको उडिसाबाट ४०२, नेपालको काठमाडौँबाट २६३, पोखराबाट ११, साथै जापानको फुकुओकाबाट १०१८ मत राखेको प्रश्ट भएको उल्लेख गरिएको छ ।
त्यसैगरि ओसाकाबाट ४८८,आइचीबाट १११,चिबाबाट ३४, टोकियोबाट १०५४ गरि मुख्य रुपमा ३ हज़ार ६ सय १५ मत कम्युटरमा सेटिंग बनाई हालिएको प्रमाणसहित पेश गरेको बताईएको छ ।
उजुरी गर्ने उम्मेदवारहरुमा डा. श्रेष्ठसहित, रामहरी पुडासैनी, अनिता गुरुङ, नरेन्द्र कुमार बस्नेत,किरण बर्मा र सरोज खत्री रहेका छन । त्यसैगरि छत्र दाहाल, बिष्णु प्रसाद घिमिरे, जिबन कुमार गुरुङ, बालकृष्ण कंडेल हिमाल, बिकाश बस्नेत, टिकाराम कंडेल र बुद्दीराज घिमिरे छन यसै गरि कालिका थापा, टिकाराम खरेल, कृष्ण प्रसाद खनाल , सचिन श्रेष्ठ, राजेश खनाल, राम प्रसाद शर्मा धनपति (रामु ढकाल ),राजु पनेरु,सुरेश सापकोटा (सुनिल), राम बहादुर खत्री (अर्जुन केसी),फडिन्द्र पहाडी, रामु कंडेल,थम बहादुर क्षेत्री, कृष्ण बहादुर थापा, तारा बहादुर कार्की, बिनय गुरुङ र मन्जु गिरी रहेका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?