बागलुङमा थप ९० जना कोरोना संक्रमण, एक जनाको बाटामै मृत्यु

-


     जनहित न्युज    
     श्रावण ३२ गते २०७८


बागलुङमा सोमबार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमवार गरिएको परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

आइतबार संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका वडा नम्वर १२ की ७० वर्षीया महिलाको सोमबार निधन भएको हो । आइतबार संक्रमण पुष्टि भएपछि पोखरा लगेकी महिला पुनस् परिवारले घर ल्याउँदै गर्दा पर्वतमा निधन भएको बताइएको छ ।

कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ । सोमबार १ सय ३३ जना कोरोना निको भएको छन् । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६० रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए ।

कोरोना समुदायस्तरमा फैलिरहेको बेला नागरिकको लापरवाहीको कारण समस्या सृजना भएको छ । परिवारमा एक जना कोरोना सक्रमित देखिएपछि अन्य सदस्यले परीक्षण गर्न नमानेको कारण कोरोना झनै बढेको पाइएको छ ।

पछिल्लो समय गाउँ गाउँमा संक्रमण बढेको छ भने बजार क्षेत्रमा संक्रमितहरु परीक्षण गर्न हिचकिचाएको कारण कोरोना फैलिँदै गएको छ।
परिवारका सदस्यमा कोरोना देखिए अन्यले सावधानी नअपनाएको कारण बागलुङमा शुरुदेखि नै कोरोना नियन्त्रणभन्दा बाहिर गइरहेको छ ।

परीक्षण गर्न नमान्नेहरुलाई एक दुई दिन भित्रै नयाँ रणनीति बनाउने तयारी गरेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । हरेक व्यक्ति स्वयं सतर्क र जिम्मेवार नभएसम्म संक्रमण रोकथाम गर्न नसकिने उनको भनाइ छ ।

कोरोना नियन्त्रणका जिल्लामा निषेधाज्ञा कडा पारिए पनि स्थानीय व्यक्तिहरुले स्वास्थ्य मापदण्ड पालन नगर्दा र स्वयं जिम्मेवार नबन्दा दैनिक संक्रमितहरु थपिँदै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?