
गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमितिद्धारा आयोजना गरिएको जापानव्यापी खुल्ला निबन्ध प्रतियोगितामा गुन्मा केनका बिमन किराती प्रथम भएका छन् ।
जापानमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, रोजगार र व्यवसायमा आबद्ध गैरआवासीय नेपालीहरुमा रहेको साहित्यिक प्रतिभा प्रष्फुटन गराउनका लागि ‘मैले चिनेको र चाहेको एनआरएनए’ विषयक निबन्ध प्रतियोगितामा फुकुओका केनका बिनोद पौडेल द्वितीय भएका छन भने ओइता केनका प्रशान्त गुरुङ तृतीय भएको आइतबार सार्वजनिक गरिएको नतिजा बताएको छ । ३२ जना प्रतिस्पर्धीहरुले भाग लिएको सो प्रतियोगितामा सान्त्वना पुरस्कार विजेता भने साइतामा केनका कृष्ण शिशिर भण्डारी भएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर एनआरएनए क्युस्युद्वारा आयोजित उक्त निबन्ध प्रतियोगिताका विजेताहरुलाई क्रमशः प्रथमलाई ७५ हजार येन, द्वितीयलाई ४५ हजार येन, तृतीयलाई २० हजार येन र सान्त्वनालाई १० हजार येन पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । निबन्ध प्रतियोगिताका लागि निर्णायकका रुपमा अन्तराष्टिय साहित्य समाजका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, नेपाल सरकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शाखा अधिकृत प्रकाश न्यौपाने र कुमामोतो विश्व विद्यालय, कुमामोतोका उप प्राध्यापक हरिप्रसाद देवकोटा रहेका थिए ।
औपचारिक जुम भर्चुअल माध्यमबाट नतिजामा सार्वजनिकीकरण कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, विशेष अतिथिहरु एनआरएनए आईसीसी निवर्तमान सदस्य एवं प्रायोजक टंक गैरे, हाम्रो नेपाल हामी नेपाली अभियान प्रमुख संयोजक धर्मराज अधिकारी, एनआरएनए आईसीसी सदस्य लक्ष्मण बानियाँ, एनआरएनए आईसीसी सदस्य सुपेन्द्र घिसिङ्ग, नेफिन क्युस्युका अध्यक्ष रोसनकुमार राई, एनआरएनए जापान क्युस्यु पूर्वसंयोजक किरण बर्मा, नेसाज सल्लाहकार नरेन्द्र बस्नेत, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका निवर्तमान अध्यक्ष सन्तोष थापा, एनआरएनए जापान सचिव देवराज उप्रेती, एनआरएनए सदस्य हेमा पाण्डे, प्रकाश लामिछाने, मोहन सिंह मडै, फुकुओका बाणिज्य दूतावास सेक्रेटरी दिपक देवकोटा, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जापान शाखा वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम सिग्देल, एनआरएनए क्युस्यु सल्लाहकार कृष्ण खरेल, फुकुओका नेपाल सोसाइटी अध्यक्ष माधव सिग्देल, लायन्स क्लब ३२५ ब्२ अन्तर्गत जोन चिएअर पर्सन ज्योति केसी, एनआरएनए क्युस्यु सल्लाहकार सुन्दरमणि रेग्मी, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब शंकर केसी,लगायत एनआरएनए जापानका क्षेत्रीय कार्यसमितिका संयोजक तथा कार्यसमिति एवं पत्रकारहरुको उपस्थिति थियो ।
एनआरएनए क्युस्युका संयोजक अर्जुन थापाले निबन्ध प्रतियोगीताले एनआरएनएको बारेमा बौद्धिक बहस एवं चिन्तनको सुरुवात भएको बताएका छन् । उनले प्राप्त निबन्धलाई दस्ताबेजको रुपमा राखी सबैलाई उपलब्ध गराउने जानकारी गराए ।



