व्यक्ति देविलाल भण्डारीको मुद्दा एनआरएन हुँदै राजनीतिकरण गरिंदै

- एनआरएनए जापान अध्यक्ष भण्डारीको राजिनामा माग, आर्थिक घोटालाको गम्भिर आरोप

-


     गोकर्ण अधिकारी     
     असार २ गते २०७८


जापान- गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष देविलाल भण्डारीमाथि गुन्माकेनमा सडक दुर्घटनामा निधन भएका हृदयेश जिशीको घटनामा आर्थिक घोटाला आरोप थप पेचिलो बन्दै गएको छ ।

यसै महिनाको १ तारिख एनआरएनए जापानका पूर्व अध्यक्षहरु र जापानबाट एशिया प्यासिफिक तथा आईसिसीमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुसामु अध्यक्ष भण्डारीले १० दिन भित्र आफु निर्दोश रहेको प्रमाण बुझाउन समय लिएका थिए । आफैंले मागेको समय भन्दा २ दिन ढिलो गरि भण्डारीले तिनै व्यक्तिहरु सामु प्रमाण भन्दै केही कागजात बुझाएका छन् । प्रमाणको रुपमा सडक दुर्घटनामा निधन भएका हृदयेश जिसीको नाममा आएको २६ सय ६९ मान येन रकमको बिल एशिया प्यासिफिक संयोजक गोबिन्द श्रेष्ठ र एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानागंलाई बुझाएको बुझिएको छ ।

जसमा नेपाल परिवारलाई पठाएको नेपाली रकम १ करोड ९० लाख रहेको बताईन्छ । तर बैठकमा सहभागी पूर्व एनआरएनए अध्यक्षहरुले दुई जनालाई बुझाएको प्रमाण हेर्न माग्दा उपलब्ध नगराएको सहभागीहरुको भनाई छ । ‘हामीले पैसा कति आयो र कसको खातामा आयो बुझाएको भनिएको दुईवटा डकुमेन्ट देखाउन भन्यौं तर बाहिर देखाउन नमिल्ने भन्दै दुई जनालाई दिनुभएको छ । अब हामीले हेर्न नै नमिल्ने भएपछि उहाँ देविलाल भण्डारी निर्दोस छन् कसरी भन्ने ?’

प्राप्त जानकारी अनुसार १० दिनको समय मागपछि जापानी वकिल जसले नवलपरासी गैंडाकोटका जिसीको निधन घटना मुद्दा हेरेका थिए उनीसँग ती कागजात लिइएको थियो । यसको लागि अध्यक्ष देविलाल भण्डारी, जापानी नागरिक सासाकी (जो एनआरएनए जापानको धेरै गतिविधिमा संलग्न रहँदै आएका छन्) मात्र नभई संगिता अधिकारी, सिद्धार्थ श्रेष्ठ लगायतपनि पुगेको श्रोत बताउँछ । अध्यक्ष भण्डारीले यसअघि ४२ सय १४ मान येन मृतक केसीको नाममा आएको भनि बोलेको अडियो रेकर्ड आफुले ‘आबेसमा मात्र बोलेको’ दाबी गरेका छन् ।

एनआरएनए पूर्व अध्यक्षहरु सहित अन्य बैठकहरुमा समेत भण्डारीले ४२ सय मान आएको भनि बोलेको उक्त आफ्नो अडियो गलत रहेको बताउने गरेकाछन् । पूर्व अध्यक्षहरुद्धारा भण्डारीलाई तत्काल राजिनामा दिन सुझाव, निर्दोशिताको प्रमाण बुझाउन १० दिन समय एनआरएनए जापानका एक पूर्व अध्यक्षका अनुसार जिसीको नाममा आएको भनिएको २६ सय ६९ मान येन मध्ये वकिलले करिव ३ सय ३० मान लिएको आरोपित देविलाल भण्डारीले कागजातमा दाबी गरेका छन् ।

खर्च भएको भनिएको ७ सय मान मध्ये बाँकी रकम शव व्यवस्थापन र नेपाल पठाउँदा लागेको दाबी गरिएको छ । यी दुवै तर्क समेत आफैंमा अविश्वसनीय रहेको यसबारे जानकार राख्ने व्यक्तिहरु बताउँछन् । एनआरएनए जापानकै अर्का एक पूर्व अध्यक्ष भन्छन् ‘वकिलहरुले यस्ता घटनामा अधिकतम शुल्कको रुपमा १० प्रतिशत लिन्छन् । सोझो हिसाब गर्ने हो भनेपनि २६ सय मानको २६० मान मात्र हुन आउँछ । वकिललाई ३३० मान दिएको भनिएको छ । किन र कसरी त्यति धेरै रकम दिइयो, यसमा विश्वास गर्ने आधार देखिन्न ।’

कुराकानीकाे क्रममा उनले भने ‘७ सय मान भन्दा बढी खर्च मध्ये दुर्घटनामा निधनपछि यहाँ शवको लागि गर्नुपर्ने काम देखि नेपालसम्म शव पुर्याउँदा ३ सय ७० मान खर्च भएको देखिन्छ । सामान्य अवस्थाको शव पठाउन ८० देखी १०० मान लाग्छ उनले भने ल ५० मान अन्य कामको लागि लाग्ला १ सय ५० मान भयो, तर ३ सय ७० मान खर्च देखाउँदा बाँकी २ सय मान भन्दा बढी रकम के के मा खर्च भयो ? स्पष्ट हिसाब देखाउनु पर्छ कि पर्दैन ?’

जापानमा सामान्यतया हरेक यस्ता दुर्घटनामा निधन भएका व्यक्तिका परिवारजनले दुईवटा बिमा बापतको रकम पाउने गर्छन् । जसमा गाडी चालक पक्षले दुर्घटना गराए पश्चात सो को दण्ड स्वरुप उपलब्ध गराउने रकम र अर्को सरकार पक्षबाट बिमा बापत पाउने सहयोग रकम । तर मृतक हृदयेशको घटनामा हालसम्म अध्यक्ष देविलाल भण्डारीले पत्रकार सम्मेलनमा देखाएको कागजात तथा १० दिनको समय मागेर बुझाएको कागजातमा एउटा मात्र बिमा रकम जुन २६ सय ६९ मान आएको उल्लेख छ ।

यहाँ आमरुपमा आशंका र खोजिको विषय हो भण्डारी स्वयंले नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचनसँग गरेको फोन वार्तामा आफैंले ४२ सय १४ मान आएको र पिडित परिवारको खातामा नेपाल पठाएको भनि गरेको दाबी रकम कतै अर्को बिमा बापतको रकम उल्लेख नहुनुले सोही रकम सहितको त होईन भन्ने प्रश्न खडा गरेको छ । अध्यक्ष देविलाल भण्डारीसँग सम्वन्धित रहेर भएका पछिल्ला बैठकमा एनआरएनए आईसिसि पूर्व अध्यक्ष भवन भट्ट देखी एनआरएनए एनसिसीका सबै पदाधिकारीको सहभागीता रहेको थियो ।

एनआरएनए जापान अध्यक्ष देबिलाल भण्डारीको राजिनामा माग, आर्थिक घोटालाको गम्भिर आरोप

जापानमा अध्यक्ष भण्डारीले प्रमाण पेश गर्ने समय लिएकै समयमा नेपाल स्थित मृतक हृदयेश जिसिका परिवारजनलाई भने प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न व्यक्ति मार्फत दबाव दिएको समेत पाइएको छ । यसमा भेटघाटको लागि भन्दै एनआरएनए एशिया प्यासिफिक युवा संयोजक दिपक कँडेलले परिवारका सदस्यसँग भेट गर्नुका साथै स्थानिय गैंडाकोट नगरपालिकाका मेयर छत्रराज र वडा अध्यक्ष गोवद्र्धन ज्ञवाली लगायतले भेट गरेको निधन भएका हृदयेशका भाई मोहन जिसीले जानकारी दिनुभयो ।

‘मैंले देविलाल भण्डारीले नेपाल हाम्रो घरमा आएर १३ लाख रुपैयाँ लिएको अडियो समेत उहाँहरुलाई सुनाईदिएं, उहाँहरु १३ लाख रुपैयाँ चाहिँ देविलाल भण्डारीले लिएकै हो भन्ने कुरामा सहमत जस्तै हुनुहुन्छ तर अब कुरा नबल्झाउँ मिलाउँ भन्नेकुरा उहाँहरु सबैको छ ।’ जिसिले भने ‘अनि १३ लाख लिएको हो भन्ने भइसकेपछि ४२ सय १४ मान मैंले लिएर नेपाल परिवारलाई दिएको हुँ भन्ने मान्छेले त्यो ४२ सय मानको हिसाबकिताब देखाईदिन पर्यो नि हामीलाई ।’

व्यक्ति देबिलाल भण्डारीको मुद्दा एनआरएन हुँदै राजनीतिकरण गरिंदै

सम्भवत एनआरएनए जापानका पूर्व अध्यक्षहरु एकसाथ कुनै विषयमा बहसमा उत्रेको यो पहिलो विषय हो । जसमा पदमै बहाल अध्यक्ष एनआरएनए जापानले आयोजना गरेको फेस्टिवलमा आर्थिक अनियमितता भएको निर्क्यौल सहितको छानविन प्रतिवेदनमा मुख्य जिम्मेवार व्यक्ति हुन् भने मृतक व्यक्तिको नाममा आएको रकममा धेरै वा थोरै आर्थिक अनियमितता गरेको प्रमाण नजिक छन् ।

४२ सय मान होईन भन्ने हालको दाबीलाई मान्ने हो भनेपनि भण्डारी पक्षमै बोल्दै आएका हालका एनआरएनए जापानका केही पदाधिकारी हुन् वा एशिया वा आईसिसीमा प्रतिनिधित्व गर्नेहरु सबै १३ लाख रुपैयाँ नेपाल परिवारसँग लिएको विषयमा अनौपचारिक छलफलमा सहमत छन । तर पछिल्ला छलफलहरु गम्भिर आरोपमा मुछिएका भण्डारीलाई पदमुक्त गराएर संस्थाको साख जोगाउन भन्दा घटनालाई कसरी लम्ब्याएर ढिसमिस पार्न सकिन्छ भन्नेमा केन्द्रित देखिन्छन् ।

यसमा एनआरएनए कै नेतृत्वमा रहेका केही व्यक्तिसँगै राजनीतिक आग्रह र आवद्धताले समेत भूमिका खेलेको देखिन्छ । पछिल्ला केही छलफलहरुमा नियमित सहभागी एशिया प्यासिफिकसम्म एनआरएनए अभियानमा लाग्नुभएका एक व्यक्तिले भन्नुभयो ‘चरम बिवादित कार्यसमितिले गरेको अधिवेशन र निर्वाचनमाथि नै प्रश्न खडा हुने स्थिति आएको छ, अब हुँदा हुँदा जापानस्थित नेकपा एमाले सम्वद्ध केही व्यक्तिहरु समेत घटना मिलाईदिन भन्दै घटनालाई बढी नउचालिदिन पूर्व एनआरएनए जापान अध्यक्षहरु लगायत यस विषय उठाइरहेका व्यक्तिहरुलाई भन्ने गरेका छन् ।’ एनआरएनए जापान भित्रको भ्रष्टाचार देखी व्यक्तिगत रुपमा जिम्मा अध्यक्ष देविलाल भण्डारीले गरेको कामको छानविन समितिको प्रतिवेदन आईसिसी पठाईसकिएको छ । तर यो दुई हप्ता बिचमा आईसिसीले के गरिरहेको छ ? कसैलाई थाहा छैन । आईसिसीको यो मौनताले समेत कतै एनआरएनए आईसिसी नेतृत्व नै घटना गुपचुप पार्ने ध्याउन्नमा त छैन भन्ने आम आशंका बढाउँदै लगेको छ ।

एनआरएनए जापान अनियमितता भण्डाफोर ! भूकम्प, स्मारिका, फेस्टिवल देखी आध्यात्मिक कार्यक्रममा समेत गडबड

अध्यक्ष बिरुद्ध यस्तो गम्भिर आरोप लागेर उजुरी नै परिसक्दा समेत आईसिसीको मौनताले सबैको मनमा ‘दालमे कुछ काला हे !’ भन्ने हिन्दि उखानलाई उब्जाईदिएको छ । केहीले एनआरएनए आईसिसिको गत निर्वाचनमा प्रतिनिधि सहभागीतामा अध्यक्ष भण्डारीले गरेको सहयोगको गुन तिरिरहेको बताउन थालेका छन् भने केहीले भण्डारी यो घटनामा दण्डित भएमा भूकम्प राहत देखीका घटनामा उनिभन्दा माथिल्लो तहमा पुगेकाहरु समेत तानिने भएकाले घटना सामसुम पार्नमै माथिल्लो नेतृत्व लागिरहेको बताउँछन् ।

यसबारेमा प्रतिक्रिया माग्दा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीले छोटकरी जवाफ दिंदै भने ‘मैंले आफुले मागेको समयमा प्रमाण बुझाईसकेको छु, त्यो कागजात नेपाल हृदयेशको परिवारलाई पनि जुन २५ तारिखको फ्लाईटमा पठाईदिंदैछु । अब यसमा मैंले गल्ति नगरेकाले राजिनामा दिने भन्ने कुरा आउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?