फुकुओका छुरा प्रहार प्रकरण: ३० वर्षीय यामागुची पक्राउ, हत्या प्रयासको आरोप

-


     जनहित न्युज    
     मंसिर ३० गते २०८२


फुकुओका। जापानी प्रहरीले पश्चिमी सहर फुकुओकामा आइतबार भएको छुरा प्रहार घटनामा संलग्न रहेको आशङ्कामा एक ३० वर्षीय पुरुषलाई पक्राउ गरेको छ। ‘ज्यान मार्ने उद्योग’ (Attempted Murder) को अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

आइतबार साँझ भएको उक्त घटनामा दुई जना घाइते भएका थिए।

अभियुक्त र हतियार बरामद

प्रहरीका अनुसार, पक्राउ पर्नेमा फुकुओका प्रिफेक्चरको इतोशिमा सिटी (Itoshima City) मा बस्ने ३० वर्षीय यामागुची नाओया रहेका छन्। पक्राउ पर्नुअघि प्रहरीसँगको सोधपुछका क्रममा नै उनले घटनामा आफ्नो संलग्नता रहेको सङ्केत गरेका थिए।

प्रहरीले आक्रमणमा प्रयोग गरिएको मानिएको हतियार (छुरा) समेत फेला पारिसकेको जनाएको छ।

घटनाक्रम: कर्मचारीलाई रोक्दा आक्रमण

प्रहरी अनुसन्धानका अनुसार, घटनाको सुरुवात डोम स्टेडियमको ‘स्टाफ ओन्ली’ (कर्मचारी मात्र जान मिल्ने) लिफ्ट हलमा भएको थियो। त्यहाँ रहेका एक पप आइडल समूहका ४४ वर्षीय पुरुष कर्मचारी ले संदिग्ध व्यक्तिलाई बाहिर जान भनेलगत्तै उनले कर्मचारीको छातीमा छुरा प्रहार गरेका थिए।

कर्मचारीलाई आक्रमण गरेपछि संदिग्ध व्यक्ति नजिकैको अर्को व्यापारिक भवन (Commercial Facility) तर्फ गएका थिए, जहाँ उनले अर्को कार्यक्रमका लागि ओकायामा प्रिफेक्चरको कुराशिकी सहरबाट आएकी २७ वर्षीया महिला को ढाडमा छुरा प्रहार गरेका थिए।

घाइतेहरूको अवस्था

आक्रमणपछि दुवै घाइतेलाई अस्पताल लगिएको थियो। प्रहरीका अनुसार दुवैको चोट गम्भीर भए पनि अवस्था खतरामुक्त रहेको छ।

घाइते महिलाले प्रहरीलाई दिएको बयान अनुसार, आक्रमणकारीसँग उनको कुनै चिनजान थिएन। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?