
जापानको राजधानी टोकियोमा एनआरएनए जापानले गर्न लागेको प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशमा पनि प्रवर्द्धन गर्ने मूल उद्देश्य सहित आगामी सोमबार हुन लागेको उक्त प्रतियोगिताका लागि टिम दर्ता, व्यस्थापकीय कार्यसहित आवश्यक नियमहरूको तर्जुमा गरि सकिएको कार्यक्रम संयोजक एनआरएनए जापानका केन्द्रीय समिति सदस्य रामबहादुर थापा (काजी)ले जानकारी दिए ।

Shinjuku Cosmic center’ मा बिहान ९ बजेदेखि हुने उक्त प्रतियोगिताको लागि आइतबार ३ बजेसम्मका लागि टिम दर्ताको लागि समय निर्धारण गरिएको र सोहि दिन साँझ ५ बजेसम्म खेलको टाइसिट संस्थाको आधिकारिक फेसबुक पेजबाट जानकारी गराइने संयोजक थापाले बताए । उनले भने- ‘खेलाडीहरुको टिम दर्ता शुल्क ४ मान येन तोकिएको र आइतबार दिनको ३ बजेसम्म संस्थाले उपलब्ध गराएको आधिकारीक बैंक खातामा जम्मा गराई सक्नुपर्ने र टिम दर्ता गराउँदा सबै खेलाडीको नाम स्पष्ट खुलाउनु पर्ने छ।’
प्रतियोगिता नक आउट सिष्टम अनुसार नेपाली रेफ्रीद्वारा खेलाईने, टाईसिटसंगै प्रतियोगिताको समय तालिका पनि प्रकाशित गरिने, आफ्नो खेल शुरु हुने समय भन्दा १५ मिनेट ढिलो भएको खण्डमा प्रतिस्पर्धी अर्को टिमलाई स्वतः जीत घोषणा गरिने, खेलाडीले स्पष्ट नम्बर खुल्ने जर्सी र स्पोर्ट्स जुत्ताको व्यवस्था आफै गर्नु पर्ने, खेलमा नेपाली खेलाडी मात्र सहभागी गराउन पाईने, खेलाडी संख्या अफिसियल सँगै १० जनाको हुनु पर्ने, प्रतियोगिता स्थल भित्र मादक पदार्थ सेवन गरी प्रवेश गर्न नपाईने र खेलमा कुनै प्रकारको विवाद आएमा आयोजकको निर्णय नै सर्वमान्य हुने नियम बनाइएको खेल संयोजक वसन्त थापाले जानकारी दिए ।
प्रतियोगितामा बिजेता टिमले ३ लाख ५३ हजार ५३५ जापानीज येन, मेडल, प्रमाणपत्र र उप-बिजेता टिमले २ लाख २५ हजार ५२५ जापानीज येन, मेडल, प्रमाणपत्र प्राप्त गर्नुका साथै खेलमा वेष्ट प्लेयर, वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट क्विकर, वेष्ट डिफेन्डर र वेष्ट कोच गरि ६ वटा विधामा उत्कृष्ट छनौट गरि पुरस्कार बितरण गरिने खेल संयोजक थापाले जानकारी गराए ।
एनआरएनए जापानले विदेशमा खेलकुदको माध्यमले एक आपसमा भाइचारासमेत बढाउने हुँदा प्रतियोगिता आयोजना गर्न लागेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताए ।



