प्रवासमा बढ्दैछन् असमझदारी, किन टुट्दैछन् वैवाहिक सम्बन्धहरू !

-


     प्रतिज्ञा अधिकारी    
     जेठ १ गते २०८०


सृष्टिको सुरुवातमा महिला र पुरुषको परिकल्पना गर्नुको अर्थ महिलाले घर सम्हाल्ने र पुरुषले जहान परिवार पाल्ने मनसायले भएको हुन सक्छ। तर एक्काइसौ शताब्दिमा आईपुग्दा पुजिवाद,औधोगिकरण, महिलाबाद, उपभोक्ताबाद जस्ता अनेक बादका कारण’अर्को जेनेरेसन ‘ तयार पार्ने जिम्मेबारी सँगसंगै महिलामा अरु पनि जिम्मेबारी थपिए । 

विवाहलाई सस्थागत गर्ने नाममा विवाह भएको दिन देखि महिला त्यो पुरुषको ‘स्वामित्व बस्तु’ मा परिणत भयो। यस्तो हुँदा सम्बन्धमा समभाव हुने त कुरै भएन। जसले गर्दा धेरै जसो सम्बन्धहरुमा एक खालको ‘प्रतिस्पर्धा’ देखिन थाल्यो। नेपालमा यस्तो प्रतिस्पर्धा भएपनि परिवार नै बिखन्डन तिर धकेल्न भने गाह्रो हुन्थियो। बिदेश आईसकेपछि बिभिन्न खाले स्वतन्त्रताका कारण सम्बन्धबाट छुट्टीने ठुलो कुरा भएन। महिला वा पुरुष दुवै आर्थिक रुपमा सबल हुनु, च्वाईसहरू उपलब्ध हुनु र अहंकार उत्पन्न हुनु सम्बन्धमा दरार आउने केही कारण मध्य हुन सक्छन् । अलिकति पैसा हुना साथ ‘तरुनी’ चाहिने रोग पनि बिदेशमा प्रशस्त देखियो। 

सम्बन्धमा विचलन आउने विविध कारण मध्य केहि निम्न हुन सक्छन।

कृतिम सम्बन्धहरु
आजभोलि सोसल मिडियाका कारण मानिसहरुको रहन सहन, जीवनशैली मात्रै हैन जीवन पद्दतिमै फरक परेको छ। फोनले निर्देशित गरिरहेको छ जीवन बाच्ने तरिका। एउटाले राम्रो गाडी चढ़्यो, ठुलो घर बनायो, घुम्न गयो अर्कालाई पनि त्यहि चाहियो। सके आफुले त्यस्तै गर्‍यो नभए चिन्ता, रिस , जलन अनि पिडाले कुन्ठित भयो मानशिक रोग निम्तायो। मान्छे जीवन बुझ्दैन जीवनशैलीको पछि लाग्छ।समुन्द्रको छेउमा उभिएर फोटो खिच्दै गर्दा समुन्द्रमा आउने छालको बहाब बुझ्ने कोशिस नै गर्दैन। जीवन बुझ्नको लागि मात्र जीवन भएपुग्छ, जो हामी प्रत्येकसँग छ। जीवनलाई फरक ढ्ङ्ले नबुझी खाली पैसा, मान सम्मान, आदिको पछाडि लाग्दा लाग्दै जीवनबाटै पछाडि धकालिएको धेरै लाई पत्तै हुन्न। सम्बन्धहरु पनि कृतिम देखिन्छन। सम्बन्धको लागि माया, ममता, करुणा, उत्तरदायित्व जस्ता जिम्मेबारी रोप्न पर्ने ठाउमा स्वार्थ, रिस अनि जलन रोपेका छौ अनि सम्बन्ध प्रेमिल खोज्दछौ। खोजेको कुरा नभेटाउदा एक किसिमको खिन्नता, रिक्तता र अभाब महसुस मानिसले गर्दछ। बिउ नै गलत रोपियो कि भन्ने तिर ध्यान नदिएर एक अर्कामा आरोप प्रत्यारोप सुरु हुन थाल्छ अनि स्वर्ग भनिएको घर युद्द मैदानमा परिणत हुन्छ। यसले परिवार, केटाकेटीलाई त असर गर्छ नै आत्महत्याको निर्णयसम्मपनि मानिस पुग्दछ।

इज्जतको पिर
मान्छेलाई सामाजिक प्राणी हो भन्ने पगरी गुथाइेको छ। विवाहलाई सामाजिक बन्धन हो भनिएको छ। विवाह धुमधामले गर्ने फेसन चलेको छ। दाम्पत्य जीवन कस्तो चलेको छ तिर ध्यान दिएको छैन। पक्कै पनि सम्बन्धहरु सुदृढ भएको राम्रो हो। तर सम्बन्धमा दरार आएपछि एक अर्कालाई हानी नपुराइ निकासको बाटो खोज्नु राम्रो हुन्छ,तर त्यस्तो हुँदैन। उसो त विवाह भएको केही बर्षमा सन्तान जन्मन्छन, पारिबारिक अनि साथीभाइको संख्यापनि बढ्छ । यससंगै जोडिएको सामाजिक प्रतिष्ठा त छदैछ। अझै छुट्टिदा भोग्नु पर्ने पिडा त छ नै, समाजले दिने पिडा थेग्न धेरै मान्छेलाई गाह्रो भएको देखिन्छ। यदि केटी मान्छे अग्रसर भएर बिछोडको प्रकृया अगाडि बढएमा केटा मान्छेको यौन क्षमताको कुरा आउछ भने केटाले छोडिदिए केटीको चरित्र माथि समाजले धावा बोल्छ। उसो त यस्तो हुँदै नहुने भने हैन तर समाजले यस्तरी हौवा फैलाउछ मानौ त्यो नै अन्तिम सत्य हो।

सर्टिफिकेटका भारी बोकेका तर विवेकका शुन्यहरु, धनि पनि यति धनि जोसँग धन बाहेक केही छैन वा जीवनशैलीको पछाडि लाग्ने तर जीवनमा
जीवन्तता नभएका अनि मानवीय मूल्य र मान्यतामा चुकेकाहरुलाई हामीले वाही वाही गर्न छोडेर गरीब नै किन नहोस सत्यको बाटो अंगालेकाहरूलाई सम्मान गर्न सिकौ समाज आँफै परिष्कृत हुन्छ ।

सिंगल केटी देख्ने बित्तिक्कै ‘यो त एक्ली छे, सजिल्लै पटिन्छे ‘ भन्ने दास मानसिकता भएकाहरु सिंगल महिलालाई ‘योनी बाहक’ मात्रै ठान्दछन। यस्ता नागाहरु हरेक गल्ली गल्लिमा भेटिन्छन्। अर्को तर्फ केटा मान्छे अझ सामाजिक रुपमा चिनिएको छ भने उसलाई इज्जत’दाउ’मा लगाएर छुट्टीन मन लाग्दैन- मन र ओछ्यान भने छुटिन्छ। यस्तरी हरेक पल मर्दै विवाहलाई बचाउनु पाप नै हो।
यस्तो जिन्दगी बाँच्न पर्दा एकातिर अहङ्कारमा चोट लाग्छ भने अर्को तिर यिनीहरूको पैसाले माया (यौन) किन्न उद्दत रहन्छन। केहि मान्छेहरु यस्तैमा रुमलिन सक्छन भने कोही थाकेर जिन्दगी बाटै बिदा लिन्छन। समाजमा केही घटना घट्यो भने समाज न्यायधिश बनिहाल्छ। केटाले गरे पनि केटीले गरे पनि हिंसा हिंसा नै हो र हिंसा गर्नेले सजाय पाउनु नै पर्छ।
किन बढ्दैछ दुरी
बिदेशमा श्रीमान र श्रीमति दुबैले काम नगरि सुखै छैन। आमाको शिफ्ट बिहान हुन्छ भने बुवाको बेलुका वा भाईस भर्सा !
आमा बुवा र छोराछोरी एकै चोटि भेट हुन एक हप्ता कुर्न पर्छ। बल्ल बल्ल आएको छुट्टी पनि बिहे, भोज यस्तै यस्तैमा बित्छ। एकअर्काको सम्बन्ध मलजल गर्न पाएका नै हुँदैनन। एउटा फोटो खिचिक्क पर्‍यो, फेसबुकमा हाल्यो। आत्मीयता बिना बनेको सम्बन्ध टिकाउ हुँदैन। माया, प्रेम नरोपी प्रगाढ सम्बन्धको आशा गर्नु बालुवा पेलेर तेल निकाल्न गरिएको प्रयास जस्तै निरर्थक हुन्छ। सद्भाब, सहभाव र समभाव बिनाको कुनै पनि सम्बन्ध सम्भव नै छैन। र यही कुराले नै हो बाँच्न सिकाउने। जीवनको लक्ष र उपादेयता नबुझेर दिशाबिहिन भइ अलमलिएकाहरूलाई चेतना, विवेक र बुद्दिको संयोजन जीवन जिउने सहि कला सिकाउने आध्यत्म हो। तर आध्यात्मलाई धेरैले आत्मसाथ गरेको भेटिदैन। अझ यस्ता कुरा अली उमेर ढल्के पछि ध्यान दिने हो भन्ने धेरै मानिसको बुझाई छ।जसरी जग बिना घर बन्दैन त्यसरी नै जीवनको सच्चाइ नबुझिकन जीवन सफल हुने कुरै भएन।
हामीलाई कुनै पनि खालको शिक्षा वा ज्ञान चाहियो भने सूचनामुलक शिक्षा सजिलै उपलब्ध हुन्छ तर आध्यात्मिक ज्ञान लिने ठाउँ छैन वा ध्यान दिएको देखिदैन।

मिसन रिलेसन
यो संसार आधुनिकिकरणको चपेटामा नराम्ररी परेको छ। आफ्ना घर भित्रको सम्बन्धमा अलिकति दरार आयो भने त्यो दुरी घटाउन भन्दा अप्सन खोज्न मान्छे उद्दत भएको देखिन्छ। जति बिकशित मुलुकमा बसे पनि घरको चुल्हो चौको महिलाकै भरमा हुन्छ। दिन भरी सङ्गै उस्तै प्रकृतिको काम गरेर घर आएपछि सोफामा पल्टेर रिमोट घुमाउने सुबिधा पुरुष र महिलालाई बराबर रुपमा उपलब्ध हुँदैन। काम, घरको चुल्हो चौको अनि केटाकेटीको होमवोर्क र अरु गृहकार्य सकेपछि थकित महिला ओछ्यानमा जादा उनीसँग इनर्जी नै सकी सकिएको हुन्छ। काहि न काही सम्बन्ध टिकाइ रहन वा सफल दाम्पत्य जीवनको कडीमा यौन जोडिन्छ नै। जब पुरुष आफुले भने जस्तो तृप्‍ति पाउदैन तब बाहिर भौतारिएको देखिन्छ। महिलाको हकमा यो हुँदै नहुने भने हैन तर सम्भाबना कम रहन्छ बिभिन्न सामाजिक परिवेशका कारण। अर्कोतर्फ पद पैसा र प्रतिष्ठाको उन्मादमा पुरुषहरु ‘तरुनी’ को खोजिमा लाग्छन र उनीहरुको मिसन भने यौन हुन्छ।आफ्नो घर परिवार हुँदा हुँदै मस्ती गर्न आउने पुरुष वा महिलाको सम्बन्ध पैसाको लेनदेन र बेडमा मात्रै हुन्छ। केही समयपछि सम्बन्ध अनि लेनदेनमा गड्बढ हुन्छ अनि छताछुल्ल हुन्छन् भिडियोहरु। यती बेलासम्म ढिला भैसकेको हुन्छ, कसैको प्रब्लम सल्भिङ स्किल राम्रो हुन्छ अनि यस्तो परिस्थितिलाई सेफ ल्यान्डिङ गर्छन् कोही भने आत्महत्या।

आइडेन्टीटी क्र्राइसिस
बिदेशमा सुख खोज्न आउने क्रम बढ्दो छ। यो क्रममा नेपालमा राम्रै करियर भएका मान्छेहरु पनि बिदेश आएका छन। यहाँ आएपछि जे काम भेटिन्छ त्यहि गर्नपर्ने बाध्यता छ। यस्तोमा महिलाहरु चाँही अली छिटो परिस्थितिलाई एड्याप्ट गर्न सक्दा रहेछन्,पुरुषलाई भने हिनताबोधले गाज्दो रहेछ। फलस्वरुप, रिसाउने, आफ्नै श्रीमतिलाई विश्वाश नगर्ने, कुटपिट गर्ने लक्षणहरु देखापर्ने रहेछन् , कतिलाई त डिप्रेसन् हुने रहेछ। यस्तो अवस्थामा श्रीमान श्रीमतिले एक अर्कालाई बुझ्न जरुरी हुन्छ। तर यस्तो भएको देखिदैन। अहंकारले डेरा जमाइसकेको हुन्छ। सम्बन्धमा समभावको सट्टा समदुरी उत्पन्न भएर दुर्घटना भएको पनि हामीले देखेका छौ।  

काहि न काही सम्बन्ध टिकाइ रहन वा सफल दाम्पत्य जीवनको कडीमा यौन जोडिन्छ नै। जब पुरुष आफुले भने जस्तो तृप्‍ति पाउदैन तब बाहिर भौतारिएको देखिन्छ। महिलाको हकमा यो हुँदै नहुने भने हैन तर सम्भाबना कम रहन्छ बिभिन्न सामाजिक परिवेशका कारण। अर्कोतर्फ पद पैसा र प्रतिष्ठाको उन्मादमा पुरुषहरु ‘तरुनी’ को खोजिमा लाग्छन र उनीहरुको मिसन भने यौन हुन्छ।

र अन्तमा एउटा सम्बन्ध राम्रो भए घर राम्रो हुन्छ र घर राम्रो भए समाज। त्यसको लागि हामीले हाम्रो सोचाइ अनि मानसिकतामा ब्यापक परिवर्तन ल्याउन पर्ने हुन्छ। सर्टिफिकेटका भारी बोकेका तर विवेकका शुन्यहरु, धनि पनि यति धनि जोसँग धन बाहेक केही छैन वा जीवनशैलीको पछाडि लाग्ने तर जीवनमा
जीवन्तता नभएका अनि मानवीय मूल्य र मान्यतामा चुकेकाहरुलाई हामीले वाही वाही गर्न छोडेर गरीब नै किन नहोस सत्यको बाटो अंगालेकाहरूलाई सम्मान गर्न सिकौ समाज आँफै परिष्कृत हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?