
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने सूचना र जानकारीमूलक रचनात्मक कार्यक्रम “एनआरएनए मेरो साथी” अन्तर्गत आगामी शनिवार अर्थात् अप्रिल १६ तारिक ‘जापानमा नेपाली विद्यार्थीहरूप्रतिको बाहिरी हेराई र वास्तविक भोगाइ’ विषयक भर्चुवल रूपमा अन्तरक्रियात्मक कार्यक्रम हुने भएको छ ।
नेपालबाट जापानमा विद्यार्थी भिषामा आउनका लागि आकर्षक गन्तव्यको रूपमा रहेकोले लामो समयदेखि जापानमा आइ अध्ययनका शिलाशिलामा प्राप्त गरेका अनुभवहरूलाई र ज्ञानलाई साटासाट गरि आगामी पिंढीलाई जानकारी दिने ध्ययले सो कार्यक्रम गर्न लागिएको एनआरएनए जापानका सचिव श्याम शीतलले जानकारी दिए ।
कोरोना महामारीका कारण लामो समय पश्चात जापानले आफ़नो सीमा नियन्त्रणमा खुकुलो गर्ने र विद्यार्थीलाई प्राथमिकताका साथ जापान प्रवेशका लागि अनुमति दिने नीति अवलम्बन गरेका कारण हज़ारौ नेपाली विद्यार्थी जापान आइरहेको सन्दर्भलाई समेत ध्यानमा राखेर जापानमा अध्ययनका क्रममा सिक्नुपर्ने आधारभूत कुरालाई समेत सो कार्यक्रममा सूचनामूलक रूपमा जानकारी दिइने सचिव शीतलले बताए ।
कार्यक्रममा नेपाली विद्यार्थीको घनत्व भएका ओकिनावा, मिए केन, सेन्दाइ र कोबे क्षेत्रमा अध्ययन गरि सो क्रममा आफूहरूले सिकेको ज्ञान, अनुभव र व्यावहारिक पक्षलाई संगालेका चार जना नेपाली सेम्पाईहरूले प्यानलिष्टको रूपमा रहने एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्ष निउरेका अनुसार विद्यार्थी जीवनमा निराशा आउन नदिनका लागि के गर्ने? जापानमा विद्यार्थीहरूले छात्रवृति कसरी प्राप्त गर्ने? र जापानमा नेपाली विद्यार्थीहरूको वास्तविक भगाई, जुम्बि भिषा पाएका विद्यार्थीहरूले विद्यार्थी भिषा मै फ़र्किन के गर्ने भन्ने विषयमा मुख्य केन्द्रित रहेर प्यानलिष्टहरूले आफ़नो अनुभव र धारणा राख्ने राखिने छ ।
प्यानलिष्टको रूपमा ओकिनावाबाट राहुल शाह, मिए केनबाट कृष्ण भुसाल, सेन्दाइबाट दिलकुमारी शाही र कोबेबाट विकास न्यौपाने रहने छन । बेलुका ५ बजेबाट प्रशारित हुने सो कार्यक्रमको जापानमा क्रियाशील जनहित न्यूजको फ़ेसबुक पेज, एनआरएनए जापानको फ़ेसबुक पेजसहित १४ वटा मिडियाबाट प्रत्यक्ष प्रशारण हुनेबताईएको छ ।



