काठमाडौँ– संसारमा दुख, कष्ट, मेहनत र परिश्रमबाट सफलताको चुचुरोमा पुगेका धेरै स्टार छन् । खेलकुदको मान्यता नै हो कि, संसारका सम्भ्रान्त देशका खेलाडी पनि सुखमा हुर्किएको कारण होइन, दुख झेल्ने हिम्मत गरेका कारण स्टार भएका छन् ।
संसारकै सम्पन्न खेलकुदमा राज गरिरहेको अमेरिकाको हकमा यसै वर्ष दुई आप्रवासी खेलाडीले महत्त्वपूर्ण सफलता दिलाए । सुडानी आप्रवासी बाबुआमाकी छोरी एथिङ मुलाई त अबको विश्व खेलकुदको नयाँ नायिकाका रूपमा वर्णन गर्न थालिएको छ । गत ओलम्पिकमा ८ सय मिटर र चार गुणा ४ सय मिटर रिलेमा स्वर्ण पदक जितेकी उनले आगामी प्रतियोगितामा ४ सय मिटर दौडमा पनि सहभागिता जनाउने र त्यसमा पनि सफलता पाउने सम्भावना प्रबल रहेको जनाइन्छ ।
विश्व बक्सिङमा तहल्का मच्चाउने मेनी पाक्युको बारे त धेरैलाई थाहा नै छ । फिलिपिन्सको एउटा सामान्य परिवारमा जन्मिएका पाक्युले गरिबीको कारण पढाइ छाडेर कुल्ली काम गर्न थालेका थिए । ती नै पाक्युले कुल्ली काम गरेर बक्सिङ खेललाई निरन्तरता दिएका थिए । उनी ओलम्पियन मात्र भएनन्, प्रोफेसनल मुक्केबाज हुँदै थुप्रै उपाधि जिते । धेरै पैसा कमाइसकेपछि फेरि पढाइमा ध्यान दिए । राजनीतिमा पनि सरिक उनी राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।
फ्रान्सले अहिलेसम्म दुईपटक विश्वकप फुटबलको उपाधि जितेको छ । पहिलो पटक १९९८ मा हेभिवेट फेभरेट ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्सले दोस्रो पटक २०१६ मा उपाधि जित्न सफल भएको हो ।
सन् १९९८ मा फ्रान्सले उपाधि जित्दा अल्जेरियाली आप्रवासी जिनेदान जिदान टोलीमा प्रमुख खेलाडी थिए । ती नै जिदानलाई हेरेर संसारका थुप्रै व्यक्ति फुटबलमा मोहित भएका थिए । धेरैमा फुटबल खेल्ने चाहना जागेको थियो । जिदानजस्तै लोकप्रिय बन्ने सपना देख्न थालेका थिए ।
यस्तै गरिबीमा हुर्के, एंगोलो कान्टे । फ्रान्सले सन् १९९८ को विश्वकप जित्दा ती नै कान्टे रङ्गशाला वरपर छरिएका पानी र बियरका बोतल उठाउँथे । यो विश्वकपमा आयोजक टोलीले कुनै खेल हारेन, त्यसैले घरेलु समर्थकहरूमा ठुलो उत्साह थियो ।
८ वर्षका कान्टे पनि उत्साहित थिए । तर, कारण भने फरक थियो । समर्थकहरूले फालेका बोतलहरू बेचेर उनले राम्रो पैसा कमाएका थिए । त्यही विश्वकपले उनमा फुटबलप्रतिको लगाव पनि सिर्जना गरेको थियो ।
२९ मार्च १९९१ मा फ्रान्सको पेरिसस्थित रुईल माल्माईसन बस्तीमा एनगोलो कान्टे जन्मिएका थिए । यो बस्तीमा दैनिक रोजीरोटीका लागि मजदुरी गर्नेहरूको बाहुल्यता थियो । कान्टेका बाबुआमा मालीबाट काम खोज्दै ८० को दशकमा फ्रान्स पुगेका थिए । परिवारमा कान्टे जेठो छोरा थिए । यसपछि यो दम्पतीका अन्य तीन सन्तान जन्मिएका थिए ।
सानो उमेरमा नै धेरै जिम्मेवारी बोकेका कान्टेले सान उमेरमा कवाडीको काम गरेका थिए । पश्चिम रुईलदेखि कवाडी खोज्नका लागि उनी पेरिसको पूर्वी भागसम्म पुग्थे । यसरी सङ्कलित कवाडी उनी प्रशोधन कम्पनीलाई बेच्थे । बाँकी समय उनी फुटबलमा बिताउँथे ।
कान्टेको जीवनमा एकपछि अर्को दुखद घटनाले घेरेको थियो । उनी ११ वर्षको मात्र हुँदा बाबुको निधन भयो । उनलाई कवाडी सङ्कलनबाट आमा र भाइबहिनीको आवश्यकता पूरा गर्न सकिँदैन भन्ने त नलागेको होइन । तर, विकल्प पनि थिएन ।
परिवारलाई गरिबीबाट मुक्त गर्नका लागि कडा परिश्रम गर्ने सपना उनले देखेका थिए । कान्टेलाई कडा परिश्रममा विश्वास थियो । बार वा क्याफेमा काम गरिरहेका बेला उनी बेला–बेलामा टेलिभिजनमा फुटबल हेर्थे । जिदान, हेनरी थिएरी, पेट्रिक भियरा, लिलियम थुराम, निकोलस एनाल्का लगायत आप्रवासी मूलका खेलाडीहरूमा कान्टे आफ्नो अनुहार देख्थे ।
देशका सबै वर्ग र समुदायका मानिसहरूका लागि फुटबलमा स्थान छ भन्ने महसुस उनलाई यो टोलीले गरायो ।
कान्टेले यो पनि थाहा पाए कि, फ्रान्सलाई त्यस पहिलो विश्वकप उपाधि दिलाउने नायक जिनेदाने जिदान पनि अल्जेरियाली आप्रवासी बाबु आमाका सन्तान थिए ।
यसपछि स्थानीय क्लब जेएस सुरेसनेस नामकमा उनी आबद्ध भएका हुन् । सुरुमै उनी गोलका लागि कसरी अवसर खोज्ने भनेर उनले सिक्दै गए । युवाकालमा उनले यस क्लबबाट केही ट्रफी पनि जिताए, तर उनी कहिल्यै खुसी मनाएनन् ।
४ वर्ष एकेडेमीमा बिताएपछि बालबालिकालाई प्रशिक्षण गराउने जिम्मेवारी पनि उनलाई दिइयो । यसका लागि उनले अतिरिक्त समय दिनुपर्ने थियो र केही पैसा पनि आउँथ्यो । तत्कालीन म्यानेजर पिर्रे भिल्लेले यस्तो अवसर जुराइदिएका थिए ।
यो अवसरले उनलाई फुटबलमा टिकाउने र थप अब्बल बनाउने काम गरेको थियो । सन् २०१० मा उनी फ्रान्सको तेस्रो डिभिजन क्लब ब्लोनमा छानिए भने त्यसको तीन वर्षपछि सन् २०१३ मा कान नामक दोस्रो डिभिजनको क्लबमा स्थानान्तरण भए । सोही क्लबलाई लिग वानमा छनोट गराउन सफल भए पनि कान्टेको खेल जीवनले अर्को उचाइ छोएको थियो ।
युरो २०१६ कान्टेका लागि महत्त्वपूर्ण साबित भएको थियो । त्यो युरो कप फ्रान्सले उपाधि त जितेन । तथापि, कान्टेलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने एउटा आधार भने तयार गरेको थियो । सुरुवाती खेलमा नै रोमानियाविरुद्ध धेरै पासहरू सिर्जना गरेका उनी डिभेन्सिभ मिडफिल्डरको रूपमा संसारकै एक परिष्कृत खेलाडीको रूपमा आफूलाई प्रस्तुत गर्न सफल रहे । धरै ट्याकल गर्नुका साथै र मैदानमा धेरै प्रभाव राख्ने उनको त्यो शैलीले टोलीलाई नै एक किसिमको सहजता निम्त्याएको थियो ।
सोही खेलमा उनको पासमा दिमिट्री पायटले निर्णायक गोल गरे भने गरे भने फ्रान्स २–० ले विजयी भयो । दोस्रो चरणमा आयरल्यान्ड गणतन्त्रविरुद्धको खेलमा दोस्रो पहेँलो कार्ड पाएका उनले क्वाटर फाइनल गुमाए । पोर्चुगलसँगको फाइनलमा फ्रान्स १–० ले पराजित हुँदा उनी बेन्चमै थिए ।
विश्वकप २०१८ मा उनले फ्रान्सबाट सबै ७ खेल खेले । डेनमार्कविरुद्धको समूह चरणको खेलमा उनले म्यान अफ द म्याचको अवार्ड जितेका थिए । फाइनलमा क्रोएसिया विरुद्ध पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो । यस प्रतियोगितामा कान्टे मैदानको चारैतर्फ छाएका थिए ।
सफलताको उचाइमा पुगे पनि कान्टे निरन्तर मेहनती छन् । उनी सादा जीवनशैलीमा विश्वास गर्छन् । अन्य खेलाडीहरू विलासी गाडीको सौखिन भइरहँदा उनी अहिले पनि सामान्य सवारी साधनको प्रयोग गर्छन् ।
यस्ता अनेकन् उदाहरण छन्, गरिबीबाट संसारको माथिल्लो उचाइमा पुग्नेहरूक । इथोपिया, संसारको गरीब देशमध्येको एक । यही देशका खेलाडीले मध्यम तथा लामो दुरीको रेसमा संसारमा तहल्का मच्चाइरहेका छन् । इथोपियाको पनि गरीब परिवारको कल्पना गर्न धेरैलाई कठिन होला । इथोपियाको सामान्य र सङ्घर्षशील परिवारकी डिबाबा दिदी बहिनीको कथा संसारका खेलकर्मीका लागि प्रेरणाको श्रोत बन्न सक्छ ।
टिरिनेस दिवावाले २००८ को बेइजिङ ओलम्पिकमा ५ हजार मिटर र १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् । यसको चार वर्ष पछि लन्डन ओलम्पिकमा उनले १० हजार मिटर दौडमा स्वर्ण पदक जित्दै उपाधिको रक्षा गरिन् । १० हजार मिटरमा ओलम्पिक स्वर्णको रक्षा गर्ने महिला खेलाडीको रूपमा उनले कीर्तिमान राखेकी थिइन् । उनका तिन बहिनी जेन्वा,अन्ना र मेलाट पनि अहिले दौडमा उत्तिकै सक्रिय छन् ।
इथोपियाको राजधानी अदिस अवावामा माटोका छाप्रोमा हुर्किएका उनीहरूको सङ्घर्षको कथा पनि संसारका धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।
त्यसो त ओलम्पिक खेलकुदको सुरुवाती कालमा नै उदाएका जिम थोर्पे पनि अत्यन्त गरीब परिवारमा जन्मिएका अमेरिकी थिए । १९१२ को समय ओलम्पिकमा थोरै स्पर्धा समावेश गरिएका हुन्थे । उनले सोही ओलम्पिकमा मोडर्न पेन्टाथलन र डेकाथलनको स्वर्ण पदक जितेका थिए । सो समयमा उनलाई संसारकै भर्सटाइल खेलाडीको रूपमा चिनिन्थ्यो ।
त्यसो त संसार जित्ने माइक टाइसनका फ्यान अहिले पनि उत्तिकै छन् । ८० र ९० को दशकमा टाइसनको प्रभाव त धेरैलाई याद छ । यी नै टाइसन यस्तो गरिबीमा हुर्केका थिए कि, गरिबीकै कारण उनले बाल्यकालमा धेरै खराब सङ्गत गरे । हुल्लडवाजको लहैलहैमा लागेका उनलाई प्रहरीले कैयौँपटक पक्राउ पनि गरेको थियो ।
टेनिस स्टार नोभाक जोकोभिकको कथा त यस्तै नै छ । उनले गरिबीको सामना गरेनन् । देश गृह युद्धको चपेटामा परिरहेको समयमा बमबारीको बीचमा पनि अभ्यास गरिरहेका थिए ।
संसारका सर्वकालीन उत्कृष्ट फुटबलर पेले पनि गरीब परिवारमा हुर्किएका थिए । ब्राजिलको ट्रस कोरकासमा जन्मिएका उनले कपडाले पोको पारेको मोजाको बल बनाएर खेल्न सिकका थिए ।
२००४ र २००५ मा बक्सिङको मिडलवेट उपाधि भएका कासिम ओमा पनि यसै किसिमको गरिबीमा हुर्किएका खेलाडी थिए ।
युगान्डाको सामान्य परिवारमा जन्मिएका उनलाई ६ वर्षको उमेरमा अपहरण गरेर नेसनल रेसिस्टेन्स आर्मीमा भर्ना गरिएको थियो । त्यसको पाँच वर्षसम्म त उनले आफ्नो अभिभावकको अनुहार समेत देख्न पाएका थिएनन् ।
एमच्योर बक्सरको रूपमा केबल तीन हार र ६२ जितको सानदार सफलता पाएका उनी आफ्नो घर परिवार सम्हाल्नै नसक्ने अवस्था देखेपछि सन् १९९६ को एटलान्टा ओलम्पिक नै छाडेर प्रोफेसनल बक्सिङमा आबद्ध भएका हुन् ।
संसारमा यस्ता धेरै उदाहरण र प्रेरणाको श्रोत हुन सक्छन् । यी त केबल प्रतिनिधि पात्र हुन् , जसले चरम गरीबीको बीचबाट आफूलाई बाहिर निकाल्दै संसारमा सनसनी फैलाएका छन् ।
तसर्थ गरिबी अभिशाप मात्र होइन मेहनतीका लागि वरदान हुन सक्छ । अझ खेलकुद, क्षेत्रको हकमा । तर यसका लागि कठोर मेहनत, दृढ विश्वास तथा सही प्रशिक्षण त आवश्यक छदैँछ ।
एजेन्सीहरूको सहयोगमा