सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतवार सकिएको छ । शनिबारदेखि सुरु भएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका राजनीतिक प्रतिवेदन, विधान संशोधन र समसामयिक प्रस्ताव पास गर्दै सकिएको हो।
बैठकपछि बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा गठित समूहगत सुझावलाई पनि स्वीकारेर विभिन्न प्रस्ताव पास गरिएको बताएका छन्।
बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदम असफल भएको निचोड निकालेको छ।
‘प्रतिगामी कदम असफल भएको छ तर प्रतिगामी खतरा टरिसकेको छैनु, माओवादीले भनेको छ, ’संविधान र लोकतन्त्रको रक्षा कार्यान्वयनमा अगाडि बढ्ने नीति लिएका छौँ। राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पार्टीले अपिल गरेको छ ।’
माओवादीले वाम लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई संविधान र लोकतन्त्रको रक्षाका लागि जोगाइ राख्ने निर्णय लिएको छ।
माओवादीले तात्कालीन राजनीतिक कार्यभारलाई समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न प्रयोग गर्ने पनि निर्णय लिएको छ।
‘क्रान्तिकारी पार्टी निर्माणको दिशा योजना र संकल्प यो बैठकको मुख्य लक्ष्य हो’, उनले भने, ‘पुस ११ १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्न चार महिने संगठन सुदृढीकरण अभियान चलाउने निर्णय भएको छ।’
माओवादीले आफूलाई सर्वहाराको अग्रदस्ताका रुपमा परिभाषित गरिएको उनले बताए। ‘त्यही अनुसार संगठनात्मक संरचना निर्माण हुनेछ’, उनले भने, ‘जनआधारित पार्टीका रुपमा माओवादीलाई अघि बढाइनेछ। अग्रदस्ता भित्रका क्रान्तिकारीहरुलाई समावेशीकरणको नीति अनुसार लैजाने भएका छौँ ।’
उनले माओवादीलाई अझै समावेशी बनाउँदै लैजाने पनि बताए। ‘केन्द्रीय कमिटीमा महिला र दलितको सहभागिता बढाएका छौँ। पार्टी केन्द्रमा १५ प्रतिशत दलित राख्ने निर्णय भएको छ। युवाहरुलाई कम्तीमा पनि २० प्रतिशत समावेश गर्नेमा पुगेका छौँ’, उनले भने, ‘अहिलेसम्म कायम रहेका जिल्ला कमिटी खारेज गरिएको छ। अब जिल्ला समन्वय समिति रहनेछन्। जिल्लालाई कार्यकारी अंगका रुपमा स्वीकारेको छैन। त्यही अनुसार नयाँ पार्टी संरचना अघि बढाउने छौँ।’
पार्टीको अन्तरिम विधान लागु भएको उनले बताए।