बागलुङ-नेकपा विभाजनपछि पूर्ववत् दलको हैँसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (मोआवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुर्नठनमा लागेको छ ।
पार्टी केन्द्रले देशभरका वडा कमिटि पुर्नगठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटिले पूर्णता पाएका छन् । ८५ वटै वडामा नयाँ कमिटि बनेको माओवादी केन्द्रका जिल्ला सचिव ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिए ।
एकतापछिको नेकपा छँदा एमाले र माओवादी केन्द्र समायोजित भएर केन्द्रदेखि वडासम्म पार्टी कमिटि गठन भएका थिए । त्यस बेला एउटा पार्टीबाट अध्यक्ष र अर्कोबाट सचिवमा चुनिएका थिए । वडामा पनि त्यही प्रकृतिको कमिटि क्रियाशील थियो ।
नेकपा विभाजनपछिको नयाँ स्थितिमा पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै गति प्रदान गर्न पुर्नगठनमा जानुपरेको सचिव गैरेले बताए । “नेकपाकालमा नेतृत्वमा रहेका साथीहरु अहिलेको कमिटिमा पनि कायमै हुनुहुन्छ”, उनले भने, “रिक्त रहेका पदमा नयाँ साथीहरुले जिम्मेवारी पाएका छन ।”
सचिव गैरेले साङ्गाठनिक जग बलियो नभएसम्म पार्टी अगाडि बढ्न नसक्ने भन्दै त्यसका लागि गाउँ फर्किनुपर्ने उल्लेख गरे । “गाउँ छिर्दा साथीहरु उत्साहित हुनुहुन्छ, पार्टी गतिविधि बढाउनुप¥यो भन्नेमा उनीहरुको बढ्ता जोड छ”, सचिव गैरेले भने ।
कमिटि पुर्नगठनका क्रममा अन्य दल परित्याग गरी आएकालाई पनि एकताबद्ध गरिएको माओवादी केन्द्रले जनाएको छ । वडामा बढीमा २९ सदस्यीय कमिटि बनाउन पाउने प्रावधान पार्टी केन्द्रले तोकेको छ ।
शनिबारदेखि शुरु भएको केन्द्रीय कमिटि बैठकमा वडा तहका कमिटि पुर्नगठनको प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ । वडासँगै स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्मको पार्टी सङ्गठनलाई पुर्नगठन गर्ने तयारीमा माओवादी केन्द्र छ ।
माओवादी केन्द्रको जैमिनी नगरपालिका–८ छिस्ती वडा कमिटिका अध्यक्ष प्रकाश पौडेलले पार्टीको जनाधार मजबुत पार्न तल्लो तहका कमिटि सक्रिय हुनुपर्ने बताए । उनले पार्टी पुनसंरचित हुँदा त्यसले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
“कम्युनिष्ट आन्दोलनलाई उठाउन, उत्पीडिनमा परेका वर्गको उत्थान र सामाजिक विकासमा नेता÷कार्यकर्ताहरुको महत्वपूर्ण भूमिका हुन्छ”, उनले भने । छिस्तीमा पदमबहादुर पुनको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन गरिएको इञ्चार्ज पौडेलले जानकारी दिए ।