थमन बिक हत्या प्रकरणमा एमाले सांसद कोइरीलाई सफाइ, सात जनालाई जन्मकैदको सजाय

-


     जनहित न्युज    
     मंसिर २८ गते २०८०


धनुषा । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ ।

बिहीबार न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले विकको हत्या मुद्दामा एमाले सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नुतन झाले जानकारी दिइन् । लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

त्यसैगरी अदालतले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैद सजाय सुनाएको छ । एमाले सांसद कोइरीसहित २८ जनाविरुद्ध जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको मुद्दा ०७२ फागुन २७ गते दर्ता भएको थियो ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर महोत्तरीको जलेश्वरमा हत्या गरिएको थियो । सोही हत्या प्रकरणमा लक्ष्मी महतो कोइरी लगायतलाई अभियुक्त बनाएर जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

महोत्तरी जिल्ला अदालतले लक्ष्मी महतो कोइरीलाई २०७६ असोज २ गते एक लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध परिवार उच्च अदालत जनकपुर गएपछि उच्च अदालत जनकपुरले २०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । त्यसपछि कोइरी फरार भएका थिए ।

प्रहरीको फरार सूचीमा रहेका भएपनि कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी १ बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?