![](https://janahitnews.com/wp-content/uploads/2023/07/IMG_1680-1024x469.png)
काठमाडौं। राजनीतिक रूपमा शक्तिशाली भए पनि पारिवारिक मामलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुःखको विम्ब बन्न पुगेका छन्। वियोगको शृङ्खलाबद्ध पीडा सहिरहेका उनीमाथि बुधबार अर्को भयानक बज्रपात आइपर्यो–पत्नी वियोगको।
लामो समयदेखि विभिन्न रोगसँग जुधिरहेकी श्रीमती सीता दाहालले देहत्याग गरेसँगै प्रचण्डको परिवार नै आधा हुनपुग्यो। यसअघि एक मात्र छोरा प्रकाश र छोरी ज्ञानुलाई गुमाएका दाहालले बुधबार बिहानै श्रीमती पनि गुमाए ।
श्रद्धाञ्जलीका लागि माओवादी मुख्यालयमा राखिएको सीताको शवअघि बाँकी दुई छोरी गंगा र रेणुको काँधमा कुम अड्याएर भक्कानिएका प्रचण्डको तस्वीरले जो–कोहीलाई भावुक बनायो।
सैद्धान्तिक हिसाबमा भाग्यमा विश्वास नगर्ने माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले बेला-बेला भाषणमा भन्ने गर्छन्, ‘म भाग्यशाली हुँ कि अभागी ? आफैंले ठम्याउन सक्दिनँ।’
हुन पनि हो, राजनीतिक हिसाबमा प्रचण्ड शक्तिशालीसँगै भाग्यमानी देखिन्छन्, मानिन्छन्। परिवारिक मामलामा भने उनी निकै दु:खी र वियोगी छन् । मान्छेहरू भन्ने गर्छन्– प्रचण्ड भरिपूर्णभित्रका पनि रित्ता मान्छे हुन्।
परिवारलाई पार्टीकरण गरेको आलोचना खेपिरहेका प्रचण्डको न पार्टी सग्लो रह्यो न परिवार नै ! सत्ताको केन्द्रमा रहेपनि परिवारसँगै पार्टी छिन्नभिन्न भएको निर्मम सत्यले प्रचण्डलाई कति पिरोल्दो हो !?
पञ्चायती क्रुरताको घेरा तोडेर बहुदलीय व्यवस्था आएपछि जनयुद्ध थालेका उनी अहिले पनि सत्ताको केन्द्रमै छन्। तर, रोगको अगाडि कसको के नै लाग्दो रहेछ र ! तीनपटक प्रधानमन्त्री बनिसकेका उनले श्रीमती र सन्तानलाई कालको मुखबाट फुत्काउन सकेनन्। वियोगको पीडालाई आँशु बनाएर बगाउन बाध्य भए।
प्रचण्डको उतार–चढावपूर्ण यात्रा
२०५२ सालमा आफ्नै नेतृत्वमा जनयुद्ध सुरु गरेका प्रचण्ड १० वर्षपछि खुला राजनीतिमा आए। भूमिगत कालमा सधैँ चर्चाका पात्र बनेका उनकै वरिपरी घुमिरेहेको छ– अहिलेको राजनीति पनि। २०६४ सालको निर्वाचनमा पार्टीलाई पहिलो बनाएका उनी गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीमा नाम लेखाउन सफल भए।
प्रचण्डले पछि आफ्नै समर्थनमा अरू दलका धेरै नेतालाई प्रधानमन्त्री बनाए। पहिलो र दोस्रो संविधानसभाको निर्वाचन र संविधान बन्दासम्म पनि आफ्नो शक्ति चलायमान बनाइराखे। अहिले पनि सरकार बनाउने र ढाल्ने विषयमा महत्त्वपूर्ण भूमिकामा उनी देखिँदै आएका छन्। यसबीचमा प्रचण्ड तेस्रोपटक पारिवारिक शोकमा परे। छोरी र छोरापछि श्रीमती गुमाए।
जेठी छोरी ज्ञानुलाई ४० वर्षको अल्पायुमा नै अर्थात् १३ चैत २०७० मा गुमाएको घाउमा मल्हम लाग्न नपाउँदै उनले चार वर्षपछि अर्थात् ३ मंसिर २०७४ मा एक मात्र छोरा प्रकाशलाई गुमाए। अनि छोरा गुमाएको करिब ६ वर्षपछि उनले अर्धाङ्गीनी सीतालाई पनि गुमाउनुपर्यो।अब ६ सदस्यीय प्रचण्ड परिवार आधा भएको छ।
पुत्र वियोगका कारण विचलित भइरहेकी सीता जीवनभर निको नहुने रोगबाट पीडित थिइन्। सोही कारण पनि उनको खुसीका लागि प्रचण्ड मरिमेटेर लागिरहेका थिए। देश विदेशमा उपचारको लागि आफैंले लगे। तैपनि सीता बाँच्न सकिनन्।
पछिल्लो डेढ दशकमा त प्रचण्डले बुवासमेत गुमाए। १६ वर्षअघि उनका पिता मुक्ति दाहालको निधन भएको थियो। प्रचण्ड मुलुकको सबैभन्दा ठूलो र लामो सशस्त्र युद्धका कमान्डर हुन्। ठूला ठूला राजनीतिक परिवर्तनको अगुवाइ पनि उनैले गरे। तर, अहिलेको क्षणमा प्रचण्ड‘ युद्ध हारेको सिपाही’ जस्ता भएका छन्, एकपछि अर्को गर्दै पारिवारिक शोकले।
एउटा आहान छ ‘संसार जित्न हिँडेकाहरू पनि आफन्तको मृत्युसँग पराजित हुन्छन्।’ प्रचण्डको नियति यस्तै देखिन्छ।
यो शोकका बेलामा देश र पार्टी सम्हाल्ने कि घर ? संकटको क्षणमा छन् प्रचण्ड। यसअघि, उनी आफैँले यसबारे सार्वजनिक रूपमा व्यक्त गरेका थिए।
छोरा प्रकाशको पहिलो स्मृति सभामा ३ मंसिर २०७५ मा प्रचण्ड भकानिँदै भनेका थिए, ‘छोरा प्रकाश दाहालको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको थियो। हाम्रा परिवार विघटनको संघारमा थियो। सबैको सहयोगमा दुवै सम्हाल्न सफल भएँ’।’
धित मरुञ्जेल रुन पनि पाउँदैनन् प्रचण्ड
पारिवारिक सुखको मामिलामा ज्यादै दु:खी प्रचण्ड निरन्तर शोकमा त छँदैछन्। विडम्बना आफ्ना नजिकका मान्छेको शोकमा धित मारेर रुन पनि पाउँदैनन्।
यसअघि २०७४ मंसिरमा छोरा गुमाउँदा देश चुनावी माहोलमा होमिएको थियो। चुनावमा एमाले माओवादी गठबन्धन थियो। पार्टी एकताको लक्ष्यसहित चुनावमा होमिएका थिए प्रचण्ड।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै चुनावी प्रचारमा रहँदा छोराको निधनको खबरपछि काठमाडौं आए। देश चुनावी चटारोमा भएकाले प्रचण्ड परिवारले प्रकाशको निधनका बेला धित मरुञ्जेल रुन पनि पाएन।
किनकि, वाम गठबन्धनका एक कमान्डर प्रचण्ड आफैँ चुनावी प्रचारमा देश दौडाहामा जानु थियो। पुत्र वियोगको पीडालाई देशको परिस्थतिले कृत्रिम हाँसोले लुकाउन बाध्य प्रचण्ड फेरि पत्नी सीताको भौतिक शरीर चितामा खरानी बनेसँगै सार्वजनिक कामकै लागि दौडिनुपर्ने अवस्था छ।
किनकि, प्रचण्डले अहिले देशको बागडोर सम्हालिरहेका छन्।